मन्त्री नेम्वाङको सय दिन : सय दिनमा ९ हजार ५ सय खाल्टाखुल्टी पुरियो




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिमार्जन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको वसन्त नेम्वाङले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
सय दिने प्रगति विवरण प्रस्तुत गर्ने क्रममा मन्त्रालयको सभाहलमा शनिबार उनले ५५ बुँदा समेटिएको प्रगति विवरण पढेर सुनाएका थिए । त्यस क्रममा उनले आफू नीतिगत सुधार, सांगठनिक सुधार र अनुगमन तथा नियमनको काममा गम्भीर भएर लागेको बताए ।


मन्त्री नेम्वाङले आफ्नो सय दिनको अवधिमा काठमाडौं उपत्यकाभित्र साढे ९ हजार खाल्टाखुल्टी पुरेको जानकारी दिए । ‘सय दिनमा सडक विभागअन्तर्गत रहेका सडकहरूमा २४ हजार ३ सय वर्गमिटर (९ हजार ५ सयवटा) खाल्टाखुल्टी पुर्ने काम भएको छ,’ उनले पत्रकार सम्मेलनमा भने ।
मन्त्रालयले सय दिनको अवधिमा उपत्यकाभित्र आवधिक मर्मतसहित करिब २७ किलोमिटर सडकमा कालोपत्रे गरेको छ । मन्त्री नेम्वाङले चालू वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकाका थप ८५ किमि सडकहरू कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी गराए ।


उनले लामो समयदेखि रुग्ण रहेका ठेक्काहरूलाई व्यवस्थापन गर्नका निम्ति सार्वजनिक खरिद नियमावली संशोधन गरेर १५ सय ठेक्काको म्याद थप्ने कार्य टुंग्याएको बताएका छन् । अधिकांश ठेक्का थपिएको समयमा पूरा हुने मन्त्रालयको दाबी छ ।
मन्त्री नेम्वाङले कोटेश्वर चोकमा वर्षौंदेखि हुँदै आएको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालीन समाधानको रूपमा हालको सडकलाई चौडा गर्न लागिएको जानकारी पनि गराए । थप सडक लेन निर्माण गर्ने निर्णय भएसँगै दक्षिणतर्फको जग्गा प्राप्ति भइसकेको र उत्तरतर्फको जग्गा अधिग्रहण प्रक्रिया भइरहेको उनको भनाइ छ ।


उनका अनुसार सूर्य विनायक धुलिखेल सडक विस्तार गर्न र कोटेश्वर जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रूपमा समाधान गर्न फ्लाई ओभर वा अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको छ ।
मन्त्री नेम्वाङले ग्वार्को चोक, सातदोबाटो र नख्खु चोकमा फ्लाई ओभर निर्माण गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको निम्ति परामर्शदाता कम्पनी छनोटको काम गरिरहेको पनि उल्लेख गरे ।


मन्त्री नेम्वाङको सय दिनको अवधिमा काठमाडौं उपत्यकाकामा चोकहरूमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याइएको छ । ‘१७ वटा चोकहरूमा ट्राफिक बत्ती बल्न सुरु गरेको छ भने ६ वटा चोकमा असार महिनाभित्र मर्मत गरी सञ्चालनमा ल्याउने योजना बनाइएको छ । दीर्घकालीन रूपमा चोकहरूमा हुने ट्राफिक जाम व्यवस्थापनको निम्ति इन्टेलिजेन्ट ट्राफिक सिस्टम अपनाउनुपर्ने देखिएकाले परामर्शदाता छनोटको प्रक्रिया अघि बढाइएको छ,’ प्रगति प्रतिवेदनमा उल्लेख छ ।

उपत्यकाभित्र करिब २७ किमि सडकमा कालोपत्रे
कोटेश्वर चोकमा सडक चौडा गर्ने कम सुरु
१७ वटा चोकहरूमा ट्राफिक बत्ती बल्न सुरु
२ लाख स्मार्ट लाइसेन्स कार्ड वितरण


मन्त्री नेम्वाङले चक्रपथ विस्तारको दोस्रो खण्डको रूपमा कलंकी–महराजगन्ज खण्डको साइट क्लियरको काम भइरहेको र चक्रपथकै तिनकुने–एयरपोर्ट–तीलगंगा खण्डलाई आठ लेनमा विस्तार गर्न डीपीआर तयार गर्ने काम भइरहेको बताए ।
मन्त्री नेम्वाङले मध्यपहाडी, हुलाकी, उत्तरदक्षिण जोड्ने राजमार्गहरू, गल्छी–मैलुङ स्याफ्रुवेसी–रसुवागढी, मदन भण्डारीलगायतका राष्ट्रिय गौरवका आयोजनाहरूलाई गति दिएको उल्लेख गरे । मन्त्री नेम्वाङले नागढुंगा नौबिसे सुरुङमार्ग आगामी तीन वर्षमा सक्नेगरी निर्माण थालिएको उल्लेख गरेका छन् ।


‘यातायात व्यवस्थापनतर्फ भेहिकल ट्र्याकिम सिस्टम कार्यान्वयनका लागि अध्ययन अघि बढाएको, संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदा अन्तिम चरणमा रहेको, सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न मास प्रिन्टर जडान गरी २ लाख कार्ड वितरण गरिएको छ,’ प्रगति विवरणमा उल्लेख छ ।


प्रगति विवरणमा रेल यातायाततर्फ पूर्वपश्चिम रेलमार्गको वैकल्पिक खण्ड निजगढ–भरतपुर खण्डको डीपीआर निर्माण सुरु गरिएको उल्लेख छ । नारायणगोपाल चोक–रत्नपार्क–सातदोबाटो चोकको मेट्रो रेलको डीपीआर तयारी कार्य सुरु भएको, काकडभिट्टा–इनरुवा रेलमार्ग खण्डको बहुवर्षीय ठेक्का व्यवस्थापन भई कार्य अघि बढाएको पनि उल्लेख छ ।


मन्त्री नेम्वाङले जयनगर–जनकपुर रेलमार्ग आगामी असार मसान्तसम्ममा सञ्चालनमा ल्याउनेगरी तयारीका काम भइरहेको उल्लेख गरेका छन् ।
मन्त्री नेम्वाङले जल यातायाततर्फ पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक मस्यौदा तयार पारेर रायका लागि सम्बन्धित मन्त्रालयमा पठाएको, कालिगण्डकी नदीमा पानी जहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने कार्यको लागि आशयपत्र माग गरी इच्छुक फर्म र कम्पनी छनोट गरी प्रस्ताव मागिएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै