वीरगन्ज । बिहान अली बन्दको प्रभाव देखिएको वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्र मध्यान्हपछि सामान्य भएको छ । आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरु मध्ये ३१ जनालाई पर्सा प्रहरी मातहतको प्रहरीले नियन्त्रणमा लिएपछि वीरगन्ज बजारमा भने आन्दोलनको प्रभाव स्वात्तै कम भएको हो ।
बजारमा आन्दोलनको प्रभाव आंशिक देखिए पनि वीरगन्जबाट चल्ने छोटो दूरीका भने प्रायः सबै सवारी चलेका छन् । लामो दूरीका भने प्रायः सबै सवारी बन्द रहे । शान्त तरिकाले मात्र नभई आन्दोलनलाई अलि भड्किलो बनाउन प्रयास भएपछि आन्दोलनकारी मध्ये ३१ जनालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख बेल बहादुर पाण्डेले बताए ।
पक्राउ गरिएकामा नेकपा प्रचण्ड माधव समूहको वीरगन्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, मनोज चौधरी, प्रभाकर गुप्ता, शिवम् साह लगायतका रहेको पर्सा प्रहरीले जनाएको छ । उनीहरुलाई साविकको अञ्चल प्रहरी कार्यालय वीरगन्जको कम्पाउण्ड भित्र राखिएको प्रहरी उपरिक्षक पाण्डेले बताए ।
शान्तिपूर्ण रुपमा हुने कुनै पनि विरोध सभा र प्रदर्शनमा सुरक्षाकर्मीले केही गर्दैन । तर भड्किलो आन्दोलनलाई प्रश्रय दिन थालेपछि प्रहरी चुप थालेर बस्न पनि नमिल्ने उनको भनाइ छ । बन्द भन्ने साथ नेपाली समाजमा यतिकै बन्द हुने परिपार्टीले पनि सडकमा सधैंको तुलनामा अलि सवारीको चाप भने पातलिएको प्रहरी उपरिक्षक पाण्डेले बताए । प्रहरीका आँखा छली एकदुई ठाउँमा आक्कल झुक्कल टायर बाल्ने र मेन रोडका केही पसलहरुमा जबरजस्ती बन्द गराउने प्रयास वाहेक खासै बन्दको प्रभाव नरहेको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले भने वीरगन्ज बजार करिब–करिब पुरै बन्द गरेको दाबी गरेका छन् । नेकपा प्रचण्ड माधव समूहका नेता रामचन्द्र साह, रामाश्रय राम र विचारी यादवले आन्दोलन सफलै रहेको बताए ।