विशाल धनगढीको ‘मार्की’ खेलाडी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत धनगढी फुटबल क्लबले राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीका रूपमा सार्वजनिक गरेको छ । टिमका लागि अरू खेलाडी र प्रशिक्षक पनि अनुबन्धको प्रक्रिया अघि बढिसकेको क्लबले जनाएको छ ।

धनगढी क्रिकेट लिग (डीसीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) को सफल आयोजनापछि सुवास शाहीले टोली खरिद गरेका हुन् । एनएसएलका लागि मार्की खेलाडी घोषणा गर्नेमा धनगढी एफसी पहिलो फ्रेन्चाइज टोली बनेको छ । एनएसएलका सहभागी सात टोलीले एक-एक खेलाडीलाई मार्की खेलाडी राख्ने प्रावधान छ । गो ड्रिमर्सका तर्फबाट सुवास शाही र विशालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

विशालले आफूले सोचेभन्दा ठूलो कार्यक्रम रहेको भन्दै ठट्यौली पारामा आफ्नो भनाइ राख्दै अन्य क्लबबाट पनि प्रस्ताव आए पनि धनगढीको प्रस्ताव र लिग जित्ने योजना चित्त बुझ्दो लागेर आबद्ध भएको बताए । उनले पूर्वको टोलीमा झापा नाम भएको भए झापाबाटै खेल्ने विराटनगर भएकाले त्यसबाट नखेल्ने निर्णय गरेको बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एन्ड एभेन्ट्स म्यानेजमेन्टले वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा एनएसएल आयोजना गर्ने जनाएको थियो । विशालले पछिल्लो समय मच्छिन्द्र क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । उनी नेपालले बंगबन्धु गोल्डकप १३औं साग र एएफसी सोलिडारिटी कप जित्दा टोलीका सदस्य थिए । २७ वर्षीय राई गत वर्ष मछिन्द्र क्लबले पहिलोपटक शहीद स्मारक ‘ए’ डिभिजन लिग जित्दा उनी उत्कृष्ट मिडफिल्डर चुनिएका थिए ।

२०६६–६७ मा मच्छिन्द्र क्लबबाटै लिगमा डेब्यु गरेका विशालले त्यसपछि ‘ए’ डिभिजनको मनाङ–मस्र्याङ्दी क्लबमा लामो समय बिताएका थिए । उनी गत सिजन मनाङ छाडेर आफ्ना् पूर्व क्लब मच्छिन्द्र पुगेका थिए । उनले मनाङबाट (२०७०–२०७५) दुईपटक र मच्छिन्द्रबाट (२०७६)मा एकपटक लिग जितेका छन् ।

उनले मोफसलबाट पनि मनाङ, झापा ११ र मच्छिन्द्रबाट थुप्रै उपाधि जितेका छन् । २०१५ अगस्ट ३१ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका विशाल त्यस यता उनी नियमित राष्ट्रिय टोलीमा रहेका छन् । उनले माल्दिभ्स, लाओस र फिलिपिन्सविरुद्ध गोल गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी