लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मेसन माउण्टले निर्णायक गोल गरे ।
जितसँगै चेल्सीले प्रिमियर लिगको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो पारेको छ । पराजित टोली लिभरपुलको भने शीर्ष चारको सम्भावना कमजोर बन्दै गएको छ । आफ्नै मैदान एनफिल्डमा लिभरपुल पछिल्लो ५ खेलमा पराजित भएको छ । लिरभपुलले आफ्नै मैदानमा यति कमजोर प्रदर्शन गरेको क्लबको इतिहासमै यो पहिलो पटक हो ।
प्रिमियर लिगकै अन्य खेलहरुमा गएराति टोटनह्याम हट्सपरले फुल्हमलाई १–० ले हराउँदा एभर्टनले वेष्ट ब्रोममाथि १–० कै जित निकाल्यो । गएरातिका खेलहरुपछि इग्लिस प्रिमियर लिग फुटकलको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ ।
समान खेलबाट ५१ अंक जोडेको म्यान्चेस्टर युसनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५० अंक छ । ४७ अंकसहित चेल्सी चौथो तथा ४६ अंक जोडेको एभर्टन पाँचौ स्थानमा उक्लिएको छ ।