काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘संसद् पुनस्र्थापनाको पक्षमा कि घोषित निर्वाचनको पक्षमा ?’ भन्नेमा अन्योलमै छ । पार्टी केन्द्रीय समिति बैठकबाटै ‘संसद् विघटनलाई असंवैधानिक तथा अलोकतान्त्रिक कदम’ भन्दै आन्दोलनमा होमिएको कांग्रेसका गतिविधि अझै पनि ‘पुनस्र्थापनाको पक्षमा कि आन्दोलनको पक्ष ?’मा भन्ने अन्योलमै देखिएको हो ।
गत १९ पुसको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले प्रतिनिधिसभा विघटन विरोधमा स्थानीय तहको तल्लो निकाय वडा तहसम्म नै आन्दोलन घोषणा गरेकोमा गत सोमबार भने पार्टी केन्द्रीय कार्यालयले निर्वाचनमा सघाउने निर्देशनसहितको पत्र पार्टीका जिल्ला कार्यसमितिलाई पठाएको हो । कांग्रेसले सबै जिल्लास्थित पार्टी कार्यालयलाई गत सोमबार गरेको परिपत्रमा निर्वाचन आयोगले गर्न लागेको मतदाता नामावली अध्यावधिक कार्यक्रममा सघाउन निर्देशन दिएको छ । सो पत्र कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पठाएका हुन् ।
पत्रमा आयोगले १५ माघबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन भनिएको छ भने पत्रको बोधार्थ सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापति र सबै पालिका समितिका सभापतिलाई पठाइएको छ । पत्रमा निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायत कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।
प्रदेश सरकारबारे छलफल प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएर प्रदेश १ र बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढ्ने निश्चित भएसँगै कांग्रेसले छलफल सुरु गरेको छ ।
कांग्रेसले नेकपा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएर नेकपाका दुबै समूहले मुख्यमन्त्री पदका लागि प्रस्ताव गरेपछि छलफल थालेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा ‘प्रदेशमा कसरी अघि बढ्ने ?’ भन्दै प्रदेश १ र बाग्मती प्रदेश नेता, त्यहाँबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेता तथा ती प्रदेश सांसदसँग छलफल गरेका हुन् । बैठकमा सहभागी नेताका अनुसार छलफलमा सभापति देउवाबाहेकका नेता प्रदेश १ मा हाल रहेका मुख्यमन्त्रीलाई सघाउन नहुने, बरु आफ्नै उम्मेदवार बनाउनुपर्ने पक्षमा देखएका छन् ।
तर, देउवा भने प्रदेश १ मा हालका मुख्यमन्त्रीलाई सघाएर बाग्मती प्रदेशमा आफ्नो दलले मुख्यमन्त्री लिने मनस्थितिमा देखिएका छन् । यी दुबै प्रदेशमा मुख्यमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका छन्