काठमाडौं । दीर्घ दमखोकी रोग (सीओपीडी) का बिरामीको उपचारका लागि जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ)को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका–९ तुमचोमा निर्माणाधीन श्वासप्रश्वास पुनस्र्थापना केन्द्रको दोस्रो चरणको सम्झौता बुधबार भएको छ । नेपालस्थित जापानी राजदूत र जिम्टेफका नेपाल प्रतिनिधिबीच दूतावासमा सम्झौता भएको हो ।
सो सम्झौतामा केन्द्रको भवन निर्माण तथा चिकित्सा उपकरण खरिदपश्चात् नेपाली चिकित्सकलाई उपचारसम्बन्धी तालिम दिने तथा जापानी विज्ञहरूको उपस्थितिमा उपचार गराउने उल्लेख छ । सो अवसरमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले जापानका वरिष्ठ सरकारी चिकित्सकको संस्था जिम्टेफको सहयोगमा भक्तपुर नगरपालिकाले स्थानीय जनताको सहभागिता र उपभोक्ता समितिमार्फत केन्द्रको भवन निर्माण गरेकोमा खुसी व्यक्त गरे ।
उनले दुई देशका जनताबीच सम्बन्ध थप सुमधुर पार्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । बढ्दो सहरी विकाससँगै वायु प्रदूषण बढेकाले श्वासप्रश्वाससम्बन्धी रोग देखापरेको चर्चा गर्दै दीर्घ रोगीलाई जापानी प्रविधिबाट उपचार गराउन नेपालमै पहिलोपटक भक्तपुरमा केन्द्र स्थापना गर्न खोजेको बताए ।
जिम्टेफका नेपाल प्रतिनिधि मायदानोरिकोले भक्तपुरमा श्वासप्रश्वास पुनस्र्थापन केन्द्र सञ्चालनको तीन वर्षे योजनाअन्तर्गत पहिलो वर्ष भवन निर्माण र उपकरण खरिद प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको र दोस्रो वर्षमा नेपाली चिकित्सकलाई यस उपचार विधि’bout तालिम सञ्चालन गरी बिरामीको उपचार सुरु गर्ने तयारी भइरहेको बताए ।