काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले नयाँ चलचित्र सुदूर छाडेकी छन् । एक वर्षअघि अनुबन्धित भएको चलचित्र सुदूर छाडेकी हुन् । गत वर्ष चलचित्र रानी महल, गोपी र मेरो पौसा खोई ? सहित तीन चलचित्र छाडेकी उनले यतीबेला यो नयाँ चलचित्र पनि छाडेकी छन् ।
चलचित्र सुदूरका लागि गत वर्ष नै अभिनय कार्यशाला सुरु गरिएको थियो गत चैतदेखि छायांकन सुरु गरिने भनिए पनि गत फागुनबाटै नेपालमा कोरोनाको त्रास सुरु भएपछि चलचित्रको छायांकन स्थगित गरिएको थियो । अब यो चलचित्रको चैतबाट छायांकन गरिने भएको छ ।
अभिनेत्री वर्षाले चैतबाटै आफ्नो अर्को चलचित्रको छायांकन हुने भएपछि आफूले सुदूर छाड्नुपरेको बताएकी छन् । चैतबाट छायांकन हुने चलचित्रको बारेमा भने उनले खुलाएकी छैनन् । यो चलचित्रमा सुरुमा सौगात मल्ल र वर्षा शिवाकोटी चयन भएका थिए । तर पछि सौगातले काम गर्न भ्याएनन् । यो चलचित्रमा अभिनेताको रूपमा पुष्प खड्कासँग कुरा भइरहेको निर्देशक रमेश बुढाथोकीले बताएका छन् ।
जुम्लामा छायांकन हुने यो चलचित्र अभिनेत्री वर्षा शिवकोटी सहमतिमै छाडेको निर्देशक बुढाथोकीले बताएका छन् । अब वर्षाले यो फिल्म छाडेपछि उनको ठाउँमा अर्को नायिका राखिने भएको छ । माओबादी द्वन्द्वकालमा बेपत्ता भएका एक नागरिकको यथार्थ कथामा यो चलचित्र आधारित रहने निर्देशक बुढाथोकीले बताएका छन् ।