सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका र पर्यटन विकास आयोजना बागमती प्रदेशको संयुक्त पहलमा ऐतिहासिक सिन्धुलीगढी दरबारको पुनःनिर्माण हुने भएको हो ।
सिन्धुलीगढी दरबारको पुनःनिर्माण पुरानै ढाँचामा र पुरातात्विक महत्वलाई समेत हुबहु अवलम्बन गरेर हुने भएको कमलामाई नगरपालिकाका सूचना अधिकारी निर्मल लामाले बताएका छन् । उक्त दरवारको पुनः निर्माण लागि चार करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयाँ लागतमा हुने गरी ठेक्का स्वीकृत भएको छ । वाग्मती प्रदेश सरकार पर्यटन विकास आयोजनाले माघ ८ गते उक्त ठेक्का स्वीकृत गरी पुनः निर्माण सुचारु भएको जनाएको छ ।
रानी दरबारको पुनः निर्माणको जिम्मा तुल्सी/एरिसा जेभि भक्तपुरले पाएको छ । उक्त कम्पनीले रानी दरवारको पुनःनिर्माणको काम २०७९ जेठ १६ गतेसम्म गरिसक्नुपर्ने छ । सिन्धुलीगढीमा रहेको रानी दरवारको तत्कालिन श्री ३ माहाराज जंग बहादुर राणाका भाई बम बहादुर राणाका छोरा बमवीर विक्रम राणाले बनाएका थिए । यो दरवार पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रुपमा रहेको थियो ।
पछि राणा शासनको अन्त्य भैसकेपछि यो दरवार राष्ट्रिय स्वामित्वमा आएको थियो र जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सरी सकेपछि विस्तारै विस्तारै यो दरवार प्रयोजन विहिन बन्न गई भग्नावशेषको रुपमा परिणत भएको थियो । सिन्धुलीगढीको इतिहासका जानकार एवम् कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकालले सिन्धुलीगढीलाई अन्तरराष्ट्रिय गन्तव्य बनाउने कमलामाईको अठोटलाई पुरा गर्न सिन्धुलीगढी दरवारको (रानी दरवारको) पुनः निर्माणले थप सहयोग पुग्ने बताए ।