काठमाडौं । राष्ट्रिय युवा संघ (ओली समूह)को अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ दाहाल नेपाल पक्षमा लागेपछि ओली पक्षले सिंहलाई अध्यक्ष चयन गरेको हो ।
तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको युवा संघमा दीपशिखा अध्यक्ष चयन भएका थिए । उनलाई हिजो मात्र युवा संघबाट हटाइएको थियो ।
अध्यक्षका लागि सिंह र रमेश पौडेल दाबेदार रहेकोमा युवा संघ इञ्चार्ज महेश बस्नेतले सिंहलाई अध्यक्ष प्रस्ताव गरेका थिए । बस्नेतको प्रस्तावपछि केन्द्रीय समिति बैठकले त्यसैलाई पारित गरेको हो ।
सिंह आगामी जेठमा ४० वर्ष पुग्ने छन् । त्यसैले उनी अब करिब चार महिनामात्र युवा संघको अध्यक्ष रहने छन् । त्यसपछि सहअध्यक्षको जिम्मेवारी पाएका किरण पौडेल स्वतः अध्यक्ष बन्ने समझदारी भएको स्रोतको दाबी छ ।
यसैगरी उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, किरण गौतम र सुमन पुरी छन् । महासचिवमा रमेश आचार्य चयन भएका छन् ।
उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी चयन भएका छन् । कोषाध्यक्षमा मुकेश बुढाथोकी र सह कोषाध्यक्षमा राकेश लामा र हिमेश केसी चयन भएका छन् ।