चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको छ ।
शुक्रबार बागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावले बैठकमा प्रवेश पाएको हो । दाहाल–नेपाल समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर
रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।
उनले पौडेल नेतृत्वको प्रदेश सरकारले जनताको हितमा अपेक्षाकृत ढंगले काम नगरेकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । उनले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत बताएका थिए ।
प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक सभामुख श्रेष्ठले स्थगित गरेका थिए । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ । अविश्वासको प्रस्ताब माथि अबको प्रदेशसभाको बैठकमा छलफल अगाडि बढ्नेछ बताइएको छ ।
सांसदलाइ बन्धक बनाएको आरोप
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पीप्लेमा रहेको हेटौंडा रिसोर्टमा नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहले प्रदेशसभाका सदस्यहरुलाई बन्धक बनाएर राखिएको नेकपा ओली पक्षले आरोप लगाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्धमा अविश्वास प्रस्ताब दर्ता गर्ने सांसदाई विहीबारोदेखि हेटौंडा रिसोर्टमा बन्धक बनाएको मुख्यमन्त्री निकटका सांसद दिपक निरौलाले आरोप लगाए । त्यहाँ राखिएका सांसदहरुलाई कसैलाई भेट्न समेत नदिएको र छलफल र बैठकको बहानामा बाहिर निस्कन पनि समुहमा मात्र थोरै समय निस्कन दिएको निरौलाले बताए । सांसदलाई बन्धब बनाउँदा उनीहरुको मानबअधिकार हनन् भएको ओलीपक्षका सांसदको दाबी छ ।
तर दाहाल नेपाल संसदीय दलका उपनेता समेत रहेका प्रदेशसभाका सदस्य शालिकराम जमकट्टेलले भने अविश्वासको प्रस्ताब दर्ता गर्ने सांसदहरु एकै स्थानमा बस्ने संसदिय परम्परा कायम मात्र राखिएको बताए । ‘हामीहरुले संसदीय परमपरा अनुसार मुख्यमन्त्रीका विरुद्धमा अविस्वास प्रस्ताब दर्ता गर्ने सांसदहरु एउटै होटलमा बसेका हौंं, बन्धक बनाएका होइनौं ।’