काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले शुक्रबार सो कम्पनीलाई धितोपत्र व्यापारी कारोबार अनुमति दिएको हो । बोर्डका अनुसार पहिलोपटक अनुमति पाएको नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी विशेष क्रियाकलापबाट पूँजी बजारमा गतिशील भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोषजस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र पाएर धितोपत्र व्यापारीको काम गर्नसक्ने व्यवस्था समेटी आगामी १ फागुनदेखि सेयर कारोबार सञ्चालनमा आउनेगरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ मा संशोधन गरेको थियो ।
सो नियमावलीमा सरकारले पनि चालू आव बजेटमार्फत पूँजीबजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था गरेको थियो । त्यसअनुरुप पूँजी बजारमा संस्थागत लगानीकर्ता बढाउन, संस्थागत लगानीकर्ताका रूपमा काम गर्नसक्ने तथा पूँजी बजार विकासमा थप गतिशीलता ल्याउन नागरिक स्टक डिलर कम्पनी स्थापना भएको हो ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ बमोजिम आवश्यक प्रक्रिया पूरा गरेपछि बोर्डले धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न यस कम्पनीलाई अनुमति दिएको छ । सोही प्रक्रियाअनुरुप कम्पनीलाई धितोपत्र व्यापारीको कार्य सञ्चालन अनुमति प्रदान गरिएको हो ।
बोर्डले नागरिक स्टक डिलर कम्पनी लिमिटेडले अब धितोपत्र व्यापारीको कार्य गर्न निवेदन दिएबमोजिम अनुमतिपत्र प्रदान गरिएको जनाएको छ । बोडले नेपालको पूँजी बजारमा लगानीफर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोषजस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमति प्राप्त गरी व्यापारीको कार्यसक्ने व्यवस्था छ ।
यसैगरी, सरकारले चालू आर्थिक वर्ष २०७७-०७८ को बजेट वक्तव्यमा समेत पूँजी बजारमा संस्थागत लगानी गर्न अर्को स्टक डिलर कार्य सञ्चालनमा ल्याउनेबारे उल्लेख गरेको थियो । बोर्डका अनुसार आगामी १ फागुनदेखि यस कम्पनीले पूँजी बजारमा व्यापार सुरु गर्न सक्नेछ । यसअघि बोर्डले नागरिक लगानी कोषजस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यापारीको कार्य गर्नसक्ने व्यवस्था समेटी फागुनदेखि लागू हुनेगरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली–२०६४ संशोधन गरेको थियो ।
सोही व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया पूरा गरेपछि बोर्डले स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको काम गर्न अनुमति दिएको हो । सरकारले चालू आवको बजेटमार्फत नै पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलर कार्य सञ्चालमा ल्याउने व्यवस्था उल्लेख गरेबमोजिम बोर्डले प्राथमिकतासाथ कम्पनीलाई बजारमा भित्राउन लागेको छ ।
हाल मुलुकको सेयर बजारमा स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा कम्पनीको प्रवेशसँगै पूँजीबजारमा गतिशीलता आउने विश्वास बोर्डले गरेको छ ।
धितोपत्र बजारसँग यसअघि पनि नागरिक लगानी कोषको प्रत्यक्ष सम्बन्ध थियो । कोषले बजारमा लगानी गर्नुका साथै प्राथमिक बजारमा सार्वजनिक निष्कासनका धितोपत्र तथा बिक्री प्रबन्धकका रूपमा पनि काम गरिरहेको थियो । उसले सेयर प्रत्याभूतिकर्ताका रूपमा पनि भूमिका निभाइरहेको थियो ।
धितोपत्र दोस्रो बजारमा व्यापारिकै रूपमा काम गर्ने उद्देश्यअनुरुप कोषले गत वर्ष माघमै सहायक कम्पनीका रूपमा नागरिक स्टक डिलर कम्पनी स्थापना गरेको थियो । हाल कम्पनीमा नागरिक लगानी कोषसँगै नेपाल पुर्नबिमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीसमेत सेयर स्वामित्व छ । यस कम्पनीमा अधिकृत पुँजी १० अर्ब रुपैयाँ र जारी पुँजी ५ अर्ब रुपैयाँबराबर रहेको छ । कम्पनी ऐन–२०६३ बमोजिम २९ माघ २०७६ मा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो ।
५ अर्ब रुपैयाँ पूँजी रहेको कम्पनीमा नागरिक लगानी कोषको तर्फबाट ५१ प्रतिशत, नेपाल पुर्नबिमा कम्पनीको तर्फबाट १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको तर्फबाट ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस कम्पनीले आगामी दिन सर्वसाधारणतर्फबाट ३० प्रतिशत सेयर स्वामित्व रहनेगरी सेयर जारी गर्ने योजना बनाएको छ ।
दुई वर्षभित्र सर्वसाधारणमा पनि सेयर जारी गर्ने योजना कम्पनीको रहेको छ । बोर्डका अनुसार पछिल्लो समय धितोपत्र दोस्रो बजारमा करिब ७ देखि ८ अर्ब रूपैयाँसम्म कारोबार हुने गरेको छ । हाल, कुल बजार पूँजीकरण ३२ खर्ब ८९ अर्ब ९५ करोड ७० लाख ३५ हजार रुपैयाँ भएको अवस्थामा ५ अर्ब पूँजी रहेको नागरिक स्टक डिलर कम्पनीले बजारलाई सन्तुलनमा राख्न भने मुश्किल पर्ने सरोकारवाला एवं जानकार बताउछन् ।
कम्पनीलाई साथ दिने अन्य कम्पनी भित्रिनेमा आफूहरू आशावादी रहेको उनीहरूको विश्वास छ । उनीहरूका अनुसार यसअघि स्टक डिलरको भूमिका निर्वाह गर्नसक्ने जिम्मेवारी पाएका सामूहिक लगानी कोषहरूले बजारको आकारअनुसार पूँजी पर्याप्त नभएकाले जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै आएका थिए ।