बृहत् नेपाली शब्दकोशले संस्कारलाई ‘अवगुण, दोष कमजोरी हटाई परिष्कार गर्ने काम, सुधार गर्ने काम’ भनेर व्याख्या गरेको छ । राजनीतिक संस्कारका बारेमा अक्सफोर्ड पोलिटिकल डिक्सनरीले ‘निश्चित राजनीतिक प्रणाली सञ्चालनका लागि मूल्य, मान्यता, विश्वास र व्यवहार भनेर परिभाषा गरिएको छ । नेपालका सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका मूल्य, मान्यता, विश्वास र व्यवहारअनुसार चल्नु नै राजनीतिक संस्कार हो ।
अवस्था अर्कै
बहुदलीय शासनव्यवस्थाको प्राप्तिपश्चात्का नेपाली राजनीतिक दलका घटनाक्रम, विभिन्न समयमा देखिएका उतारचढाव र नेतृत्वले लिएका निर्णयलाई हेर्दा आजपर्यन्त हाम्रा राजनीतिक दल र तिनका नेताहरूमा राजनीतिक संस्कार देखिँदैन । राजनीतिक आचरण, आदर्श र मूल्यमान्यताको ह्रास यसअवधिको नेपाली राजनीतिको सबैभन्दा कमजोर पक्ष रह्यो । यद्यपि विगतबाट शिक्षा लिँदै २०६२-६३ को जनआन्दोलन पछिको राजनीतिक एकता र भूकम्पबाट शिक्षा लिँदै जारी गरेको नेपालको संविधानका सन्दर्भमा राजनीतिक दलले खेलेको भूमिका भने स्तुत्य छ । यसबाहेक कुनै पनि राजनीतिक दल र तिनका नेतामा आजपर्यन्त राजनीतिक संस्कार देखिँदैन । यही पारामा राजनीति अघि बढ्ने हो भने अग्रजबाट अनुजले के सिक्लान् ? सहजै अनुमान गर्न सकिन्छ ।
गणतन्त्रका लागि १० वर्ष सशस्त्र युद्ध गरेको माओवादी, २००७ सालदेखि प्रजातन्त्रका लागि संघर्ष गरेको नेपाली कांग्रेस र भूमिगत एवं शान्तिपूर्ण राजनीति गर्दै आएको एमाले र अधिकारका लागि लडी आएका मधेसका शीर्ष नेताको विगतको विराशत स्मरणयोग्य छ । अहिलेको संघीय गणतान्त्रिक व्यवस्थामा त यी दलका अतिरिक्त पूर्वराजावादी पनि अटाएका छन् । गणतन्त्रका लागि लडेका मोहन वैद्य र यो व्यवस्थामा नसमेटिएका नेत्रविक्रम चन्द विप्लवको समूहलाई भने समुचित सम्बोधन हुन बाँकी देखिन्छ । लोकतन्त्रमा नामेटको राजनीति उपयुक्त हुँदैन । उनीहरूलाई समेत समेटेर लैजानुु अरु दलहरूका लागि थप चुनौती र अवसर दुुवै बनेको छ ।
तर, दुुई तिहाइ नजिकको नेकपाको दलमा देखिएको बिग्रह र यसैको कारण संसद् भंगसम्मको घटनालाई हेर्दा अहिलेकै परिस्थितिमा जनताको त्यो आशा पूरा होलाजस्तो देखिँदैन । व्यक्तिगत दन्तबझान, आरोप र प्रत्यारोपका कारण राजनीतिक दल र नेतृत्वकर्ता यति निम्नस्तरमा झरेर आफ्नो हैसियत् देखाइरहेका छन् । यसको कल्पना ‘न भूतो न भविष्यति’सँग गर्न सकिन्छ । संस्कारविहीन आदर्श, नैतिकताविहीन चरित्र र मर्यादाविहीन राजनीतिमा उनीहरू लागेका छन् । यसबाट आम नेपाली जनताले नेकपाबाट गरेको अपेक्षामा तुुषारापात त भएको छ नै, स्वयम् उक्त दल पनि उठ्नै नसक्नेगरी हिलोमा फँसिएको छ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीका शब्दमा ‘अब यिनीहरूको कट्टु मात्र झर्न बाँकी छ ।’
राजनीतिक दलले संस्कार दिन सक्नुपर्छ, नेताभन्दा नीति सर्वोपर ठान्नुपर्छ
असल व्यवस्थाका कमसल सञ्चालक
यो शासन व्यवस्थाले राजतन्त्रात्मक बहुदलीय प्रतिस्पर्धाभन्दा फरक लोकतान्त्रिक गणतन्त्र अँगालेको हो । आवधिक निर्वाचन, जनमतको कदर, जननिर्वाचित सरकार, वाक् स्वतन्त्रता, जनताको छोरो राष्ट्रको सर्वोच्च पद (राष्ट्रपति)मा पुग्ने व्यवस्था आदि यसका विशेषताहरू हुन् । स्थानीय तहमा ७ सय ५३ स्थानीय सरकार, सात प्रदेश सरकार र एक संघीय (केन्द्रीय) सरकारको मालिक जनता र जनताले चुनेका प्रतिनिधिहरू यसको शासक हुन् ।
व्यवस्था बदलिँदैमा, समाज बदलिँदैमा राजनीतिक नेताको संस्कार बदलिँदो रहेनछ भन्ने उदाहरण हालैका राजनीतिक उहापोहाले बताउँछ । सत्ता र पदका लागि २०६३ अघिकै व्यवहार बेलाबेलामा हाम्रा नेताहरूमा पुनरावृत भइरहेको पाइन्छ । एक ठक्कर खाए सात बुद्धि आउँछ भन्ने लोकोक्ति उनीहरूका हकमा मिथ्या बन्दै छ । जसरी ५० र ६० को दशकमा सरकार बनाउन र ढलाउन सांसदहरूलाई गैरराजनीतिक, आर्थिक प्रलोभनमा पार्ने काम भए । सुरा, सुन्दरीका प्रसंगहरू आए । पजेरो संस्कृति भित्रियो । बहुमतको सरकार टिक्न सकेन । गणतन्त्र स्थापना भइसकेपछि पनि २०५१ सालकै गिरिजाको शैली पुनरावृत्त भयो । बहुमतप्राप्त नेकपाका दुबै घटकले अल्पमतमा रहेको नेपाली कांग्रेस र त्यसका सभापतिसँग संसद् विघटनको मुद्दालाई लिएर समर्थन र विरोधको याचनाका लागि गुहार्दै प्रधानमन्त्रीको अफर साटिरहेका छन् । यसमा यो वा ऊ खेमा भन्ने छैन । पाएसम्म दुबै खेमाले प्रधानमन्त्री दिन तत्पर देखिन्छन् । योभन्दा राजनीतिमा नैतिकताको खडेरी अर्को के होला ?
नमीठो विगत
पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन नेकपा माओवादी गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउनबाट चुक्यो । कम्युनिस्ट इतिहासकै अर्को विरासत सहाना प्रधानलाई राष्ट्रपतिका लागि माओवादीले राखेको प्रस्ताव एमालेले मानेन् । माओवादी उम्मेदवार रामराजाप्रसाद सिंहलाई काउन्टर दिन उसले कांग्रेसका रामवरण यादवलाई मत दियो । जिउँदो इतिहास रामराजाप्रसाद सिंह एमालेकै कारण पराजित भए । सरकारमा माओवादीलाई समर्थन गरेको एमाले प्रधान सेनापति प्रकरणमा माओवादीसँग चिढियो । विश्वासको मत हुँदाहुँदै प्रचण्डले राजीनामा गरेर आफ्नो नेतृत्वको सरकार गिराए । त्यसपछि प्रधानमन्त्री बनेका माधवकुमार नेपाल पनि बामपन्थीकै कारण टिक्न सकेनन् ।
२०६७ मा माओवादीको समर्थनमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भए । आफ्नै पार्टीको असहयोगका कारण उनले ६ महिनामा राजीनामा दिनुप¥यो । आफ्नै पार्टीका नेतालाई राजीनामा गराउन बाध्य गराउने त्यति बेला एमालेका नेताहरूमा राजनीतिक संस्कार पटक्कै देखिएन ।
सांसद अपहरण, दल बिभाजनसम्बन्धी अध्यादेश, कोभिड–१९ को त्रासबीच प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा गराउन नेकपाभित्र बहुमत जुटाउने प्रयास, प्रधानमन्त्री पक्षबाट पनि बहुमत पु¥याउन सांसदहरूको हस्ताक्षर गराएको चर्चा, गुटगत भेला आदिले नेकपालाई फुटको नजिक ल्यायो । यी कार्यले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई व्यंग्य गरिरहेका छन् । र, यी काम उपयुक्त राजनीतिक संस्कार होइनन् ।
व्यक्तिगत दन्तबझान, आरोप र प्रत्यारोपका कारण राजनीतिक दल र नेतृत्वकर्ता यति निम्नस्तरमा झरेर आफ्नो हैसियत देखाइरहेका छन्
उस्तै प्रतिपक्षी
सत्ता पक्षमा मात्र होइन, प्रतिपक्षी नेताहरूमा पनि असल राजनीतिक संस्कारमा ह्रास आएको छ । सत्ता पक्षले राजनीतिक संस्कार भुल्दा प्रतिपक्षी दलका नेताले खबरदारी गर्नुपर्ने थियो । यो नै सबैभन्दा उत्तम लोकतान्त्रिक पद्धति हो । तर, हामीकहाँ प्रतिपक्ष छ वा छैन ? छ भने को हो त ? चर्चामा सम्म आउन सकेको छैन । बरु आफ्नै आन्तरिक बखेडा र नेतृत्वको रस्साकस्सीमा ऊ लुटपुटिएको छ । उसले प्रतिपक्ष दलको भूमिका खेल्न सकेकै छैन ।
२०४६ सालपछि फरक विचार राख्नेलाई सम्मान गर्ने संस्कार कांग्रेसमा देखिँदैन । यसैकारण २०५१ सालमा सर्वोच्च नेता गणेशमान सिंहले कांग्रेस छाड्नुप-यो । सन्त नेता कृष्णप्रसाद भट्टराई २०५६ पछि राजनीतिबाट निस्क्रिय भएर बस्नुप¥यो र यही अवस्थामा उनको निधनसमेत भयो । माओवादीबाट मोहन वैद्य, विप्लव मात्र होइन कुशल विचारक डा. बाबुराम भट्टराईसमेतको बहिर्गमन पनि उक्त दलका लागि तीतो सत्य घटना नै हो ।
व्यक्तिवाद हाबी
कुनै पनि राजनीतिक दल लोकतान्त्रिक पद्धतिमा चल्नपर्छ । यो उसका लागि असल राजनीतिक संस्कार हो । तर अहिले यो अवस्था कुनै पनि दलमा छैन । दलीय पद्धति, मूल्य, मान्यताभन्दा आफूलाई प्रधान ठान्ने प्रवृत्ति नै प्रधान बनेको छ । जीवनको अन्तिम अवस्थासम्म पद नछाड्ने प्रवृत्ति कांग्रेस र अन्य दलमा अहिले पनि छ । युवालाई नेतृत्व दिने भने पनि युवाको परिभाषा नै दलदलपिच्छे फरक फरक छ ।
२०४६ सालपछि २६ पटकभन्दा बढी सरकार परिवर्तन भए । त्यसमा दुई सरकार तत्कालीन राजा ज्ञानेन्द्र शाहले चलाए, बाँकी सरकार राजनीतिक दलले चलाए । २०४६ सालपछि कुनै पनि सरकार पूरा कार्यकाल चलेनन् । कांग्रेसले २०४८ र २०५६ को निर्वाचनमा पाँच वर्ष सरकार चलाउने जनमत पाए पनि आन्तरिक कलहका कारण असफल भयो ।
कांग्रेसले २०५६ को निर्वाचनमा बहुमत ल्यायो, प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । पार्टी सभापति कोइराला आफ्नै पार्टीको सरकार एक वर्ष नपुग्दै ढलाएर आफू प्रधानमन्त्री भए । माओवादी युद्ध चर्किरहेका बेला सेना परिचालन प्रकरणमा उनले राजीनामा दिए । माओवादीले २०५८ मा दाङमा सैनिक ब्यारेक आक्रमण गरेपछि कांग्रेसमा बिग्रह आयो । देउवाले २०५९ जेठमा संसद् विघटन गरेर कात्तिकमा निर्वाचन गर्ने घोषणा गरे तर असोजमा राजाले देउवालाई ‘अक्षम’को आरोप लगाएर सत्ता हातमा लिए ।
बहुदलीय व्यवस्था आइसकेपछि २०४८ सालमा पूरा कार्यकाल चलाउने जनादेश पाएको कांग्रेसबाट सुरु भएको अस्थिरताले २९ वर्षपछि यसपटक झन्डै दुुई तिहाइ नजिकको बहुमतप्राप्त राजनीति दलको प्रधानमन्त्री केपी शर्मा ओलीसम्म आइपुग्दा त्यसैको पुनरावृत्त भयो । अस्थिरताले निरन्तरता पायो । योभन्दा संस्कारविहीन राजनीति अर्को के हुनसक्छ ? २०४६ सालपछि यही प्रवृत्तिका कारण मुलुकमा राजनीतिक अस्थिरता आएको हो र यसले आगामी दिनमा कसलाई कहाँसम्म पुु¥याउँछ यसै भन्न सकिँदैन । तसर्थ, राजनीतिक दलले संस्कार दिन सक्नुपर्छ । नेताभन्दा नीति सर्वोपर ठान्नुपर्छ । पद्धति रहे मात्र म रहन्छु, अरू रहन्छन् भने सोच्नुपर्छ ।