ललितपुर । एकै वर्षको अवधिमा झन्डै साढे १८ सय नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् । कुष्ठरोग आँखाले देख्न नसकिने ‘लेप्रे’ नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो ।
यसअघि, वर्षेनी तीन हजार संख्यामा नयाँ कुष्ठरोगका विरामी देखा पर्दै आएका थिए । आनन्दवन अस्पतालमा यसवर्ष २ सय २६ विरामीले उपचार गराएकोमा ८५ नयाँ विरामी छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाको तथ्यांकअनुसार २०७६/७७ मा नयाँ विरामी संख्या १ हजार ८ सय ५३ छन् ।
‘कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ नारासहित आइतबार ६८औं विश्व कुष्ठरोग दिवस मनाइरह“दा साढे १८ सय नया“ कुष्ठरोगी भेटिएको तथ्यांक सार्वजनिक भएको हो ।
चालू आर्थिक वर्षमा औषधि सेवन गर्ने कुष्ठप्रभावित विरामी २ हजार ४४ जना छन् । ललितपुर लेलेस्थित आनन्दवन अस्पतालमा आयोजित कार्यक्रम दौरान तथ्यांक सार्वजनिक भएको हो ।
अंग्रेजी महिना जनवरी अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । २०६६ सालमा नेपालमा कुष्ठरोग निवारण घोषणा भएको थियो । प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई निवारण मानिन्छ ।
कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख माधव लम्सालले यो वर्ष नयाँ कुष्ठरोगका विरामी विगतभन्दा कम देखिएको बताए ।
‘कोभिडका कारण विभिन्न क्रियाकलापमा प्रभाव पर्दा नयाँ विरामी संख्या घटेको देखिएको हो,’ उनले भने, ‘वास्तवमा योभन्दा बढी भए पनि तथ्यांकमा भने देखिएन ।’
उनका अनुसार प्रति १ लाख जनसंख्यामा ६ दशमलव २२ नयाँ विरामी देखिएका छन् । उपचाररतमा प्रति १० हजारमा शून्य दशमलव ६९ जना छन् ।
०७६÷७७ मा कुष्ठरोगको चाप ललितपुरमा सबैभन्दा धेरै रहेको दि लेप्रोसी मिसन नेपालले जनाएको छ । बाग्मती प्रदेशका १३ जिल्लामा सिन्धुपाल्चोक र रसुवा कुष्ठप्रभावित नभएको जिल्ला भएको स्वास्थ्य कार्यालय ललितपुर प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।
विश्वमा रहेका कुष्ठप्रभावितमध्ये १ दशमलव ९ प्रतिशत कुष्ठरोगी नेपालमा रहेको मिसनका तालिम अधिकृत गोपालहरी पोखरेलले जानकारी दिए । उनका अनुसार धेरैजसो विरामी तराईका छन् ।
‘कुष्ठरोगप्रतिको दृष्टिकोणमा अझै परिवर्तन आएको छैन,’ बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी भन्छन्, ‘कुष्ठरोग घटाउन सामाजिक, मेडिकल र फिजिकल समस्या छ ।’
सरकारले कुष्ठरोग निवारण भएको भन्दै कम बजेट दि“दा पनि यससँग जोडिएका कार्यक्रम सोचेअनुसार गर्न सकिएको इपिडिमियोलोजीका कर्मचारी बताउँछन् ।
मानव जातिलाई मात्र लाग्ने कुष्ठरोग महिलाभन्दा पुरुष बढी प्रभावित भएको दि लेप्रोसी मिसन नेपालका तालिम अधिकृत गोपालहरी पोखरेलले जानकारी दिए । नेपालमा कुष्ठरोग निवारण घोषणा गरिए पनि जोखिम कायमै रहेको जानकार बताउँछन् ।
विश्वमा सबैभन्दा धेरै कुष्ठरोगी भारतमा छन् । त्यहाँ १ लाख साढे १४ हजार विरामी रहेको तथ्यांक छ । विश्वमा रहेका कुष्ठरोगीको भिडमा आधाभन्दा बढी विरामी दक्षिण एसियामै छन् ।
विश्वभर १ लाख ७७ हजार १ सय ७५ कुष्ठरोगका बिरामी उपचार भइरहेको अवस्थामा नेपालमा मात्र २ हजार ४४ जनाको उपचार भइरहेको जनाइएको छ ।
विश्वमा कुष्ठरोगी संख्या घटिरहेको अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिँदैन । कुष्ठ छाला र स्नायुमा प्रभाव पार्ने रोग हो । रातो तथा हल्का फुस्रा दाग देखिने, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, गिर्खा देखिने, स्नायुमा असर गर्दा हातगोडा झमझमाउने, मांसपेसी कमजोर हुने, डाबर तथा दाग भएका ठाउँमा चिलाउने, हत्केला वा पैतालामा नदुख्ने घाउ देखापर्ने, हत्केलाको मासंपेसी सुकेर जाने, नाक थेप्चो हुनेजस्ता लक्षण देखापर्छन् ।
कुष्ठरोग मानिसको आँखाले देख्न नसक्ने ‘माइक्रोव्याक्टोरिज्म’ किटाणुका कारण लाग्नेगर्छ । स्वास्थ्य मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरे शरीरको रोग निरोधक शक्तिले ती किटाणुलाई मार्न सकेन भने कुष्ठरोग लाग्ने चिकित्सक बताउँछन् ।
कुष्ठरोग मानिसको छाला र स्नायुमा प्रभाव पार्ने पुरानै रोग भएको आनन्दवन अस्पतालका मेडिकल डाइरेक्टर डा. महेश साह बताउँछन् । कुष्ठरोगको किटाणुसँग लड्नसक्ने शक्ति मानिसमा ९९ प्रतिशत रहने गरेको अनुसन्धानबाट देखिएको छ ।
यो रोगको उपचारका लागि कुष्ठरोगका धेरै किटाणु भएको व्यक्तिले लगातार एक वर्षसम्म रिफामपिसन, ड्याप्सोन र क्लोफाजामिन भन्ने तीन प्रकारको बहुऔषधि सेवन गर्नुपर्ने हुन्छ ।
यसैगरी, कुष्ठरोगका थोरै किटाणु भएका व्यक्तिले ६ महिनासम्म निःशुल्क पाइने रिफामपिसन र ड्याप्सोन गरी दुई प्रकारको औषधि सेवन गर्नुपर्नेछ ।






