‘घूस नखुवाई प्रमोसन त पाएको पायै हो ?’
चामलमा सलबलाइरहेका घुन टिप्दै अनि नाक चेपार्दै झर्कोफर्को सुनाउँदै थिइन्, श्रीमती । म कान थापिरहेको थिएँ । उनी फेरि बोलिन्, ‘यत्रो भइसक्यो, त्यो हाकिम भनाउँदोको चाकरी गर्न थालेको । के लछारपाटो लाग्यो र ? हातमा नोटको बिटो बोकेर गएको भए हजूरको प्रमोसन दुई वर्षअगाडि नै भइसक्थ्यो । आफूभन्दा तलकाहरू प्रमोसनमाथि प्रमोसन पाएर कहाँकहाँ पुगिसके, हजूरचाहि“ जहिले पनि त्यही खरदार पोस्टमा झुन्डिएर बस्नु । उहिल्यै मैले भनेको खेत बेचिदेऊ अनि आएको पैसा लगेर हाकिमलाई बुझाऊ, राम्रो ठाउ“मा प्रमोसन भएदेखि कमाइ पनि राम्रो हुन्थ्यो । छरछिमेकमा इज्जत बढ्थ्यो । हजूरचाहि कानमा तेल हालेर बस्ने अनि अरुको प्रमोसन भयो, मेरो भएन भनेर गुनासो गर्ने ।’
‘बाउबाजेको निसानीका रूपमा भएको त्यही एउटा खेत पनि बेचेर भोलि छोराछोरीलाइ के दिनु ?’ भन्दै मैले बेच्न मानेको थिइनँ । फेरि, खेत बेचेको पैसाले ‘प्रमोसन पाइन्छ’ भन्ने के ग्यारेन्टी थियो र ? प्रमोसन पाइएन भने खेत पनि जान्छ अनि पैसा पनि । यही असमञ्जसले घरमा अक्सर मेरो र श्रीमतीको ठाकठुक पर्नेगर्छ । अनि, ‘खेतको लोभले गर्दा खरदारनी भएरै जिन्दगी बित्ने भो’ भन्ने उनको घुर्की सुन्नुपर्छ, आखिरीमा ।
सधैंको कचकच र घुर्कीबाट छुट्कारा पाउने उद्देश्यले पुराना साथी विनोदलाई फोन गर्ने विचार गरें । ऊ मभन्दा धेरै पढेको, देशविदेश घुमेको मान्छे । मलाई पक्का विश्वास थियो, ऊस“ग मेरो समस्याको कुनै न कुनै हल जरुर छ । फोनमा हाम्रो बातचित सुरु भयो ।
म : ए १ विनोद, मैले तलको खेत बेच्ने विचार गरें । कोही ग्राहक तिम्रो नजरमा छ भने भन है १
विनोद : किन बेच्न लाग्यौं त ?
म : घूस नखुवाई प्रमोसन हुने भएन । त्यसैले पैसाको इन्तजाम गर्न खेत नै बेचिदिऊ भनेर ।
विनोद : हे लाटा १ हाकिमलाई सोध्यौं, कस्तो घूस चाहिन्छ भनेर ?
म : घूस पनि यस्तो र उस्तो हुन्छ र ? घूस भन्या पैसा, मलाई त्यही चाहियो । आफूसित छैन, खेत नबेची भएन। कति सुन्नु तिम्रो भाउजुको कचकच ।
विनोद : ल सुन, घूस भन्या सधैं पैसा होइन । यसका पनि विभिन्न प्रकार अनि जाति हुन्छन् । मान्छे र परिस्थितिअनुसारको घूस ख्वाउन जान्नुपर्छ । घूस खाने र खुवाउने एउटा गजबको कला हो । हाम्रा देशका प्रायः सबैले यो कलामा विद्यावारिधि गरिसकेका छन् । तिमी कसरी अपवाद भएछौं ? बुझ्नै गाह्रो भो १
म : अन्योलमा परें, साथी। मलाई त पैसाबाहेक घूसको अन्य प्रकारबारे केही जानकारी छैन । परिस्थितिअनुसार भिन्न घूस भनेको के हो ? घूसको पनि जाति हुन्छन र ? लौ न, मलाई त तिमीले खुलस्त पारिदिनुप-यो । हाकिमलाई घूस दिएर प्रमोसन लिनैपर्ने भइसक्यो । बूढीको टोकसो एकतिर, अर्कोतिर जिन्दगीभर खरदारी जागिर, अब त डिप्रेसन होलाजस्तो भइसक्यो ।
विनोद : ल सुन, ध्यान दिएर । मुख्यतया यो राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई क्याटेगोरिका हुन्छन् । देशभित्रै हुने लेनदेन राष्ट्रिय घूसको क्याटेगोरीमा पर्छ भने कमिसनको नाममा देशका विभिन्न क्षेत्रमा विदेशी राष्ट्र अनि संघसंस्थासँग हुने लेनदेनचाहिँ अन्तर्राष्ट्रिय घूसको क्याटेगोरी हो । तिम्रो हाम्रो पहुँच अन्तर्राष्ट्रियमा हुनै सक्दैन, यो क्याटेगोरीका खेलाडी उच्चओहदामा बसेका व्यक्ति हुन्, उदाहरणका लागि देशका मन्त्री लिन सक्छौं । हामी राष्ट्रिय घूस क्याटेगोरीमै दाउपेच लडाइरहेका हुन्छौं र यही दाउपेचबाटै विभिन्न घूसका प्रकार जन्मिरहेका हुन्छन् । म तिमीलाई उदाहरणसहित भन्छु ।
१ (पैसा) : यो सबैभन्दा पावरफुल घूस हो । कामको प्रकृति हेरेर यो सानो, ठुलो अनि मझौला सबै प्रकारमा बर्गीकरण गर्न मिल्छ । कुनैकुनै काम सय रुपैयाँमै फत्ते हुन्छ, जस्तै बाटोमा प्रहरीले लाइसेन्स चेक गर्न खोज्दा सय रुपैयाँ अगाडि सारिदिनु केही गर्नै पर्दैन । गल्ती नै गरेको भए पनि तुरुन्तै सजाय मिनाहा हुन्छ । तर, कुनै कामको मूल्य भने करोडौं हुन्छ । राजदूत नियुक्तिमा मन्त्रीले माग्ने रकम राष्ट्रिय ठुलो घूसको उदाहरण हो ।
२ (सामान) : पैसाको अतिरिक्त बहुमूल्य सामान पनि घूसका रूपमा प्रयोग हुन्छ, कतिपय अवस्थामा । कोसेली बोकेर हाकिमकहाँ धाउने प्रथा विकास यस्तै घूसको जन्म भएपछि भएको हो । विदेशी रक्सी, खसीबोकालगायत दिएर पनि काम फत्ते गर्न मिल्छ, ठाउँ अनि हाकिमको स्वभावअनुसार ।
३ (नाता र सिफारिस) : यो एउटा खतरनाक किसिमको घूसको प्रकार हो । यसका लागि तिम्रो नातेदार ठुलो ओहदामा हुन जरुरी हुन्छ । त्यसो भएको खण्डमा जस्तोसुकै सक्षम व्यक्ति पनि तिम्रासामु अक्षम ठहरिन्छ र तिम्रो काम हुन्छ, उसको हुँदैन । विदेशमा थोरै देखिए पनि हाम्रो देशमा यस्तो घूस व्याप्त छ । तिमीलाई थाहा नै छ, मन्त्रीका ओरिपरिका ओहाद सबै आफ्नै नातागोताले भरिएका हुन्छन् । यो घूसको कारण देशमा योग्यताको कुनै कदर बाँकी छैन । ठाउँमा मान्छे छ भने तिम्रो काम पनि हुन्छ, जागिर पनि हुन्छ, प्रमोसन पनि हुन्छ । तर, मान्छे छैन भने तिमीले अर्को प्रकारको घूस प्रयोग गर्नुपर्ने हुन्छ ।
४ (विलाशिता) : यो एउटा छुट्टै प्रकारको घूसको जाति हो । यसमा पैसाले त्यति महत्व पाउँदैन । हाम्रै छिमेकी मीराले आफ्नो प्रमोसनका लागि हाकिमसंग रात बिताएकी हैन र ? कति छिटो प्रमोसन पाएर अहिले मालामाल भएकी छे । त्यो रातको काण्डले गर्भवती भएकी थिइ रे १ पछि, एबोर्सन गर्नजाँदा डाक्टरलाई पनि त्यस्तै घूस ख्वाउनुपरेको थियो रे १ कुरा गोप्य राख्नुपर्ने शर्तमा ।
५ (डर अनि धम्की) : माथि वर्णन गरिएको विलासिता घूस बिग्रिएको अवस्थालगायत आफूभन्दा सामर्थवानको डरमा गर्न नहुने काम गर्नु नै यो घूसको विशेषता हो । तिमीले बिस्र्यौं, त्यही मीराले कसरी त्यो व्यापारीको नांगो तस्बिरको भरमा त्यत्रो घर ठड्याई । पत्रिकामा नै छापिएको थियो नि १ मीरालाई पुलिसले समातेको पनि हो नि तर के गर्नु ? उसमा थरिथरिको घूस ख्वाउने कला छ । छुटी हाली नि १ दुइ दिनमै ।
घूसका प्रकार अरु भए पनि अहिलेलाई तिमीलाई चाहिनेचाहिँ माथि वर्णन गरिएकामध्ये नै पर्छ । अब आफैं सोच, तिम्रो हाकिमलाई कस्तो घूस दिएमा काम बन्छ ?
विनोद मौन भयो । म भने सोच्नथालें, हाकिमलाई दिने घूसबारे ।