बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छलफल हुने

हेटौडा । बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशस प्रस्तावमाथि आजैबाट छलफल हुने भएको छ । प्रदेशसभाको सातौं अधिवेशन आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुँदैछ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले हिजो बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए ।