उदयपुर । जिल्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाचन कार्यक्रम सम्बन्धमा सर्बपक्षिय तथा सर्बदलीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा आयोजित अन्तरक्रियामा सहभागी राजनितिक दलका नेताहरुले निर्वाचन सम्बन्धिको कार्यक्रमप्रति गुणासो ब्यक्त गरे ।
निर्वाचनको नाममा गरिने गतिविधिलाई बेमौसमी बाजाको संज्ञा दिँदै सरकारले समय र आर्थिक श्रोतको खर्च मात्र गरेको टिप्पणी गरे । नेकपा केन्द्रीय सदस्य एवम् त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले निर्वाचन आयोगले नेकपा अन्तरगतका देखिएका दुई समूहमध्ये कुन आधिकारीक हो र कस्ले बैधानिकता सहित चुनाव चिन्ह पाउँछ भन्ने निर्कौल नगरी चुनाबी गतिविधि अगाडी बढाउन अस्वभाविक भएको टिप्पणी गरे ।
नेकपा उदयपुरका जिल्ला सचिव ईश्वरमणी राउतले सरकारले नहुने निर्वाचन घोषणा गरेको बताए । चुनाबी गतिबिधिले राज्यको आर्थिक श्रोत सकिने र जनशक्तिहरुले दुख पाउने भन्दै आपत्ति जनाए । संसद बिघटन ब्युतिने वा नब्युँतिने भन्ने बारेमा न्यायलयको फैसाला आई नसकेको अवस्थामा चुनाबी माहोल भन्दै प्रचार गर्ने र कार्यक्रमहरु गर्ने सरकारको शैली ठिक नभएको टिप्पणी गरे । निर्वाचनको कार्यक्रमप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले सरकारले तोकेको चुनाव समयमै हुने बताए । जनताको सुख र समृद्धिको लागि चुनावको घोषणा गरिएको भन्दै चुनावी माहौलमा होमिन राजनितिक दलहरुलाई आग्रह गरे । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जिल्लामा निर्वाचनका लागि शान्ति सुरक्षाको लागि व्यवस्था चुस्त दुरुस्त रहेको जानकारी दिए । सरकारले निर्देशन गरे अनुरुप चुनाबी तयारी तथा सुरक्षा व्यवस्थामा प्रशासन तयार रहेको बताए । चुनाबलाई मर्यादित र निष्पक्ष बनाउन सबैको साथ सहयोग चाहिने भन्दै शान्तिपूर्ण ढंगले आफ्नो गतिविधिलाई अगाडी बढाईदिन आग्रह गरे ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक तयारी तथा प्रचारको काम अगाडी बढाएको जानकारी दिए । मतदाता शिक्षा, मतदाता नामवली सच्याउने जस्ता कामहरु हाल भइरहेको र त्यसका लागि राजनितिक दल तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन अधिकृत हिमालय बरालले जानकारी दिए ।