पोखरा । पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल चयन भएका छन् । पोखरा महागरपालिकाले ढकाल कुलपति रहेको ७ सदस्यीय समिति चयन गरेको हो । कुलपतिमा नियुक्त ढकाल राष्ट्रिय जनसांस्कृतिक महासंघमा आबद्ध छन् । लेखनाथ साहित्य प्रतिष्ठानका उनी पूर्वअध्यक्ष हुन् ।
प्रतिष्ठान सदस्यमा जीवन दाहाल, प्रकाश ज्ञवाली, कृष्ण भण्डारी, मिलन शेरचन, सरस्वती श्रेष्ठ र दिलीप गायक छन् । चयन भएका सबैलाई मेयर जिसीले बुधबार नियुक्ति दिएका हुन् । उपकुलपति चुनिन बाँकी छ ।
प्रतिष्ठानमा पदाधिकारी र सदस्य चयनका लागि यसअघि ११ जनाको नाम सिफारिस भएको थियो । पोखरा–७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले १८ असोजमा पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मिलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्यायको नाम सिफारिस गरेको थियो ।
सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए । सिफारिसमा परेकामध्ये धनबहादुर गायकको १२ माघमा निधन भएपछि उनका छोरा दिलिपलाई महानगरपालिकाले प्रज्ञा–प्रतिष्ठानको सदस्य नियुक्त गरेको हो ।
११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा दुई जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने महानगर प्रज्ञा–प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ । महानगरपालिकाले प्रज्ञा–प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ ।