शहीद दिवसमा उपेक्षित शहीदहरू !

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदलाई सम्झने चलनलाई यसपटक पनि निरन्तरता दिँदै अघिल्लो साता हामीले शहीद सप्ताह मनायौं । कवि भूपी शेरचन भन्छन्, ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !’ तर, आजको अवस्था उनले भनेजस्तो छैन । न देशका लागि मर्नेहरू नै छन््, न शहीद भएकाहरूप्रति नै श्रद्धाभाव व्यक्त गर्ने अरु कोही छन्् । आज सच्चा शहीदलाई नक्कली शहीदले विस्थापित मात्र होइन गिज्याइरहेको अवस्था छ । देशका लागि हाकाहाकी ज्यान दिने गंगालाल, शुक्रराज, दशरथ र धर्मभक्तजस्ता त आज खोजेर कहाँ पाउनु ? विगतमा गणतान्त्रिक आन्दोलनमा शहीद भएका, अंगभंग भएका र घाइतेलाई समेत आज तिरष्कार गरिएको छ । रामेलाई सत्ताच्युत गराएर श्यामेलाई सत्तारोेहण गराउन शहीद हुन गरिएको आह्वानमा मर्नेहरूलाई शहीद भनिने चलन आएको छ । आजको लडाइ नीतिको होइन, सिद्दान्तको पनि होइन, एउटा व्यक्ति ऊ सत्तामा बसिरहन आन्दोलन आह्वान गर्छ, अर्को व्यक्ति उसलाई हटाएर आफू सत्तारोहण हुनका लागि आन्दोलन गर्छ । आम नागरिक यसैका लागि शहीद हुन जान्छन्् । यी सिद्धान्तविहीन शहीदका आकांक्षीका कारण सिद्धान्तनिष्ठ शहीदहरू ओझेलमा परेका छन्् ।

यद्यपि राणाशासनको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म कैयन् शहीदहरूले ज्यानको आहुती दिइसकेका छन्् । कति बेपत्ता छन्् । कति घाइते, अपांग छन्् । तर आज उनीहरूको जुन सम्मान हुनुपर्ने थियो, त्यति हुन सकेको छैन । उनीहरूले गरेको योगदान नै आजको गणतन्त्र प्राप्तिको मूल आधार थियो । ती सब इतिहासका पाना बनेर बसेका छन्् । ‘काम गर्ने कालु मकै खाने भालु’को अवस्था आज पनि छ । यसैले त भूिप भन्छन्् ‘मरेर शहीद हुनेहरू, जिएर त हेर जिउन झन् गाह्रो छ !’

पातलिँदै शहीदहरू !
जसरी मानक शब्दकोशले स्विकारेको ‘शहीद’ शब्द प्रयोगमा मौलिक स्वरूपमा रहेको मोटो अक्षर पातलिएर ‘सहिद’ भएको छ, त्यसैगरी शहीदको अर्थ, मूल्य र मान्यता पनि पातलिएको छ । हुलमुलमा पर्नेहरू, चोरी डकैतीमा मर्ने, मारिनेहरू, इन्काउन्टरमा मारिनेहरू शहीद बनेर क्षतिपूर्ति पाउनका लागि योग्य हुने अवस्थाका कारण आजकल शहीदको परिभाषा पनि पातलिएको छ । राणाशासनविरुद्ध शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द एवं गंगालाल श्रेष्ठ जसरी लागे, यसैका कारण उनीहरूलाई राणाहरूले प्राणदण्ड दिएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने, अपराधीद्वारा मारिने वा घरझगडामा अकाल मृत्युवरण गर्नेलाई राज्यले आर्थिक सहयोग उपलब्ध गराए पनि शहीद घोषणा गर्न हतारिनु जरुरी थिएन

आज राजनीतिक खिचातानीले शहीद शब्दको अवमूल्यन जारी छ । मारिने आन्दोलनकारी र मार्ने सुरक्षाकर्मी सँगसँगै शहीद भएका छन्् । कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गर्नेहरू स्तुत्य हुन्छन्् तर शहीद होइन । तिनलाई शहीद भनिराख्न जरुरी छैन । दुर्घटनामा ज्यान गुमाउने, अपराधीद्वारा मारिने वा घरझगडामा अकाल मृत्युवरण गर्नेका परिवारलाई राज्यले आर्थिक सहयोग उपलब्ध गराए पनि शहीद घोषणा गर्न हतारिनु जरुरी थिएन । तर, यस्तैमा मर्ने, मारिनेहरू नै शहीदको सूचीमा लामबद्ध छन्् ।

थरीथरीका शहीद :
आज वास्तविक शहीदहरू हराएका छन्् । नक्कली शहीदहरू हाबी भएका छन्् । प्रजातान्त्रिक आन्दोलनमा जानेर, बुुझेर लागेर मर्नेहरूको कुनै हिसाब किताब नै छैन । आतंक, हत्या,हिंसामा लागेर मर्नेहरूलाई शहीद बनाउन राजनीतिक दलहरू तँछाड मँछाड गरिरहेका छन्् । यसबाट सक्कली शहीदहरूप्रति अन्याय र अपमान भएको छ । तत्कालीन राजा महेन्द्रले २०२५ सालमा कस्ता व्यक्तिलाई कुन श्रेणीको शहीदको दर्जा दिने हो भनी गृहराज्यमन्त्री नवराज सुवेदीको संयोजकत्वमा कार्यदल बनाएका थिए । सो कार्यदलले सुुझाव त दियो, तर कार्यान्वयन भने भएन । गणतान्त्रिक व्यवस्था आएपछि २०६७ सालमा मोदनाथ प्रश्रितको अध्यक्षतामा कार्यदल गठन भयो । कार्यदलले शहीदको तीन श्रेणी तय गरी सुुझाव दियो । मर्छू भन्ने जान्दा जान्दै होमिएका पहिलोथरी, मर्छु भन्ने नजानेर होमिएका दोस्रोथरी र आर्थिक लाभबाट प्रभावित हुनेगरी शहीद बनाउन खोजिएकाहरू तेस्रोथरी गरी शहीदलाई तीन प्रकारमा वर्गीकरण गरी सुुुझाव दियो । उक्त सुुझाव पनि लागू भएन । आज कुन कस्तो खाले शहीद हो, भालुको रौं कुन दाह्री, कुन जुंगा भनेझैं भएको छ ।

नेपाली बृहत् शब्दकोशले शहीदलाई ‘आफनो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ भनी परिभाषित गरेको छ । यसरी हेर्दा २०६२÷६३ सालसम्म १९९७ माघमा राणा शासकद्वारा मारिएका, प्रजातन्त्रका लागि लडेका तर मर्छु भन्ने जान्दाजान्दै होमिएका चार शहीदहरू मात्र शहीदभित्र पर्दथे । राणाको विरोध गर्दा १९९७ साल माघ १० गते शुक्रराज शास्त्री, माघ १२ गते धर्मभक्त माथेमालाई झुुन्ड्याएर र दशरथ चन्द र गंगालाल श्रेष्ठलाई माघ १६ गते गोली हानी मारिएको थियो । तर जंगबहादुरविरुद्ध पर्चाबाजी गरेको आरोपमा १९९३ मा झुन्ड्याइएर मारेका लखन थापालाई २०७२ असोज ३ गतेको मन्त्रीपरिषदको बैठकले पहिलो शहीद मानेको छ । लखन थापापछि भने यी चार जना पर्दछन् ।

देश र जनताका लागि लड्नु ठट्टा मात्र होइन, उच्च जीवनको मूल्य र मान्यता स्थापना गर्नु पनि हो । माफी मागेर कृपाकोे जिन्दगी बाँच्नेहरूभन्दा स्वाभीमानमा मर्नेहरूको मूल्य लाखौं गुणा बढी हुन्छ । १९९७ सालका शहीदहरूको स्वाभिमान निकै उच्च थियो । राष्ट्रप्रतिको जिम्मेवारीबोधले गर्दा उनीहरूले स्वेच्छाले हाँसेर फाँसीमा चढ्न स्वीकार गरे ।

परम्परामा सीमित:
जीउँदा शहीद टंकप्रसाद आचार्य २०१२ साल माघ १३ गते नेपालको १९औं प्रधानमन्त्री बनेपछि सोही साल माघ १६ गतेदेखि औपचारिक रूपमा मनाउन थालिएको शहीद दिवस आजसम्म मनाउने गरिएकै छ । यसअघि जेलमा नै शहीद दिवस मनाउने गरिन्थ्यो । नवीनपन भने यसपटकको शहीद सप्ताहमा पनि देखिएन ।

यसपटक पनि संघीय सरकारले शहीद सप्ताहको अन्तिम तथा महŒवपूर्ण दिन माघ १६ गतेलाई सार्वजनिक बिदा घोषणा गरेन । शहीदकै बलिदानीलाई लिएर राजनीतिको सिँढी चढ्ने भर्याङ बनाएका नेताहरू आज उनीहरूको सम्मानमा एक दिन बिदासम्म दिन सकेनन् । कर्मकाण्डी रूपमा दिवस मनाएर ‘खोलो तर्यो लौरो बिर्स्यो’ उक्तिलाई सम्झाए ।

कृत्रिमताको बिगबिगी
मौसमी, सक्कली र वास्वविक शहीदको खोजी आजको चासो हो । अहिले अज्ञात समूहको गोली लागि मर्नेहरू, बस दुर्घटनामा ज्यान गुमाउनेहरूसमेत शहीद भएर १० लाख पाउने अवस्था छ । भागदौडमा मर्नेहरूसमेत शहीद भनिएका छन्् । १० लाख पाएका छन्् । यहाँ कुरो १० लाखको मात्र होइन, असहायका नाममा करौडौ दिदा पनि हुन्छ । नसक्नेलाई सरकारले मद्दत गर्ने सामाजिक न्यायभित्रकै विषय हो । तर नभएको शहीदका नाममा रकम दिँदा वास्तविक शहीदको अपमान हुन्छ कि हुँदैन ? चासो यताको हो । गणतन्त्रको माग राख्दै आन्दोलनरत तत्कालीन नेकपा माओवादीले टाउकाको मूल्य स्वीकारेर जनताको लागि लडेझंै ती चार शहीदहरूले पनि राणाको विरोध गर्दा गोली ठोकिनेछ भन्ने जान्दाजान्दै पनि जनताकै लागि लडेर प्राण आहुती गरेका थिए । यसर्थ यिनीहरूको योगदानलाई विस्थापित गर्ने गरी अर्को कुनै पनि भाग्दा मरेको, झुक्किएर गोली खाएको वा अन्जानमा मरेको व्यक्ति शहीद बनाएर अपमान गर्न मिल्दैन । तर, अहिले त्यस्तै भएको छ । गणतन्त्र ल्याउन टाउकाको मूल्य स्विकार्नेभन्दा उनीहरूलाई दमन गर्नेहरू नै अहिले सक्कली गणतन्त्रवादी भएझै शहीदका हकमा पनि कृत्रिम शहीदहरूकै बोलाबाला छ । वास्तविक शहीदहरू ओझेलमा छन् ।

शहीदहरूलाई पनि स्थानीयकरण, दलीयकरण, जातीकरण र वैयक्तीकरणमा संकुचन गरिएको त छैन ? सोच्नुपर्ने भएको छ

विगत पनि उस्तै :
पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटकपटक थुप्रै योद्धाले शहादत प्राप्त गरेको भए पनि उनीहरूका ’boutमा राज्यले त्यति महŒव दिएको देखिँदैन । २०४६ को जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ जनालाई सम्मानस्वरूप सरकारले जनही रु एक लाख आर्थिक सहयोग भने यस अघि गरिसकेको छ । माआवादी जनयुद्ध, १९ दिने जनआन्दोलन तथा मधेस आन्दोलनका अतिरिक्त यस क्रममा कैयन नागरिकले ज्यान गुमाइसकेका छन्् । शहीद परिवारका नाममा केहीलाई राहत दिइए पनि कतिपय अझै पनि उपेक्षित छन्् । यी सबैका ’boutमा खोजीनिती हुन आवश्यक छ । मरेका मात्र नभएर अंगभंग भई बाँचेका तथा बेपत्ता पारिएकाहरूको पनि खोजीनिती हुन आवश्यक छ । शहीदको अपुरा सपना पूरा गर्न सबै गणतान्त्रिक शक्तिहरू एकताबद्ध भई समृद्धिको यात्रामा हातेमालो गर्न सकेमा मात्र शहीद सप्ताहले सार्थकता पाउनेछ ।

शहीदलाई संकुचन नगरौं
राष्ट्र र जनताका लागि शहादत प्राप्त गर्ने महान् व्यक्तिहरू र हुलमुलमा जाने, भाग्ने क्रममा मर्नेहरू, झुक्किएर गोली लागेकाहरू, दलीय राजनीति गर्दा मर्नेहरू, व्यक्तिगत स्वार्थमा झगडा हुँदा मर्ने मारिनेहरू पनि शहीदकै कित्तामा दर्ज भएका छन्् । यसले गर्दा वास्तविक शहीदहरूप्रति अन्याय त भएको छैन ? उनीहरूको त्याग र बलिदानीको कतै हामीले अवमूल्यन गरेका त छैनौ ? कतै स्वतस्फूर्त शहीद भएकाहरूलाई बनाइएका शहीदले थिचेको अवस्था त छैन ? शहीदहरूलाई पनि स्थानीयकरण, दलीयकरण, जातीकरण र व्यक्तिकरणमा संकुचन गरिएको त छैन ? सोच्नुपर्ने भएको छ । वास्तविक रूपमा देश र जनताका लागि बलिदानीका क्रममा भएको आन्दोलनमा राज्यद्धारा भाग्नका लागि गरिएको उर्दी, माइकिङ, सूचना वा सुरक्षा घेराको प्रवाह नगरी खुल्लम खुला रूपमा लौ हिम्मत भए गोली ठोक भन्दै छाती तेर्साउनेहरू नै सच्चा शहीद हुन । बलीदानीको रमितामा गएर हेर्दै गरेको तमासामा भएको भागदौडमा सुरक्षित हुनका लागि किनारा लगाउँदा मर्नेहरू लाछी हुन । इतिहास लाछीहरूको हुनै सक्दैन । इतिहास त वीर योद्धाहरूकै हुनुपर्ने हो । तर वीर योद्धाहरू आज ओझेलमा छन् । लाछीहरू शहीदको थान्कोमा छन्् ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसवादी दल मधेसमै कमजोर