काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेखनीय रुपमा बृद्धि भई २५ लाख नाघिसकेको छ । जसका कारण अहिले दैनिक सयौं जनाले सेयर भर्नकालागि डिम्याट खाता खोलिरहेका छन । सोही कारण अहिले काठमाडौ उपत्यका लगायत मुलुकभरका विभिन्न शहरमा सञ्चालित बैंक र क्यापिटल मार्केटहरुमा सेवाग्राहीको बाक्लो भीड देखिन थालेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग हाउस लिमिटेडले दिएको जानकारी अनुसार शनिबारसम्म कुल २५ लाख ३४५ जनाले डिम्याट खाता खोलेका छन् । लिमिटेडले पनि पछिल्लो समय सेयरबजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको चाप उल्लेखनीय रुपमा बृद्धि भएको जनाएको छ ।
सेयर एवं धितोपत्र कारोबारमा अनिवार्य बनेको डिम्याट खाता विशेष गरी प्राथमिक सेयर बजारका लागि खुलेको पाईन्छ । धितोपत्र दोस्रो बजारमा ४ लाखभन्दा बढी मात्र लगानीकर्ता सहभागी रहेकोमा प्राथमिक बजारमा करीब १३ लाख लगानीकर्ता सहभागी भएको लिमिटेडको तथ्यांकमा उल्लेख छ
लिमिटेडका अनुसार पछिल्लो समय डिम्याट खाताको संख्या एक सातामा करिब १ लाखले बढेको छ । गत २१ पुससम्म २३ लाख ७५ हजार ४०८ रहेको यो संख्या शनिबारसम्म आईपुग्दा एक सातामै १ लाख २४ हजार ९३७ ले बढेको देखिन्छ ।
सेयर एवं धितोपत्र कारोबारमा अनिवार्य बनेको डिम्याट खाता विशेष गरी प्राथमिक सेयर बजारका लागि खुलेको पाईन्छ । धितोपत्र दोस्रो बजारमा ४ लाखभन्दा बढी मात्र लगानीकर्ता सहभागी रहेकोमा प्राथमिक बजारमा करीब १३ लाख लगानीकर्ता सहभागी भएको लिमिटेडको तथ्यांकमा उल्लेख छ ।
भर्खरै खुलेको चन्द्रागिरी हिल्सको आईपीओमा करीब १३ लाख लगानीकर्ताले आवेदन दिएका थिए । यसैगरि, भाग्य चिट्ठाको भरमा आईपीओ पर्ने अहिलेको प्राथमिक बजारमा सबैको भाग पुग्नेगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि आईपीओ विक्री खुला गरेको छ । यसमा पनि धेरै लगानीकर्ताले आकर्षण देखाएका छन । सेयर बजारमा देखिएको लगानीको आकर्षणकै कारण अहिले सर्बसाधारणबीच आफ्ना घर परिवारका सबै सदस्यहरुको नाममा सेयर आवेदन दिने क्रमले तिब्रता पाएको सम्बन्धीत सरोकारवालाहरु एवं लगानीकर्ताहरुको भनाई छ । उनीहरुले अहिले के बालक÷के बृद्ध सबैका नाममा सेयर आवेदन दिने क्रम अत्यधिक रुपमा बढिरहेको बताएका छन ।
हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणकालागि खुला गरेको आईपीओमा यस अघिको रेकर्डलाई पनि ब्रेक गर्नेगरी आवेदन पर्ने अनुमान उनीहरुको छ । यसैगरि, सम्बन्धीत विक्री प्रबन्धकले पनि अहिले यस्तै अनुमान गरेको छ । जसकालागि यस बैंकको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आवेदकहरुको सुविधाका लागि शनिवार पनि कार्यालय खुला गरेर डिम्याट खोल्ने र मेरोशेयर नविकरण गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओकै कारण पनि पछिल्लो समय डिम्याट खाता खेल्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । आवेदन खुलेको पहिलो दिनमै करीब ३ लाख आवेदकले आवेदन दिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १३ लाख भन्दा बढीको आवेदन पर्ने अनुमान छ ।
हाल सम्पूर्ण सेवा प्रविधिमैत्री बनिसकेको प्राथमिक बजारमा आवेदन दिन निकैनै सहज भएको सो कम्पनीको भनाई छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पनि हाल १३ लाख आवेदनलाई सहजै स्वीकार गर्नेगरी मेरो शेयर सफ्टवेयरलाई थप प्रभावकारी बनाईसकेको अवस्था छ । केहि समयअघि ३ लाख आवेदन पनि सहज तरिकाले स्वीकार नगरेको सिडिएससीको मेरोशेयर सफ्टवेयरको क्षमता पछिल्लो समय प्रभावकारी सावित भएको उसको दावी छ । अहिले आम लगानीकर्ताको सहजताका लागि सिडिएससीले मेरो शेयर मोवाइल एप समेत सञ्चालनमा ल्याएको जनाएको छ । यो निकै प्रभावकारी भईरहेको उसको दावी छ ।
के हो डिम्याट खाता ?
डिम्याट खाता पनि बैंक खाता जस्तै हो । यस्तो खाता खोल्न धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट एवं डीपी) सेवाकालागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ ।
हाल धितोपत्र ददाल, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाले धितोपत्र बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरिरहेका छन् । आफूलाई पायकपर्ने कुनै कम्पनीमा गएर ’डिम्याट’ खाता खोल्न सकिन्छ । जसका लागि सम्बन्धीत व्यक्तिको नागरिकताको फोटोकपी र दुईप्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । नाबालकको लागि भने संरक्षकको नागरिक्तासँगै जन्मदर्ता प्रमाणपत्र चाहिन्छ । पहिले खरिद गरेको सेयर भौतिक (कागजी) प्रमाणपत्रका रूपमा पाइन्थ्यो । हाल त्यो व्यवस्था हटेकाले अहिले विद्युतीय रूपमा डिम्याट खातामा जम्मा हुन्छ । डिम्याट खाता खोल्दा सम्बन्धीत कम्पनीले बैंकको जस्तै चेकबुक दिन्छ । सेयर बिक्री गर्दा चेक काटेर दिनुपर्छ । खरिद गरेको अवस्थामा सो सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ । सोही कारण अहिले सबै प्रकारका सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गरिएको हो। डिम्याट सेयरको मात्र कारोबार सुरु भएपछि कागजी सेयर पनि डिम्याट गर्नुपर्छ ।त्यसका लागि आफूसँग भएको सेयर डिम्याट खाता खोलेको कम्पनी वा सम्बन्धित बिक्री प्रबन्धक डिम्याट गराउनुपर्छ। त्यसपछि मात्र कारोबारका लागि योग्य हुन्छ । सेयरमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा पनि पाइन्छ । हाल बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर र ब्रोकरको जमानीमा (सेयर धितो नराखी) गरी दुई प्रकारले ऋण दिँदै आएका छन्।
सेयर धितो राखेर पाइने ऋणका लागि लगानीकर्ताले सेयर प्रमाणपत्र (हाल डिम्याट खातामा सेयर रहेको प्रमाणित कागजात) धितो राख्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले सेयर खरिदका लागि प्रवाह गर्ने ऋणमा एकै प्रकारको ब्याजदर पाइँदैन । नियमित रूपमा बैंकिङ कारोबार गरिरहेका, नियमित आम्दानीको स्रोत भएका, राम्रा कम्पनीका सेयर भएका लगानीकर्ताले केही सस्तो ब्याजदरमा ऋण पाउँछन्। अन्य लगानीकर्ताले भने केही महँगो ब्याज तिर्नुपर्छ। सेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा नागरिकताको फोटोकपी, धितोमा राख्ने सेयर, डीपी कम्पनीमार्फत डिम्याट खातामा सेयर रहेको प्रमाणीकरण लगायत बैंकले माग्ने कागजात चाहिन्छ।
नेपाली सेयर बजारमा गत वर्षदेखि अभौतिक सेयर (डिम्याट अर्थात् कागजी रूपमा रहेको सेयर विद्युतीय माध्यममा परिणत गर्ने प्रक्रिया) को कारोबार हुँदै आएको छ । भौतिक (कागजी) सेयरको कारोबार गर्दा हुने विभिन्न झन्झट न्यूनीकरण गरी सेयर बजारलाई व्यवस्थित, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले डिम्याट सेयर मात्र कारोबार भईरहेको हो। यो व्यवस्था लागू भएसँगै हाल प्राथमिक निष्कासनमा परेको सेयर डिम्याट रूपमै पाइन्छ । अहिले यहाँहरुलाई परेको सेयर यहाँहरुको डिम्याट खातामा सीधै जम्मा हुन्छ । यसकारण सेयर फारम भर्दा डिम्याट खाता अनिवार्य चाहिन्छ । सेयरमा लगानी गर्ने हो भने यस्तो खाता खोलिराख्दा हुन्छ । जसकालागि सीआरएन नम्बर चाहिन्छ । खाता रहेको बैंक तथा वित्तीय संस्थाले सीआरएन नम्बर उपलब्ध गराउँछन् । अहिले यो अनिवार्य गरिएको छ ।