काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नेकपा एकता अभियानको बुधबार घोषणा हुन लागेको छ । तर उनको यो अभियान सफल हुनेमा भने नेकपाकै आम कार्यकर्ता आश्वस्त हुन सकेका छैनन् । नेकपाका दुवै समूहका शीर्ष नेताले वामदेवको यो अभियानलाई खासै रुचि दिएका छैनन् ।
५ पुसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एक समूहको नेतृत्व ओली आफंैले गरिरहेका छन् । अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरिरहेका छन् ।
नेकपा दुई समूहमा विभाजित भए पनि उपाध्यक्ष गौतम कुनै समूहमा खुलेर लागेका छैन । उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार ७०१ सदस्यीय समिति बनाएर एकता अभियानको शुभारम्भ हुनेछ । कुनै समूहमा नखुलेका गौतमले पार्टी एकता कायम राख्न दबाब सिर्जना गर्ने उद्देश्यले एकता अभियान देशैभर सञ्चालन गर्ने बताइएको छ ।
नेकपा ओली समूह निर्वाचनको तयारीमा होमिएको छ । १७ र २७ वैशाखमा हुने दुई चरणको निर्वाचनको तयारीका लागि ओली समूहले देशैभर आमसभा, भेला, प्रशिक्षणलगायतका गतिविधि गरिरहेको छ । सोही कार्यक्रममार्फत ओली समूहले दाहाल–नेपाल समूहको विरोधसमेत गरिरहेको छ ।
उता नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा छ । पहिलो र दोस्रो चरणको आन्दोलन सकेर दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । दाहाल–नेपाल समूहले देशैभर विभिन्न कार्यक्रम गर्दै ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको चर्को रूपमा विरोध गर्दै प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने अडान राखिरहेको छ । एकता अभियानको घोषणा गर्दै अभियानका केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रमसमेत हुनेछ ।
यसैबीच वामदेव ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी आएका समाचारप्रति ध्यानाकर्षण भएको उनको सचिवालयले जनाएको छ । केही सञ्चार माध्यममा गौतमले अध्यक्ष पाउने समूहमा जाने भनेर समाचार आएपछि उनको सचिवालयले आपत्ति जनाउँदै सत्यता नभएको जनाएको छ ।