सार्वजनिक सूचना प्रवाहको संयन्त्र

प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भयो भएन भन्ने विषयले सर्वोच्च अदालतको बहस पैरवीको समयमा उच्च महत्व पायो । सरकारीे सूचनाको सार्वजनिकीकरणको महत्व र आवश्यकतालाई यस घटनाले उद्घाटन गरिदियो । आजको युग सूचनाको युग हो र सञ्चार प्रविधिका माध्यमहरूको विकासले आवाज, तस्बिर र डेटा एकैसाथ प्रवाह भइरहेका छन् । सरकारका प्रत्येक क्रियाकलापका सूचनाहरू जान्ने हक नागरिकमा हुने भएकाले सरकारले विभिन्न सञ्चार माध्यमहरूबाट सार्वजनिक सूचना सार्वजनिक गरिरहेको हुन्छ । आफ्नो सरोकारको विषयमा सार्वजनिक सूचना माग्ने र पाउने हक नागरिकमा सुरक्षित रहेको हुन्छ ।

सरकार सूचनाको उत्पादक र प्रयोगकर्ता दुवै हो । संगठनमा जस्तै सरकारी क्रियाकलाप आम नागरिकको लागि सार्वजनिकीकरण गर्न अर्थात् सूचना प्रवाह गर्न पनि सञ्चार माध्यमकोको भूमिका महत्वपूर्ण हुन्छ । संगठनमा निर्णय, परिपत्र, आदेश, निर्देशन, अधिकार प्रत्यायोजनजस्ता सूचना माथिबाट तल जाने गर्दछन् भने रिपोर्टिङ, राय एवं सूचना तल्लो तहका निकाय वा पदाधिकारीबाट माथि जाने गर्दछन् । प्रजातान्त्रिक सरकारले सरकारका कामकारबाहीको ’boutमा जनतालाई जानकारी दिन आफ्नै सञ्चार प्रणाली विकास र प्रयोग गरेको हुन्छ ।

प्रजातान्त्रिक संविधानमा पारदर्शिता, उत्तरदायित्व, सहभागिता, वाक्स्वतन्त्रता, सूचनाको हक, मानवअधिकार, स्वतन्त्र न्यायपालिका र सीमित सरकारजस्ता गुणहरू हुन्छन् । प्रजातान्त्रिक सरकार जनताप्रति उत्तरदायी हुन्छ । उत्तरदायी सरकार जहिले पनि जनतासम्म पुगेको हुन्छ । जनतासम्म पुग्न सरकारले गर्ने र गरिरहेको क्रियाकलापहरूको विषयमा खुला रूपमा सूचना प्रवाह गर्ने कार्य प्रजातान्त्रिक शासन प्रणालीको सुन्दरता हो । सूचना प्रवाहले जनतालाई सुसूचित गर्ने, शिक्षा दिने र सशक्तीकरण गर्ने गर्दछ । साथै, यसले जनतालाई सरकारको मूल्यांकन गर्न र भोलिका दिनमा भोट कसलाई दिने भन्ने निश्चित गर्नसमेत सक्षम बनाउँछ । जसले अन्ततः प्रजातन्त्रलाई नै सुदृढ गरिरहेको हुन्छ ।

नेपाल प्रजातान्त्रिक प्रणाली भएको मुलुक हो । नेपालको संविधानले खुला सिद्धान्तमा आधारित राज्य शासन प्रणालीलाई स्वीकार गरेको छ । पारदर्शिता, उत्तरदायित्व, स्वतन्त्रता, मानवअधिकार, सूचनाको हक, प्रेस स्वतन्त्रता, विधिको शासन, शासनमा जनताको सहभागिता, स्वतन्त्र र सक्षम न्यायपालिका तथा आवधिक निर्वाचनजस्ता प्रजातन्त्रका तत्वहरूलाई संविधानले स्वीकार गरेको छ । संविधान देशको मूल कानुन र श्रेष्ठ नीति हो ।

सूचनाको हक सार्वजनिक क्रियाकलापमा जनसहभागिता, मानवअधिकारको सुनिश्चितता, वाकस्वतन्त्रता, प्रेस स्वतन्त्रता, सुशासन तथा पारदर्शिताजस्ता सिद्धान्तमा आधारित छ । संविधानले सरकारी सूचना पाउनु जनताको हक भएको स्पष्ट गर्दै अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हक प्रदान गरी खुला सञ्चार एवं स्वतन्त्र प्रेसलाई प्रश्रय दिएको छ । साथै, खुला सञ्चारलाई सूचनाको हकसम्बन्धी ऐन २०६४ र सुशासनसम्बन्धी ऐन २०६३, ले अझ सशक्त बनाएको छ भने स्वतन्त्र प्रेसलाई प्रवद्र्धन गरेको पनि छ ।

संविधानले सरकारी सूचना पाउनु जनताको हक भएको स्पष्ट गर्दै अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हक प्रदान गरी खुला सञ्चार एवं स्वतन्त्र प्रेसलाई प्रश्रय दिएको छ

सरकारी क्षेत्रका सूचना जनतासम्म पु-याउन अर्थात् सरकारी सूचना सार्वजनिक गर्न कानुनको व्यवस्था र कानुनको अभ्यास गर्न संस्थागत तथा प्रक्रियागत व्यवस्था गरिएको छ । सार्वजनिक सूचना प्रवाहको इतिहास राज्य सञ्चालन सँगसँगै भइआएको छ । झ्याली पिटेर, नगरा बजाएर सनद जारी गरेर शासकहरूले जनतालाई आफूले गरेको काम सुनाउँथे । सुनाउनुको अर्थ सूचना प्रवाह गर्नु हो, भला त्यो सूचना जनतालाई चासोको विषय हुन नहुन सक्थ्यो । तानाशाहहरू पनि आफुले गरेको काम सुनाउन चाहन्छन् भने प्रजातान्त्रिक शासन प्रणालीमा त सार्वजनिक सूचना प्रवाह गर्नु सरकारको कर्तव्य हो र सूचना पाउनु जनताको अधिकार । विस्तारै परम्परागत माध्यमहरूको बदलामा राजपत्रको प्रकाशन तथा पत्रपत्रिका, रेडियो टेििभजन, वेभसाइट र्साजनिक सूचना प्रवाह गर्न प्रयोग हुन थाले ।

नेपाल सरकारले पनि सरकारी सूचना प्रवाह गर्न आफ्नै माध्यमको विकास गरेको छ । मन्त्रिपरिषद्लगायत महत्वपूर्ण सरकारी निकायका निर्णयहरू राजपत्रमा प्रकाशन हुने, महत्वपूर्ण मुद्दाहरूमा सार्वजनिक सूचना प्रकाशन गरिने, मन्त्रिपरिषद्, मन्त्रालय, विभाग, आयोगलगायतका निकायहरूमा प्रवक्ताको व्यवस्था गर्ने र प्रवक्तामार्फत सूचना प्रवाह गर्ने, सूचनाको हकसहितको संवैधानिक व्यवस्था एवं सूचनामा पहुँच बढाउने कानुनी प्रावधान, सूचनाको हकसम्बन्धी ऐन, २०६४ को प्रावधानअनुसार सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था, मन्त्रालय निकायहरूमा लैंगिक समानता, वातावरण, जनसंख्या, स्वाथ्य, शिक्षा, कृषि, जीवनस्तर तथा म्यनुफ्याक्चरजस्ता मुद्दासँग सम्बन्धित गुनासो सुन्ने फोकल व्यक्तिको व्यवस्था, व्यवस्थापिकामा बजेटको प्रस्तुति गर्ने, सरकारी पत्र र परिपत्र वेभसाइटमा राख्ने, संवैधानिक निकायलगायत मन्त्रालय, विभाग कार्यालय आदिले प्रकाशन गर्ने वार्षिक प्रतिवेदन सार्वजनिक सूचना प्रवाहका अभ्यासहरू हुन् ।

सूचनाको हकसम्बन्धी ऐन २०६३ ले सार्वजनिक संगठनले आफ्नो काम कारबाही सम्वन्धमा सूचना सार्वजनिक गर्नुपर्ने, सूचना माग्ने व्यक्तिलाई सूचना दिनुपर्ने, सरकारी सूचना वर्गीकरण गर्ने, केही सूचना सार्वजनिकीकरण गर्न नसकिने कानुनी व्यवस्था व्यवस्था गरेको छ । साथै, चौमासिक वित्तीय प्रतिवेदन तथा बजेट निकासाको सार्वजनिकीकरण, सार्वजनिक सेवा प्रवाहमा नागरिक बडा पत्रको व्यवस्था, सरकारका तथा मन्त्रालयहरूका प्रवक्ता–पत्रकार साप्ताहिक भेटघाट, नियमित पत्रकार सम्मेलन, सहभागितामूलक निर्णय प्रक्रिया, मन्त्रालय विभाग तथा अन्य निकायको वेबसाइटमा सूचना प्रकाशन पनि सार्वजनिक सूचन प्रवाहका अभ्यासहरू हुन् ।

प्रेस स्वतन्त्रता, कुल जनसंख्याको झन्डै ८० प्रतिशतभन्दा बढीको मोबाइलमा र ६० प्रतिशतभन्दा बढी जनसंख्याको इन्टरनेट सेवाको पहुँच पुगेकाले अहिले अनलाइन सेवा र अनलाइन सूचनामा जनताको पहुँच पुगेको पाइन्छ । टेलिभिजन, रेडियो तथा अनलाइन मिडियाको प्रयोगकर्तामा निरन्तर वृद्धि, छापा, विद्युतीय एवं सामाजिक मिडिया सञ्जालको संख्यामा वृद्धि, प्रकाशन एवं चेतनामूलक र जानकारीमूलक पम्प्लेट, सरकारी विज्ञापन र सूचनाको प्रकाशनले सूचना प्रवाहलाई सुदृढ बनाएको छ । सार्वजनिक महŒवका विषयमा प्रधानमन्त्री, मन्त्री तथा सचिवका मन्तव्य, अन्तर्वार्ता, चौमासिक एवं वार्षिक प्रगति समीक्षा आदिसमेत सार्वजनिक सूचना प्रवाहका अभ्यासहरू हुन् ।

सञ्चारको प्रभावकारिता परिणामसँग आबद्ध हुन्छ । अर्थात् के सञ्चार कसरी गरियो भन्दा पनि जनता वा सम्वन्धित पक्षले के कति स्वीकार ग¥यो भन्नेमा निर्भर गर्दछ । सञ्चार एक निरन्तर चलिरहने प्रक्रिया हो । प्रभावकारी सञ्चारका लागि कुनै स्वीकृत सिद्धान्त र मापदण्ड छैन । यद्यपि सञ्चारका लागि उपयुक्त वातावरण आवश्यक हुन्छ । प्रेस स्वतन्त्रता, पारदर्शिता र सक्षम एवं स्वतन्त्र न्यायपालिका, कुशल नेतृत्व, असल मानव सम्बन्ध, उच्च उत्प्रेरणा र नैतिक सम्बन्ध प्रभावकारी सञ्चारका तŒवहरू हुन् । सञ्चार सीप, प्रेषक र प्रापकको व्यवहार, सामाजिक सांस्कृतिक पद्धति, विषयगत ज्ञान, सञ्चारको उद्देश्य एवं माध्यम, सञ्चारको वातावरण र पक्षपोषणलाई समेत प्रभाकारी सञ्चारका तŒवहरू मान्ने गरिन्छ ।

प्रभावकारी सञ्चारका लागि केही मार्गदर्शन रहेका छन् । कसलाई सञ्चार गरिँदै छ भनी श्रोता (अडियन्स) चिन्ने, के सञ्चार गरिँदै छ सो विषयमा स्पष्ट हुने, सञ्चारमा कुनै प्रकारको अस्पष्टता नराख्ने, उपयुक्त वातावरणको चयन गर्ने, धेरै नबोल्ने, बढी सुन्ने, सञ्चार गर्दा अनुहारमा चमक ल्याउने, प्रभाव पार्ने होइन सञ्चार गर्ने उद्देश्यले बोल्नेजस्ता क्रियाकलापहरू असल सञ्चारको मार्गनिर्देशक हुन् । प्रभावकारी सञ्चारको विषयमा छलफल गर्दा श्रीमान् श्रीमतीबीचको एक संवादलाई लिन सकिन्छ । जस्तो कि, डिनरका लागि श्रीमान् टेबलमा बसिरहँदा उसले डिनर टेवल तीनचार दिनदेखि सफा नगरेर धुलो जम्मा भएको देख्यो । त्यसपछि उसले औंलाले टेवलमा आई लभ यु लेख्यो । त्यो देखेपछि श्रीमतीले हाँस्दै टेबल सफा गरिन् । यसले सञ्चारको उद्देश्य पूरा भयो । यसलाई प्रभावकारी सञ्चारको उदाहरणको रूपमा लिन सकिन्छ ।

सूचना प्रवाह एक कठिनतम कार्य हो । सूचनाको उत्पत्ति (आरिजन) वा स्रोत नै अविश्वसनीय, द्वन्द्वात्मक र एकआपसमा बाझिने भएमा सूचना गलत हुन जान्छ । सूचना प्राप्त गर्नेको सोचाइ, धारणा र ज्ञानको पूर्वाग्रह र आग्रहले सूचनाको महŒवलाई बढी र कम बुझ्ने अवस्था आउँछ । सूचना प्रवाहप्रति अविश्वास गर्ने प्रवृत्तिले पनि सञ्चारलाई बाधा पु¥याउँछ । यस सन्र्दभमा प्रभावकारी सञ्चारका कठिनाइहरू देहायबमोजिम रहेका छन् ।

छरिएको सूचना र निर्णयका लागि सूचनाको न्यूनता, खुला वातावरणमा काम गर्ने संगठनात्मक संस्कृतिको कमी, सूचना दिन हिचकिचाउने प्रवृत्ति, सूचना प्रवाह गर्ने वा पत्रकारसँग भेटघाट गर्ने पदाधिकारीको न्यून सञ्चार सीप, भाषागत अस्पष्टता, प्रापक र प्रेषकबीचको अविश्वास, सञ्चार अन्तर अर्थात् सूचना पठाउनेको उद्देश्य र पाउनेको बुभ्mने क्षमता र नियतले सूचना प्रवाहलाई असजिलो बनाएको पाइन्छ । सूचना प्रविधिको प्रयोगमा अपर्याप्तता, अद्यावधिक नगरिएको वेबसाइट, सार्वजनिक निकायमा सार्वजनिक सम्पर्क अधिकारीको अभाव, सेवाग्राहीमा नागरिक बडा पत्र सम्बन्धमा न्यून जानकारी, सूचना खोज्ने वा माग्ने प्रवृत्तिमा कमी, सोसल मिडियामैत्री (सामाजिक सञ्जाल) संगठनको अभाव पनि सार्वजनिक सूचना प्रवाहका कठिनाइहरू हुन् ।

साथै, कर्मचारीका लागि सामाजिक सञ्जालमा आउने सूचनासम्बन्धी अध्ययन मननको मार्गनिर्देशनको अभाव, सामाजिक सञ्जालमा आउने सूचनाको अध्ययन गरी सोबाट उत्तेजित वा निरास हुन नदिने क्रिटिकल मास (सुझबुझ प्रयोग गर्ने समुदाय)को कमी, छोटो समयमा सूचना प्रवाह गर्नुपर्ने समयको दबाब, सार्वजनिक सूचना निजीक्षेत्रका सञ्चारमाध्यममा नसमेटिने र सरकारी सञ्चार माध्यममा भर पर्नुपर्ने स्थिति, सूचना छान्ने (फिल्टर गर्ने) वा छानबिन गर्ने प्रवृत्ति, सर्वसाधारणमा सूचनाको अर्थ बुझ्ने क्षमताको अभाव, ग्रामीण दुर्गम क्षेत्र सूचना प्रविधिबाट विमुख, व्यक्ति तथा कर्मचारीमा सूचना प्रवाह गर्न नरुचाउने र सञ्चारलाई बोझको रूपमा लिने प्रवृत्ति, नेतृत्व वा अन्य कसैले भनेको नबुझीकन बुझें बुझें भन्ने प्रवृत्ति तथा सुन्ने क्षमताको कमी, सूचनासम्बन्धी पूर्वाग्रह, शब्दार्थ (सेमान्टिक) को फरकफरक विश्लेषण, एकै समयमा धेरै प्रकारका सूचना प्रवाह हुने एकैसाथ उपलब्ध हुने अवस्था, समयभित्र सूचनाको सञ्चार नहुने स्थिति, गुणस्तरीय एवं पेसागत पत्रकारिताको अभाव, सत्य तथ्यमा आधारितभन्दा कल्पना र पूर्वाग्रहबाट मिडियामा समाचार सम्प्रेषण गर्ने प्रवृत्ति सार्वजनिक सूचना प्रवाहका मुख्य कठिनाइ हुन् ।

राजपत्रको प्रकाशन नियमित र सबैका लागि सर्वसुलभ बनाउने र वेभसाइट सजिलै खुल्ने र सबै सूचनामा सहजै पुगिने व्यवस्था गर्नुपर्दछ

प्रभावकारी सञ्चारको आवश्यकतालाई हृदयंगम गरी लागि केही सुझावहरू प्रस्तुत गरिएको छ । जुनबेला सूचना चाहियो त्यही बेला खोज्ने (फायर ब्रिगेड) खालको नभई आवश्यक सूचनाको पहिचान गरी अग्रउन्मुख सूचना सञ्चार योजना बनाउने नेतृत्व हुनुपर्ने । छरिएको सूचनालाई एकीकृत रूपमा राख्ने र वितरण गर्ने तथा पर्याप्त सूचना प्रवाह गर्न सरकारी तहमा सरकारी सूचना मियो (हब) बनाउने, हरेक संगठनमा व्यवस्थापन सूचना प्रणाली खडा गर्ने, खुला संगठनात्मक संस्कृतिको विकास गर्ने, वेबसाइटको नियमित अद्यावधिक गर्ने, पत्रकारितामा व्यावसायिकताको विकास गर्ने, राष्ट्रिय एकता र अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव, व्यक्तिगत गोपनीयता र सुरक्षासँग सरोकार राख्ने सूचनाप्रति संवेदनशील बन्नुपर्ने, सूचना सत्य, पूर्ण र समयमै उपलब्ध हुनुपर्ने व्यवस्थाले सार्वजनिक सूचना प्रवाहलाई प्रभावकारी बनाउँछ ।

सरकारका प्रवक्ता, सूचना अधिकारी एवं सार्वजनिक सम्पर्क अधिकारीमा सूचनाको पहँुच तथा सञ्चार सीप विकास गर्ने, सूचना प्रवाह गर्दा छनोट गर्ने वा पूर्वग्राह राख्ने प्रवृत्ति हटाउने, व्यक्तिको हकमा सुन्ने क्षमता विकास गर्ने तथा नेतृत्वले विषयगत जानकारी राख्नुपर्ने, सामाजिक सञ्जालमा प्रसारित विषयको आलोचनात्मक अध्ययन गर्ने (क्रिटिकल मास) तयार गरी सूचना प्रवाबाट उत्पन्न हुन सक्ने नकारात्मक परिणम न्यूनीकरण गर्न सर्तक रहने, सामाजिक, संस्कृतिक वातावरण बुझेर सूचना सम्प्रेषण गर्नुपर्ने सुझबुझको विकास गर्ने, प्रेस स्वतन्त्रतालाई निर्वाध अभ्यास गर्ने वातावरण निर्माण गर्नुका साथै पत्रकारको हकअधिकार र सुरक्षाको सुनिश्चितता र मिडिया विकासमा जोड दिने तथा पत्रकार आचारसंहिताको पालनामा जोड दिने गर्नाले सूचना प्रवाहलाई व्यवस्थित र अनुशासित बनाई सशक्त बनाउँछ ।

सारमा, सञ्चार मानव जीवनको एक अभिन्न क्रिया हो । मानिस मात्र नभई हरेक जीवित प्राणी आफ्नो आवश्यकता, इच्छा तथा उद्देश्य पूरा गर्न एकआपसमा सञ्चार गर्दछन् । सञ्चार मानव सशक्तीकरणको महत्वपूर्ण भाग हो । संगठनको नेतृत्व वा व्यवस्थापकले आप्mनो दैनिक जीवनको करिब ८७ प्रतिशत हिस्सा सञ्चारमा नै खर्च गरेका हुन्छन् । सरकारी सूचना प्रवाह हुने राजपत्रको प्रकाशन नियमित र सबैका लागि सर्वसुलभ हुनुपर्दछ भने वेभसाइट सजिलै खुल्ने र सबै सूचनामा सहजै पुगिने व्यवस्था गर्नुपर्दछ । साथै, सूचनासञ्चार उद्देश्यमूलक, परिणाममुखी र जनताको आवश्यकता पूरा गर्ने खालको हुनुपर्दछ । यसकारण सञ्चार गर्दा उद्देश्य, सन्देश, माध्यम, भाषा स्पस्ट हुनुपर्दछ भने सञ्चार वातावरण सहज बनाउनुपर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दसैं टिकटमा सधैं सास्ती

कुरी-कुरी