श्री स्वस्थानी ब्रतारम्भ र शालीनदीको महिमा

श्री स्वस्थानीको ब्रत र स्नान गर्ने विधि पौष शुक्लपूर्णिमादेखि प्रारम्भ भई माघशुक्ल पूर्णिमाका दिनमा ब्रत पूर्ण गरिने परम्परा रहेको पाइन्छ । हाम्रो समाजमा यो धार्मिक पर्वले आफ्नै किसिमको महŒव बोकेको छ । पौष पूर्णिमाको दिनदेखि स्वस्थानी ब्रत प्रारम्भ गरिन्छ । त्यसको पूर्वदिन पौषशुक्ल चतुर्दशी स्नान इत्यादि गरी पवित्र भई एक छाक फलाहार गर्ने र भोलिपल्ट पूर्णिमाका दिन प्रातः स्नान प्रारम्भ गर्नुपर्छ । प्रातः स्नानको अर्थ हो सूर्योदयभन्दा पूर्व नै स्नान गरी सक्नुपर्ने हुन्छ । पौराणिक कालदेखि नै आर्यावर्तको नेपाल खण्डमा ज्यादै प्रचलित र आस्थावान् रहेको स्कन्द पुराणअन्तर्गतको केदार खण्ड अथवा नेपाल खण्डमा उल्लिखित माघ महात्म्यमा श्री स्वस्थानी परमेश्वरीको ब्रतविधि, माघ स्नान विधि, पूजन, कथा एवं यस ब्रतलाई विधिपूर्वक पूर्ण गर्दा प्राप्त हुने फल’boutमा विस्तृत रूपले वर्णन गरिएको छ ।

हरेक वर्षमा यो ब्रत बस्ने ब्रतालुको संख्या बढ्दै गएकाले श्री स्वस्थानी ब्रतकथा र शालीनदीको महत्व दिनपर दिन बढ्दो छ

वैदिक कर्मकाण्डअनुसार वर्तमान र परन्तुमा समेत अति फलदायी रहने, श्रेष्ठ धार्मिक अनुष्ठान आदिका कृत्यहरूमा पूजनसितै अर्पण गरिने प्रत्येक सामग्रीहरूको संख्या १०८ हुनुपर्ने यो ब्रतारम्भ भयो । महाकवि कालिदासले कुमारसम्भवमा देवदेश हिमालका देवाधिदेव आशुतोष शिवका देशको महिमा वर्णन गरेझैं माघमास शिशिर ऋतुमा भगवान् शिव चाँडै प्रशन्न हुने समय भएको हँुदा शिवको दोस्रो स्वरूप शिव ज्योतिर्लिंगको पूजन हुनु अति उत्तम मानिन्छ । त्यस्तै, महालक्ष्मी, महाकाली र महासरस्वती रुपिणी जगतजननी पार्वती माताकै स्वरूपमा श्री स्वस्थानी परमेश्वरीको पूजा, उपासना, आरधाना पूर्ण गर्दा धनधान्य, सन्तान, सन्तान प्राप्त भई यस लोक र परलोकमा समेत असल फल पाइने भएकाले वैदिक धर्मप्रतिको मान्यतामा लगनशीलता बढाउने यस ब्रतलाई मानेको छ ।

स्वस्थानी ब्रतकथामा सृष्टिको वृत्तान्तदेखि दक्षप्रजापतिको यज्ञ, दक्षको घमण्डले महादेवको अपहेलना सहन गर्न नसकी सतीदेवीले दक्षको यज्ञकुण्डमा हामफाली प्राण त्याग गरेको, महादेवले सतीदेवीको शरीरलाई बोकेर हिँड्दा साढे ७ करोड पिठहरू विभिन्न भागमा पतन भएको, दक्षको भगवान् महादेवद्वारा संहार, त्रिपुरसमेत जित्ने तारकासुर राक्षसको संहार, श्री स्वस्थानीको ब्रतका प्रभावले पार्वतीको श्री महादेवसँग विवाह भएको, वर्षांैदेखि विछोड भएका नागनागिनीको स्वस्थानीको ब्रत गरी कसैले नदीमा प्रसाद चढाएको रोटी पाउँदा उनीहरूको पुनर्मिलन भएको, गोमालाई श्री महादेवको चार श्रापका लागि सप्तर्षिद्वारा श्री स्वस्थानीको ब्रत गर्ने उपदेशानुसार ब्रत गर्दा श्रापद्वारा मुक्ति एवं उनका सुपुत्र नवराज लावण्य देशका राजा भएका थिए । माघमासभरि नेपालीहरू शाली नदीलाई पवित्र नदीको रूपमा हेरी पुण्य कमाउन त्यहाँ जाने गर्दछन् । यस अवसरमा साली नदीका साथै पशुपति क्षेत्रको गौरीधाटमा नुहाई किराँतेश्वर मन्दिरको दर्शन गर्नाले ठूलो पुण्य प्राप्त हुन्छ भन्ने किवंदन्ती रहेको छ ।

श्री स्वस्थानी ब्रतकथामा श्री स्वस्थानी परमेश्वरी मातालाई निरञ्जन निराकार, सम्पूर्ण तीर्थ, सृष्टिस्थिति संहारकर्ता, पञ्चमहाभूत, सत्व, रज, तम, त्रिगुण, ब्रह्माण्ड संसारमा आत्मास्वरूप आदिशक्ति, कालस्वरूप, आदि अन्त्यविहीन, अव्यक्त भनी वर्णन गरिएको पाइन्छ । श्री स्वस्थानी ब्रतकथामा हिमालय पर्वतकी सुपुत्री कन्या पार्वतीले महादेव स्वामी पाऊँ भनी श्री स्वस्थानीको ब्रत बसी ब्रतको प्रभावले महादेव स्वामी पाएकी थिइन् भन्ने उल्लेख हुनुको साथै उक्त ब्रतकथामा सत्ययुगमा देवलोकमा देवगणबाट र मत्र्यलोकमा गोमा ब्राह्मणीले सप्तर्षिहरूको सल्लाहअनुसार पापमुक्ति एवं ऐश्वर्य प्राप्तिका लागि ब्रतको आरम्भ गर्न प्रोत्साहित गरिएको थियो भन्ने उल्लेख भएको छ ।

पौराणिक कालदेखि नै आर्यावर्तको नेपाल खण्डमा ज्यादै प्रचलित रहेको स्कन्द पुराणअन्तर्गतको केदार खण्डखण्ड माघ महात्म्यमा श्री स्वस्थानी परमेश्वरीको ब्रत उल्लेख छ

श्री स्वस्थानीमा वर्णित कथाअनुसार स्वर्गबाट अप्सराहरू शालीनदीको किनारमा आई श्री स्वस्थानीका ब्रत गर्ने गरेको उल्लेख भएको र उक्त नदीमा नवराज राजाकी पत्नी चन्द्रावतीले आफ्नो माइती वरुणपुरबाट (बनेपा) पतिका घर लावण्यदेश (साँखु) जानलाग्दा बाटोमा श्री स्वस्थानी माताको निन्दा गरेकीले डोलीबाट खसी शालीनदीले बगाएको र पछि हातखुट्टामा कृष्ठी भइरहनुपरेको तथा शालीनदीमै अप्सराहरूले श्री स्वस्थानीको ब्रत गरेको ठाउँमा उनै परमेश्वरी श्री स्वस्थानीलाई संझी यथाभक्ति ब्रत उसासना गरी कुष्ठरोगबाट स्वास्थ्यलाभ गरेकी थिइन् भन्ने धार्मिक कथा शालीनदीसँग गाँसिएकाले हिन्दू धर्मावलम्बी उक्त स्थान र नदीलाई पवित्र तीर्थस्थल मान्दछन् ।

अन्त्यमा भन्नुपर्दा ब्रतालुले श्री स्वस्थानी माताको ब्रत बसेको समयमा आफूखुसी जे मन लाग्यो, त्यही वस्तु खानचाहिँ पूर्ण रूपमा नपाइने भएकोले खान हुँदैन भनेको कुनै वस्तु खायो भने र गर्नुहुँदैन भनेको काम गरेको खण्डमा त्यस्तालाई ठूलै पाप लाग्छ भन्ने जनविश्वास रहेको हँुदा त्यस्ता व्यक्तिले जुन कामको कामनाको लागि चिताएर ब्रत बसेका हुन सो प्राप्त गर्न सकिँदैन भन्ने कथन रहेको छ । श्री स्वस्थानी माताको ब्रत बस्ने ब्रतालुहरूले भात, पालुंगो, चिनी चाकु, मुला, उखु, तरुल, चिउरा, केरा, सुन्तला, लप्सी, केराउ, नेपाली घिउ, आदिमध्येबाट आफूलाई खान मन लागेको मात्रै खान सकिने भएकाले ब्रतालुले यिनै कुराको सेवन गरी ब्रतको परिधिभित्र रहेर नियम पालना गर्नुपर्छ । यसरी माघस्नानको नियम र महत्व भारतीयमा पनि देखिन्छ । किन्तु, स्वस्थानी भगवतीको पूजा नेपालीको आफ्नो विशेषता हो । धर्मप्राण नेपालीमा स्वस्थानीको कथाले महत्वपूर्ण प्रभाव पारेको देखिन्छ ।

स्वस्थानी ब्रतको कथामा शिव शर्मा र ब्राह्मण र उनकी ब्राह्मणी सती नामकीलाई कुनै सन्तान नहुँदा दुःखी भएकोमा उनको पुण्यले गर्दा त्यहाँ आइपुगेकी यौटी गाईको गोबरमा रूपवती कन्या उत्पन्न भइन् । तिनको गोमा नाम राखेर शिव शर्माले पाले र ठूली भएपछि सन्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा ‘८० वर्षको बूढो तेरो पति होस्’ भन्ने श्राप पाइन । त्यस्तै, भयो र वृद्धबाट गोमाको गर्भमा पुत्र रह्यो । बृद्ध पति एक महिनाको अवधि राखेर विदेश गएकोमा उतै बितेछन् । गोमाले छोरो पाइन र उनको छोराको नाम नवराज राखियो । छोरा ठूलो भएपछि मेरो पिताजी कहाँ जानुभयो भनेर सोधेकोमा गोमाले सबै वृत्तान्त बताइन् । छोरा पितालाई खोज्न हिँडे र मरेको थाहा पाएर किरिया गरेर फर्के । उता गोमाले ऋषिहरूको उपदेशले स्वस्थानी भगवतीको ‘मेरो छोरो चाँडै फर्कोस्’ भनेर पूजा ब्रत गरिन् ।

नवराजले पनि भगवान् शिवको स्तुति गरेर राज्य पाउने वरदान पाए । घर फर्केर आएपछि पूर्वविवाह गरिएकी पत्नीलाई आमा छोडेर कमाउन भनी गएका नवराजले लावण्यपुरीको राज्य त्यस देशको हात्तीले फूलमाला लगाइदिएकाले राज्य पाउने नियमले पाए । आमालाई बोलाए । नवराजले अर्को विवाह गरे । उनकी प्रथम पत्नीले उनकी आमालाई छाडेर माइत गएर बसेकी थिइन् । बोलाउन पठाएकोमा स्वस्थानीको निन्दाले कुष्टी भएर भुइँमा खसेर बसिन् । पछि स्वस्थानीको पूजाले स्वस्थ भइन र पुनः पति प्राप्त गरिन् । यो कथामा स्वस्थानी भगवतीको वर प्रसादले नवराजकी प्रथम पत्नीले पनि पहिला भगवतीको निन्दा र अपमानले कुष्ठरोगयुक्त भएकी थिइन र पछि उनै भागवतीको व्रत र पूजाले पुनः स्वस्थान आफ्नो स्थान पाइन । त्यसो हुँदा स्थान च्युत व्यक्तिले स्वस्थान प्राप्त गर्न स्वस्थानीकै व्रत र पूजा गर्नुपर्छ भन्ने तथ्य पाइन्छ ।

स्वस्थानीको ब्रतकथा सम्पूर्ण कामनालाई पूर्ण गर्नेवाला ब्रतकथा हो । यसको प्रभावले यस लोकमा र स्वर्गलोकमा पूज्य स्थान प्राप्त गर्न सकिन्छ । त्यसैले स्वस्थानी कथाजस्ता आफ्ना धार्मिक कृत्यहरू गर्न छोड्न हुन्न । त्यसैले होला श्री स्वस्थानी माता परमेश्वरी भनेको ज्यादै ठूलो शक्ति भएकी देवी भएकाले श्री स्वस्थानी माताको महिमा जति वर्णन गरे पनि सकिँदैन । हरेक वर्षमा यो ब्रत बस्ने कार्यमा ब्रतालुको संख्या दिनानुदिन बढ्दै गएको पाइन्छ, त्यसैले होला श्री स्वस्थानी ब्रतकथा र शालीनदीको महत्व दिनपर दिन बढ्दो छ ।

तपाइको प्रतिक्रिया
(Visited 707 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बेलौरी नगरपालिकाकाे मेयरमा चौधरी पुनः निर्वाचित