सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख डोज ‘कोभिसिल्ड’ खोप उपलब्ध गराएसँगै सिन्धुलीमा बुधबारदेखि खोप लगाउन सुरु गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ७ वटै प्रदेशमा खोप अभियानको सुरुवात गरेसँगै सिन्धुलीमा पनि खोप लगाउन सुरु गरिएको हो । स्वास्थ्य कार्यालय सिन्धुलीले सिन्धुली अस्पतालमा खोप केन्द्र राखि खोप लगाउन सुरु गरेको हो ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेललाई खोप लगाएर जिल्लामा खोप अभियान सुरु गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविका, एम्बुलेन्स चालकहरु, सरसफाई कर्मचारी शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी सहित १ हजार ५ सय जनालाई खोप लगाइने भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
स्वास्थ्य कार्यालयले ३ जना खोप कर्मचारी खटाएर दैनिक ३ सयका दरले खोप लगाउने गरि ५ दिनको कार्य तालिका बनाएको छ । जिल्ला खोप समितिको माघ १३ गते बसेको बैठकको निर्णय अनुसार खोप लगाउन सुरु गरिएको शाहले बताएका छन् ।
उनका अनुसार जिल्लामा १५० भाइल खोप आएको छ । एक भाइलमा १० डोज खोप हुन्छ । पहिलो चरणमा खोप लगाउनका लागि जिल्लामा १ हजार ६ सय ९२ जनाको सूचि तयार गरिएको छ । खोप लगाउँदा समस्या आउन सक्ने भएकाले आधाघण्टा स्वास्थ्यकर्मीकै निगरानीमा बस्नका लागि आराम कक्षको समेत व्यवस्था गरिएको छ । कसैलाई समस्या आएमा निःशुल्क उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था समेत गरिएको छ ।
कोभिडको खोप लगाईसकेपछि अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले नडराएर खोप लगाउन आग्रह गरेका छन् । नयाँ खोप भएकाले मनमा डर हुन सक्छ भन्ने लागेर आफुले पहिले खोप लगाएको बताए । जिल्ला खोप व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले परिक्षण सफल भई लगाउन थालिएको खोप भएकाले नडराई लगाउन सबैलाई आग्रह गरेका छन ।