सिन्धुपाल्चोक । भौतिक सम्पन्नतासँगै जनशक्तिको पनि व्यवस्थापन हुँदै गएपछि जिल्ला प्रहरी कार्यालयले जिल्लाको शान्ति सुरक्षालाई चुस्त र सुदृढ बनाउँदै लगेको छ । भुकम्पमा ढलेका प्रहरी कार्यालय भवनहरु निर्माणको अन्तिम चरणमा पुगेको छ भने जिल्लाका सबै प्रहरी युनिटहरुमा पनि प्रहरी जनशक्तिलाई क्रमश पुरा गर्दे लगेपछि शान्ति सुरक्षा चुस्त र सुदृढ हुँदै गएको हो ।
प्रहरी कार्यालय भवनहरु निर्माण भएपछि प्रहरीको नियमित डिउटी बाहेक फुर्सदको समयमा अध्ययनका लागि प्राय प्रहरी कार्यालयहरुमा प्रहरी प्रधान कार्यालय र वागमती प्रहरी कार्यालयसँगको समन्वयमा पुस्ताकलय, कम्प्युटर ल्याबको समेत व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
प्रहरीको मनोबल उच्च बनाउन र दक्षता अभिवृद्धिका लागि यस्ता गतिविधिको सुरुवात गरिएको छ प्रहरी प्रमुख अधिकारीले भने–‘मनोरञ्जन र स्वास्थ्य तन्दुरुस्तीका लागि प्रहरी कार्यालय भित्रै खेलकुद र अन्य गतिविधि समेत सुरुवात गरेका छौँ ।’ जिल्ला प्रहरी कार्यालयले पत्रकार भेटघाट गरी जिल्लाका सबै प्रहरी इकाइले सुरुवात गरेका गतिविधिहरुको जानकारी गराउँदै प्रहरी प्रमुख अधिकारीले भने –‘हामी क्रमश शान्ति सुरक्षालाई सुदृढ बनाउन सफल भएका छौँ ।’
स्थानीय तहका जनप्रतिनिधिहरुसँग प्रहरी कर्मचारीको पारस्परिक भावनालाई अझै राम्रो बनाउन हरेक प्रहरी कार्यालयले मासिक रुपमा ‘टी उइथ टीम ’ र ‘टी उइथ गेष्ट’ को नयाँ कार्यक्रम जिल्लामा सुरुवात गरिएको एसपी अधिकारीले जानकारी दिए । यसले प्रहरी र जनप्रतिनिधिहरु बिचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास हामीले लिएका छौ अधिकारीले भने –‘जिल्लामा रहनु भएका र नयाँ आउने अतिथीहरुसँग पनि हामीले प्रहरी कर्मचारीहरुको सम्बन्ध विकासका लागि ‘टी उइथ गेष्ट’ सुरुवात गरेका छौँ ।’
सबै प्रहरीको जन्मदिन मनाउने, मासिक रुपमा उत्कृष्ट प्रहरी छनोट
जिल्ला प्रहरी कार्यालयमा गएको भदौदेखि नेतृत्व सम्हालेका प्रहरी प्रमुख राजन अधिकारीले प्रहरी कर्मचारीबिच सुमुधुर सम्बन्ध बनाउने उदेश्यले जिल्लाका सबै प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको जन्म दिन मनाउने नयाँ कार्यको थालनी सुरु भएको छ । भदौदेखि माघको पहिलो हप्ता भित्र ११ जना प्रहरी कर्मचारीको जन्म दिन परेको रहेछ, जुन प्रहरी युनिटमा कार्यरत छ, त्यही जन्म दिन मनाएका छौ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रकाश सापकोटाले भने । प्रहरी निरीक्षक देखि प्रहरी जवानसम्मको जन्म दिन मनाइएको डीएसपी सापकोटाले जानकारी दिए ।
प्रहरीको मनोबल उच्च राख्न र आफ्नो पेशाप्रति अझै जिम्मेवार बनाउनका लागि हरेका महिना ‘बेष्ट पुलिस अफ दी मन्थ’ को सुरुवात गरिएको र उत्कृष्ट हुने प्रहरीको विवरण जिल्ला प्रहरी कार्यालयमा राखिने प्रचलनको सुरु गरिएको डीएसपी सापकोटाले जानकारी दिए । यसले अरु प्रहरीहरुलाई समेत राम्रो कामको लागि प्रेरण मिल्ने सापकोटाले दाबी गरे ।
भदौदेखि पुससम्म छ महिनाको अवधीमा उत्कृष्ट कार्य गर्ने ३१ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने गलत काम गर्ने सात प्रहरीलाई कारवाही गरिएको डीएसपी सापकोटाले जानकारी दिए । यदपी प्रहरीका केही उच्च अधिकारीहरुले तल्लो तहका प्रहरी कर्मचारीहरुलाई अभद्र व्यवाहार प्रहरी कार्यालय भित्रै हुने गरेपनि उच्च अधिकृत भएकै कारण तल्लो तहका कर्मचारीहरुलाई मात्रै कारवाही गर्ने गरेको गुनासो प्रहरीहरुले गर्ने गरेका छन् । तर डीएसपी सापकोटा भने यसलाई स्वीकार गर्न तयार छैनन् ।
१ करोड राजश्व संकलन
जिल्ला प्रहरी र मातहातको प्रहरी कार्यालयहरुले पाँच महिनाको अवधीमा विभिन्न शिर्षकबाट १ करोड बढी राजश्व समेत संकलन गरेको छ । ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनहरु कारवाहीबाट ६५ लाख ७२ हजार ५ सय,नदीजन्य पदार्थ दोहनबाट २० लाख ५२ हजार, जिल्ला अदालतबाट फैसला भएपनि फरार प्रतिबादीहरुबाट २२ लाख ६९ हजार ८३४ असुल गरिएको प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
ट्राफिक नियम उल्लघन गर्ने ७ हजार २६५ सवारी कारवाहीमा परिएको छ भने अदालत बाट फैसला भएपनि फरार रहेका २० लाई पक्राउ गरी अदालतमा बुझाइएको अधिकारीले जानकारी दिए । विभिन्न घटनाका १ सय ९३ मुद्दा दर्ता गरिएकोमा १ सय ८६ पुरुष र ११ महिलालाई पक्राउ गरी कारवाही गरिएको उनले बताए । मादक पदार्थ सेवन गरेर समाजमा अशान्ति मच्चाउने ५ जनालई पक्राउ गरी उनीहरुबाट ५ हजार जरिवान गरिएको एसपी अधिकारीले बताए ।
महिला हिंसा अन्त्य गर्न ‘सेफेटी पिन’ अभियान सुरु
जिल्ला प्रहरी कार्यालयले सार्वजनि सवारी साधनहरुमा महिला तथा बालबालिका माथी हुने यौनजन्य लगायत अन्य हिंसालाई अन्त्य गर्नका लागि जिल्लाभर ‘सेफ्टी पीन अभियान’को समेत सुरुवात गरिएको छ । यो अभियानमा सार्वजनिक सवारीहरुमा सादा पोशाकमा प्रहरीहरु परिचालन गरिने र कसैलाई दुव्र्यवहार भए तत्काल कारवाही गरिने गरी अभियान थालीएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
प्रहरीले अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सचेतना कार्यक्रम समेत जिल्लाभर सञ्चालन गरेको सापकोटाले बताए । जातिय छुवाछुत तथा वालविवाह न्युनिकरणका लागि सबै प्रहरी युनिटले ४ सय ३ पटक अभियान पाँच महिनाको अवधीमा सञ्चालन गरिएको डीएसपी सापकोटाले जानकारी दिए ।
नक्कली डलर देखाएर रकम लुट्ने पक्राउ
जिल्ला प्रहरी कार्यालयले डलरको प्रलोभन देखाएर १० लाख लुट्ने एक जनालाई पक्राउ गरेको छ । म्याग्दी जिल्ला रघुगाउँ गाउँपालिका–३ का निखील कार्कीले आफ्नो परिचय लुकाएर डलर साट्दा नाफा हुने भन्दै बाह्रविसे नगरपालिका–३ का नारयणबहादुर तामाङले १० लाख ठगी गरेका थिए । तामाङले अरनिको राजमार्गको बन्देउमा बोलाएर कार्कीको साथमा रहेको १० लाख लिएर फरार भएका थिए । प्रहरीलाई खबर गरेपछि उनलाई केही दिन अघि मात्रै प्रहरीले पक्राउ गरी लुटेको रकम मध्ये ८ लाख ९४ हजार सहित पक्राउ गरीएको प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
हराएका मोटरसाइकल सवारीधनीलाई हस्तान्तरण
विभिन्न स्थानबाट हराएका मोटरसाइकलहरु बरामद गरी जिल्ला प्रहरी कार्यालयले सम्बन्धी सवारीधनीहरुलाई हस्तान्तरण गरेको छ । रामेछाप गोकुलगंगा ३ बस्ने तेम्बा शेर्पाको २२० सीसीको मोटरसाइकल दुइ वर्ष अघि हराएको थियो । मेलम्ची क्षेत्रमा चलाउदै गरेको अवस्थामा प्रहरीले फेला पारेपछि सम्बन्धीत सवारीधनीलाई हस्तान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले आठ थान मोटरसाइकल फेला पारेर सवारीधनीलाई हस्तान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक शाह महिनाको उत्कृष्ट प्रहरी
यसै बिच वागमती प्रहरी प्रदेश कार्यालयले छनोट गर्ने हरेक महिनाको उत्कृष्ट प्रहरीमा इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्ष देवन्द्र बहादुर शाह घोषीत भएका छन् । प्रहरी कर्मचारीहरुबाट सम्पादित हुने कार्यको उचित मुल्यांकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवम थप हौसाला प्रदान गर्ने उदेश्यले वागमती प्रदेश प्रहरी कार्यालयले हरेक महिना प्रदेशका १४ जिल्लाबाट प्रहरी छनोट गर्ने गर्दछ ।
वागमती प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधी २०७७ बनाएर उत्कृष्ट कर्मचारी छनोट गर्ने गरेको छ । विभिन्न समयमा अपराधमा सल्लगन १६ अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको स्थानीय निकायसँगको समन्वयमा कार्यालयको परिसर व्यवस्थीत बनाएको लगायतका कार्य गरेकाले शाह उत्कृष्ट प्रहरी घोषित भएका हुन् । उनलाई अभियलेखमा जनिने गरेर नगद पुरस्कारले सम्मानीत गरिने छ ।