काठमाडौं । नेपाली मजदुर एकता समाजका संस्थापक अध्यक्ष तेजबहादुर कार्कीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष देव बहादुर पुन ‘मिलन’ जापान संयोजक तथा केन्द्रीय सदस्य तेज कुमारी तिवारी ‘रिना’ नेपाल समितिको तर्फबाट बिनोद परियार लगायतको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मार्फत नेपाल सरकारलाई १३ बुद्धे ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा कोभिडको कारण स्वदेश देखि विदेशमा अलपत्र परेका कामदारलाई निशुक्ल औषधि उपचार तथा उचित राहत प्याकेज ल्याउन माग गरेको छ । त्यस्तै नेपाली श्रमिकको २४ घण्टे जीवन बिमा, कामदार पठाएर अलपत्र पार्ने म्यानपावर र कामदार लगेर अलपत्र पार्ने कम्पनीलाई कामदारको उजुरी आउने बित्तिकै रेड जोनमा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
खाडी मुलुकमा नेपाल सरकारको तर्फबाट कुनै पनि श्रमिक आवासगृह नभएको भन्दै नेपाल सरकारको तर्फबाट तत्काल आवासगृहको व्यवस्था गर्न माग गरेको छ । यस्तै प्रवासी नेपाली श्रमिकले समेत मतदान गर्न पाउने नागरिकको अधिकार ग्यारेन्टी गर्न अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ । प्रवासमा विभिन्न कारण मृत्यु भएका श्रमिकको परिवारलाई अनिवार्य शिक्षा स्वास्थ्य र रोजगारको ग्यारेन्टी सरकारले गर्नुपर्ने नेपाली श्रमिक कार्यरत कम्पनीमा नेपाल सरकारको तर्फबाट अनुगमन गरिनु पर्ने लगायत माग गरेको छ ।
नेपाली श्रमिकको हक अधिकारका लागि स्थापित ‘मजदुरका लागि मजदुर’ भन्ने मूल नारा सहित स्थापित नेपाली मजदुर एकता समाज समस्यामा परेका नेपालीका लागि अभिभावक बन्दै आएको छ ।
मजदुरका लागि मजदुर
मजदुरले नै मजदुरका निम्ति केही गर्नु पर्छ भन्ने मान्यता बमोजिम मजदुरहरु मार्फत स्थापना भएको उक्त संस्था नेपाल सरकारबाट अनुमोदित भएको संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘प्रवासी नेपाली श्रमिकको इतिहासमा सायदै यो पहिलो स्वतन्त्र सङ्गठन हो र यो मजदुर मार्फत नै स्थापना भएर मजदुरहरूकै नेतृत्वमा मजदुरहरू कै निम्ति सञ्चालनमा रहेको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।
स्थापना देखिनै सयौँ श्रमिकको अभिभावक बन्दै आएको मजदुर समाजले कोभिड १९ को चरम सङ्कटमा परेका सयौँ नेपालीलाई आफ्नै पहल कदम र खर्चमा खान बस्न र स्वदेश फिर्ता गराउन सफल भएको थियो । माल्द्भिसमा अलपत्र ७ नेपाली, युएईमा अलपत्र १५ नेपाली लगायतलाई अन्य थुपै्र प्रवासी नेपालीलाई टिकट खर्च र अन्य देशमा अलपत्र श्रमिकलाई आफ्नै श्रोत साधनबाट स्वदेश फर्काएको संस्थाको भनाई छ ।
उक्त संस्था लक डाउनमा मात्रै लगभग १० लाख रुपैयाँ खर्च गरी समस्यामा परेका सयौँ नेपालीको सहारा बनेको समाजका संस्थापक अध्यक्ष तेजबहादुर कार्कीले बताए ।