काठमाडौं । सरकारले आज (बुधबार)देखि देशभर एकैपटक कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे भर्चुअल सम्बोधन गर्दै खोप अभियानको उद्घाटन गर्नेछन् ।
भारत सरकारले पहिलोपटक १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल सरकारलाई उपहारस्वरूप उपलब्ध गराएपछि कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार खोप अभियान बुधबार बिहान १० बजेदेखि सुरु हुनेछ । उनले भने, ‘खोप अभियानको तयारी पूरा भएको छ । केही अस्पताललाई खोप केन्द्रमा परिणत गरी खोप लगाइनेछ ।’
स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक प्रदेशका मुख्यमन्त्रीसहित स्वास्थ्य सम्बद्ध अधिकारी जुममार्फत कार्यक्रममा सहभागी हुनेछन् । अभियान शुभारम्भ भएलगत्तै देशभरका अस्पतालबाट खोप लगाउन थालिनेछ ।
देशभरका ६८ वटा जिल्ला अस्पताल गरी १२० खोप केन्द्रमा कोरोनाविरुद्ध खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्ट लाइनरले खोप लगाउन पाउने गरी व्यवस्थापन गरिएको छ ।
तथ्यांक विभागको मंगलबार बेलुकीसम्मको तथ्यांकअनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख २३ हजार ७९८ रहेको छ, जसमध्ये ७२ प्रतिशत अर्थात् २ करोड १७ लाख ६१ हजार १३४ जनालाई कोरोनाविरुद्धको खोप लगाउने योजना सरकारको छ । त्यसमध्ये पहिलो चरणमा खोप लगाउन योग्य जनसंख्यामध्ये १ दशमलव ९७ प्रतिशतलाई आज (बुधबार)देखि खोप लगाउन लागिएको हो ।
– झन्डै २ करोड १७ लाखलाई खोप लगाउने योजना
– पहिलो चरणमा ४ लाख ३० हजारलाई लगाइँदै
– सबै तयारी पूरा
कारोनाविरुद्धको पहिलो खोप ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टरले लगाउने भएका छन् । बुधबार बिहान प्रधानमन्त्री ओलीले खोप अभियानको उद्घाटन गरेपश्चात् टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलगायतका चिकित्सकले लगाउनेछन् । खोप लगाउन तयारी अवस्थामा रहेका चिकित्सक उत्साहित छन् ।
नेपालमा कोरोना भाइरसविरुद्धको यो खोप १८ वर्षमाथिका सबै उमेर समूहलाई सिफारिस गरिएको छ । सबै नेपालीलाई पुग्ने गरी यो खोप प्राथमिकताका आधारमा चरणबद्ध रूपमा लगाउने सरकारको योजना छ । देशभर कोरोना भाइरस रोगको जोखिम, संक्रमितमा भएको मृत्युदर तथा सिकिस्त हुने दरका आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकीकरण गरिएको छ ।
पहिलो प्राथमिकतामा स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, स्वास्थ्यकर्मीसहित स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीलाई राखिएको छ । कोरोना भाइरस रोग संक्रमण हुने र अरूलाई पनि संक्रमित गराउन सक्ने जोखिम बढी हुने र स्वास्थ्यकर्मीलाई राखिएको छ । यस्तै, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापन गर्ने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, वृद्धाश्रममा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मी र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका महिला तथा पुरुषलाई राखिएको छ । यो उमेर समूहमा कोरोना भाइरस संक्रमण हँुदा मृत्युदर र जटिलता उच्च भएको पाइएको छ । साथै, ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोगीलाई पनि दोस्रो प्राथमिकतामा राखी खोप लगाइनेछ ।
दीर्घरोग भएका शरणार्थी र प्रवासी कामदारलाई पनि यसै चरणमा खोप लगाइनेछ । तेस्रो प्राथमिकतामा खोपको मात्रा उपलब्ध भएसँगै १८ वर्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप सेवा प्रदान गरिनेछ । १८ वर्षमुनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भइरहेकाले सो उमेर समूहलाई हाल यो खोप दिइनेछैन ।
निर्धक्कका खोप लगाउन आग्रह
खोपविज्ञ र चिकित्सकले यो खोप सुरक्षित भएको भन्दै निर्धक्क लगाउन आग्रह गरेका छन् । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीले यो खोप सुरक्षित रहेको र हानिकारक प्रभाव नदेखिएकाले कुनै शंका नगर्न आग्रह गरे । उनले भने, ‘यो खोप सुरक्षित छ । निर्धक्क भएर विश्वास गरेर खोप लगाउनु हामी सबैको कर्तव्य हो ।’ यो खोप लगाएपछि अरूलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउने विज्ञहरूले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । सरकारले तोकेको प्राथमिकताका आधारमा चरणबद्ध रूपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निःशुल्क दिइनेछ । जनस्वास्थ्य विज्ञका अनुसार यो खोप लिएपछि फेरि कोरोना संक्रमण हुन सक्छ । यो खोप लिएपछि पनि केही व्यक्तिमा कोरोना संक्रमण हुन सक्ने बताइएको छ । तर, खोप लिएपछि कोरोना संक्रमण भए तापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम देखिएको छ ।
अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाले लिनुहँुदैन । साथै, यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनुहँुदैन । यसका साथै १८ वर्षमुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकाले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन ।
मुटु रोग, श्वासप्रश्वाससम्बन्धी समस्या, मधुमेह (सुगर), सिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु आवश्यक रहेको चिकित्सकहरू बताउँछन् । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी रहेको खोप विज्ञहरू बताउँछन् ।
यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो ।
खोपविज्ञका अनुसार कम्तीमा चार हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ । कोभिड–१९ खोप लगाएका केही मानिसमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुन सक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांशपेसी वा जोर्नी दुख्ने, वान्ता आउने आदि लक्षण देखिन सक्छ तर त्यो आफैं सन्चो हुँदै जाने भएकाले आत्तिनुपर्दैन । पूर्ण रूपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।