काठमाडौं । सरकारले करिब दुई महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता देखिएको छ । जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि भारतबाट सरकारले रेल ल्याए पनि तयारी अभावका कारण अहिले थन्किएर बसेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि तयारी अगाडी बढाए पनि जनशक्ति अभाव, कानुन अभावदेखि अन्तरदेशीय अनुमतिसम्मका विषयका कारण ‘कहिलेदेखि सञ्चालन हुने ?’ भन्ने टुंगो लाग्न नसकेको हो ।
रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दुई महिनाभित्र सञ्चालन हुने दाबी गरेका छन् । तर, भौतिक मन्त्रालयका अधिकारी भने विभिन्न कारण दुई महिनामा नै रेल सञ्चालन हुनेमा ढुक्क देखिएका छैनन् ।
मन्त्रालयका एक अधिकारी रेल सञ्चालनका लागि तयारी भइरहे पनि ‘यति नै समयमा सञ्चालन गर्न सकिन्छ’ भनेर भन्न नसकिने बताउ“छन् । यसअघि पनि विवाहपञ्चमीका दिनदेखि रेल सञ्चालन गर्ने तयारी
गरिएको थियो ।
रेल्वे कम्पनीले भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने र एकडेढ महिनामै रेल सञ्चालन हुने जनाएको छ । कम्पनीले रेल सञ्चालन हुँदा ‘रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो ?’ भन्ने हेर्न कम्प्युटरबाट नियन्त्रण गर्न सकिने प्रणाली विकास भइरहेको जनाएको छ ।
रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० अस्थायी कर्मचारी र १२ स्थायी कर्मचारी छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याएर जनशक्ति अभाव कम गर्नेमा कम्पनी लागेको छ ।
कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । भारतबाट ती कर्मचारी आएपछि र अन्तरदेशीय अनुमति पाएपछि मात्र रेल सञ्चालन हुनेछ ।
भारतबाट दक्ष कर्मचारी ल्याइनुका लागि प्रक्रियासमेत अघि बढाइएको छ । अब मन्त्रालयले भारतबाट दक्ष कर्मचारी ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि बल्ल उनीहरूलाई ल्याउने बाटो खुल्ला हुने जनाइएको छ ।
नेपालमा रेल सञ्चालनका लागि रेल्वे सम्बन्धी ऐन, २०२० रहेको छ । तर, सो कानुन पुरानो भएर काम नलाग्ने अवस्थामा भएपनि नयाँ निर्माणका लागि सरकारले विधेयक संसदमा पेश गरेको थियो ।
संसद् विघटनसँगै विधेयक पनि अलपत्र अवस्थामा छ । अब, ‘कुन कानुनका आधारमा रेल सञ्चालन हुने वा अध्यादेशमार्फत कानुन निर्माण गरेर रेल सञ्चालन गर्ने ?’ भन्ने विषय पनि टुंगो लाग्न बाँकी छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि गत २ असोजमा रेल ल्याइएको थियो । रेलमा १ हजार २ सयदेखि १ हजार ३ सय सम्म यात्रु बसेर र उभिएर पनि यात्रा गर्नसक्ने जनाइएको छ ।