सिन्धुपाल्चाेक । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची आयोजनाको औपचारिक सुरुवात भने २०५४ सालदेखि भएको थियो । सुरुवात भएको २३ वर्षपछि आयोजना पूरा हुने दिशामा अघि बढेको छ ।
मेलम्ची खानेपानी आयोजना सुरु भएपछि यसको सुरुङ खन्नेलगायतका कामको जिम्मा इटालियन ठेकेदार कम्पनी सीएमसीलाई दिए पनि सीएमसीले काम पूरा नहुँदै आयोजनाको काम अलपत्र छाडेर भागेको थियो । सीएमसीले काम छाडेपछि बाँकी काम पूरा गर्ने जिम्मा सरकारले चिनियाँ कम्पनीलाई दिएको थियो । मेलम्ची आयोजनाको ढिलासुस्ती, विभिन्न क्षेत्रबाट आइरहने अवरोधका बीचमा अहिले भने मेलम्चीको पानी काठमाडांै आउने निश्चित भएको छ । योसँगै राजधानीवासीको २३ वर्षदेखिको मेलम्चीको पानी पिउने सपना पनि अबको दुई महिनाभित्र पूरा हुने भएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा निर्माण भइरहेको मेलम्ची खानेपानीमा अहिलेसम्म २९ अर्ब ५० करोड खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ ।
सुन्दरीजलमा पानी पुग्न २६ दिन, त्यसपछि धारामा पानी
सुरुङभित्र पानी हालिएको १६ दिनभित्र सुरुङ भरिनेछ भने त्यसको २६ दिनपछि काठमाडांैको सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पानी पुग्ने मेलम्ची खानेपानी आयोजनका कार्यकारी निर्देशक खत्रीले जानकारी दिए ।
मेलम्चीको पानी वितरण गर्न काठमाडौंमा १ सय ४४ वितरण केन्द्र निर्माण गरिएको र २६ केन्द्र तयारी हालतमा रहेको आयोजनाले जानकारी दिएको छ । पाइपलाइनमा पानी हाल्दै परीक्षण गर्दै अघि बढ्ने र पहिलो चरणमा चक्रपथभित्रका करिब ३० हजार धारामा पानी वितरण गर्न सकिने आयोजनाले जानकारी दिएको छ । ‘हामीले नयाँ पाइप लाइन पनि जडान गरेका छौं र पुरानो पनि छ, दुवै लाइनमा एकैपटक पानी हालेर परीक्षण गर्ने योजना बनाएका छांै,’ खत्रीले भने ।
मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणमा दैनिक १७ करोड लिटर काठमाडौं लैजाँदै छ । सुरुङको क्षमता दैनिक ५१ करोड लिटर भए पनि दोस्रो चरणमा पाँच पोखरी थाङपाल गाउँपालिकामा रहेको याग्री र लार्के खोलाको पानी समेत ल्याएर दैनिक सुरुङको क्षमताअनुसार नै काठमाडांैमा पानी लैजाने तयारी आयोजनाको छ । दोस्रो चरणको आयोजनाका लागि जग्गा अधिग्रहणलगायतका काम सम्पन्न भइसकेको छ ।
प्रधानमन्त्रीको सपना पनि साकार भयो : मन्त्री थापा
नेपालको विकास निर्माणमा सबैभन्दा ढिलो सम्पन्न हुने आयोजनामा दर्ज भएको मेलम्ची आयोजना पूरा हँुदा देशकै समृद्धिको एउटा सपना पूरा भएको छ । यो उपत्यकावासीको मात्रै होइन, देशकै विकास हो । मेलम्ची खानेपानी काठमाडांैमा आउने सुनिश्चित भएसँगै प्रधानमन्त्रीज्यूको समेत सपना पूरा भएको छ ।