काठमाडौं । नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ २०२१) आगामी १२० वैशाखबाट १२ वैशाखसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि निर्णायक समूहले नेपाली र अफ्रिकन फिल्म चयन गरेर रिजल्ट निकालेको छ ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजनामा यो महोत्सव हुँदै आएको छ । यो महोत्सव काठमाडौंको जमलस्थित नाचघरको मिनी हलमा आयोजना गरिने भएको छ ।
महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रकाअनुसार नेपाल र अफ्रिकी महादीपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रूपमा जोड्न र आपसी सांस्कृतिक आदनप्रदानका लागि विगत नौ वर्षबाट यो महोत्सव आयोजना गरिँदै आएको हो । विश्वव्यापी कोरोना संक्रमणका कारण यो वर्ष विगतको भन्दा केही ढिला महोत्सव आयोजना हुन लागेको हो । गत डिसेम्बरमा हुनुपर्ने यो महोत्सव कोभिड १९ कै कारण वैशाखमा आयोजना गर्न लागिएको पनि डा. मिश्रले जानकारी गराइन् ।
नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्र मध्यबाट महोत्सवको चलचित्र निर्णायक समूहले जम्मा १८ वटा लामा छोटा चलचित्र चयन गरेको छ । जसमा चलचित्र, लघु चलचित्र र वृत्तचित्र रहेको महोत्सव आयोजक डा. मिश्रले जानकारी गराएकी छन् ।
नेपाल अफ्रिका फिल्म फेस्टिभलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा नेपालबाट सातवटा चलचित्र चयन भएका छन् । जसमा एउटा वृत्तचित्र र बाँकी लघु चलचित्र रहेका छन् । नेपालबाट चयन भएका चलचित्रमा निर्देशक गणेश पाण्डेको को हज्बेन्ड, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजंग रावलको सम्साया, सजल लोप्चनको गाइड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाइनल फेयर वेल र युनिषराज उप्रेतीको बाटोमा रहेका छन् ।
महोत्सवका बाँकी चलचित्र अफ्रिकी मुलुकबाट चयन भएका हुन् । जसमा इजिप्टबाट बबल्स्, ड्राइ हट समर, एक्जिट र द स्पारो किड्ससहित चार चलचित्र चयन भएका छन् । यस्तै, जिम्वावेबाट गुड म्यान,थन्डिज डायरी गरी दुई चलचित्र चयन भएका छन् । निमिभिया÷ब्राजिलबाट बडी गेम्स, स्विट्जरल्यान्ड र रुवान्डाबाट इम्फुरा, तान्जानिया÷चीनबाट तजारा र सेनेगलबाट गोल्डेन फिस चयन भएका छन् ।
तीन दिनको यो महोत्सवमा चलचित्र प्रदर्शन, अफ्रिकी खाना महोत्सव, अफ्रिकी पहिरन प्रदर्शन, नेपाली र अफ्रिकी सांस्कृतिक झाँकीका साथै नेपाली र अफ्रिकी चलचित्रबारे एक दिवसीय कार्यशाला पनि आयोजना गरिने भएको छ ।