प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भन्ने अभिव्यक्ति दिएपछि सिंगो देशको सुरक्षा व्यवस्थाको विषयलाई लिएर चिन्ता छाएको छ । तर, प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेट आए पनि त्यसलाई सर्तकतापूर्वक समाधान गरिने बताएर सकारात्मक सन्देश दिएका छन् ।
सुरक्षाबारेको विमर्श आफैंमा सकारात्मक कुरा पनि हो । किनकि प्रविधिक र विशिष्ट बाहेकका सबैभन्दा ठूलो सुरक्षा भनेको जनता आफैं हुन् । जनस्तरमा यो विषयको खुलासा हुनु नराम्रो कुरा होइन तथापि राज्यसत्ताको आफ्नै कार्य विभाजन र कार्यमा विशिष्टीकरणका कारण सम्बन्धित निकाय यसबारे केही जानकारी राख्छन् कि राख्दैनन् होला भन्ने आमजनतामा चासो जागेको छ । यो विषय आफंैमा जति गम्भीर छ, उत्तिकै गहिरो पनि । प्रधानमन्त्रीले आफूमाथि आएको भनेको सुरक्षा थ्रेट आन्तरिक हो वा बाह्य हो भन्ने प्रश्न पनि उठिरहेको छ । आन्तरिक हो भने यसलाई व्यवस्थापन गर्न सरकार आफंै सचेत भएर लागि पर्नुपर्छ । त्यो वैचारिक पनि होला र कतिपय अवस्थामा प्रशासनिक पनि होला । यसको छानबिन सरकार आफंैले गर्न सक्छ । यदि यो थ्रेट बाहिरबाट हो भने विश्वमा यसलाई कूटनीतिकरण गरिनुपर्छ । किनकि नेपाल र नेपाल देशको कार्यकारी प्रतिनिधि र अभिभावक भनेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् ।
सुरक्षा थ्रेटको विषय प्रधानमन्त्रीले ‘टङ स्लिप’ भएर चुहाएका होइनन् । यसलाई दोहो¥याएर भनिएको पनि छ । व्याख्या पनि यसको केही लामो गरिएको छ । यसले प्रम ओलीका कुरा भावनात्मक रूपमा अभिव्यक्त भएका भनेर मान्ने आधार छैन । यो केही न केही सूचनाका आधारमा प्रमलाई लागेको कुरा हो । यो विषयलाई आग्रह र पूर्वाग्रहको विषय बनाइनु हुँदैन । यस्तो संवेदनशील विषयलाई हासीमजाकको विषय पनि बनाइनु हँुदैन । यदि प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट आएको हो भने यो समग्र नेपालीमाथि आइपरेको संकटको कुरा पनि हो । यो मात्र प्रतिक्रिया वा टिप्पणी पनि होइन । नेपालका प्रधानमन्त्रीमाथि मडारिन थालेको यो संकट भनेको एउटा अमूक सुरक्षा निकायको जिम्मेवारी वा चासोको कुरा मात्र पनि होइन । यो देश र राष्ट्रको सुरक्षासँग जोडिएको कुरा हो । सबै सुरक्षा निकायको तहमा यसप्रति सजगता जरुरी छ । जनतालाई पनि यसका बारेमा उत्तिकै चासो र चिन्ता छ । यथार्थता के हो, जनता जान्न चाहन्छन् । यसबारेमा सुसूचित हुने अधिकार जनतालाई छ । प्रमले यति बोलिसक्दासम्म सम्बन्धित निकायलाई केही सूचना भने अवश्यै हुनुपर्छ ।
नेपाली जनता यसबारे सचेत मात्र होइन, सतर्क पनि छन् । नेपालीले आफ्नै देशमा सवारी दुर्घटनाका नाममा जननेता मदन भण्डारी तथा जीवराज आश्रितको दासढुंगामा असामयिक निधन बेहोरेका छन् । वंश विनास गर्ने दरबार हत्याकाण्ड पनि बेहोरेका छन् । त्यसैले उच्चस्थानमा बस्नेहरूलाई सुरक्षा थ्रेट नहुने भन्ने होइन् । विगतमा पनि विभिन्न प्रधानमन्त्रीले सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिने गरेका थिए । हामीकहाँ राष्ट्रवादी र असल काम गर्नेहरूलाई सहज जीवन यापन गर्न कठिन हुने अवस्था पनि छ । देशको राजनीतिमा आग्रह र पूर्वाग्रह रहे पनि सुरक्षा संवदेनशीलताको विषयलाई कसैले पनि हल्का रूपमा लिनुहुँदैन ।