काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण गुरूङले वि.स.२००६ सालमा स्थापना गरेको कास्कीको घान्द्रुकमा रहेको श्री मेश्रम बराह माविलाई उक्त रकम प्रदान गरेकी हुन् । विपन्न विद्यार्थीहरूलाई छात्रवृद्वि प्रदान गर्ने उदेश्यले उक्त रकम प्रदान गरिएको अध्यक्ष गुरूङले बताइन् ।
त्यस्तै अक्षयकोषदाता गुरुङलाई विद्यालयले एक विशेष कार्यक्रमको आयोजना गरी भब्य सम्मान गरेको छ । विद्यालयद्वारा आयोजित सम्मान समारोहलाई सम्बोधन गर्दै गुरूङले आफ्नो पुर्खाको योगदानको संस्मरण गर्दै पुर्खाको राम्रो कामको अनुशरण गर्नुपर्छ भन्ने सन्देश दिन अक्षयकोष प्रदान गरेको बताइन् । अध्यक्ष गुरुङले भनिन, ‘आफ्नो जन्मथलोका कोही पनि बालबालिकाहरु शिक्षाबाट बञ्चित नहुन भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेकी हुँ ।’ शिक्षा जीवनको महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले आगामी दिनहरुमा पनि विद्यालयलाई यस्तै किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
समाजसेवी गुरुङको उदारताको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । शिक्षक, विद्यार्थीहरुको बाक्लो उपस्थितिका बीच अध्यक्ष गुरुङलाई पुष्पगुच्छाले भव्य स्वागत गरिएको थियो ।
हजुरबुवा लक्ष्मण गुरुङको स्मृतिमा स्थापना गरिएको ‘लक्ष्मण गुरुङ स्मृति कोष’ का एक दाता दुर्गाबहादुर गुरुङकी कान्छी सुपुत्री पशुपति गुरुङले विद्यालयलाई गरेको सहयोगले आफूहरुलाई उर्जा आएको बताउँदै विद्यालयका प्रधानध्यापक यमप्रसाद भण्डारीले एक प्रेरक र उदाहरणीय समाजसेवीका रुपमा गुरूङको परिचय गराएका थिए । आफैले पढेको बिद्यालयबाट सम्मान पाउँदा भावुक बन्दै मन्तव्यका क्रममा आफ्नो बाल्यकालको स्मरण गरेका थिए ।
अहिलेका विद्यार्थीहरु भाग्यमानी भएको भन्दै आफ्नो समयमा खाली खुट्टा विद्यालय गएको स्मरण समेत गरे । आफ्नो पुर्खाहरुको योगदानबाट निर्माण भएको विद्यालयलाई देशको नमूना विद्यालय बनाउनका लागि शिक्षक तथा विद्यार्थीहरुलाई आग्रह गर्दै अध्यक्ष गुरुङले आगामी दिनहरुमा पनि सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा सहभागी शिक्षक–शिक्षिकाहरुले गुरुङको योगदानलाई जति नै कदर गरे पनि नपुग्ने बताएका थिए ।
कार्यक्रममाः गुरुङले विद्यालयको प्रवेशद्वारसँगै राखिएको आफ्ना हजुरवुवाको मूर्तिमा माल्र्यापण गरेकी थिइन् । त्यस्तै संस्कार समाज नेपालका सचिव प्रकाश समीरले पनि शिक्षासेवी, समाजसेवी स्व. लक्ष्मण गुरुङको सालिकमा संस्थाका तर्फबाट खादा लगाउदै यस्तो व्यक्तित्वको सम्मान गर्न पाउँदा आफू भाग्यशाली रहेको बताएकी छिन् ।