संसार सबै नराम्रो छैन । राम्रो नराम्रो परिवेश आफूले बनाउने हो । समाजले बनाउने हो । संगतिले बनाउने हो । संगति र विसंगतिको चयन आपूmले गर्ने हो । उही, उस्तै भूमि, आज सिंगापुर कस्तो छ । उही, उस्तै भूमि चीन हेरौं । इटाली, फ्रान्स, बेलायत, अमेरिका, जर्मनी, धेरै टाढा जानुपरेन दक्षिण एसियाका मुलुक भारत, श्रीलंका, बंगलादेश पनि हामीभन्दा धेरै अगाडि छन् । विश्व अर्थ व्यवस्थामा हातेमालो गर्दै अगाडि बढेका छन् । ठूलाठूला महायुद्धका बाछिटाले तिनलाई नसताएको होइन । जापान हेरौं, बमको धुँवाले हिरोसिमा, नागासाकी के भयोे ? भारत र चीनको आर्थिक वृद्धिदर हेरौं । तर, नेपालको अवस्था, दुरावस्था ! १ सय ३ वर्षको राणाकाललाई सराप्दै इतिहासको ठेली बन्यो । पछिल्ला दिनमा हिजोकोलाई आजकाले गाली गर्दै दिन बिते, आज आजैकालाई सत्तोश्राप गर्दै छन् ।
राणा शासनको पञ्जाबाट मुक्त भएको भनिएको पनि सात दशक भयो, समस्या उस्तै छन् । पोखराको फेवा, सगरमाथाको शिखर, चुच्चे नक्सासमेतले देश मोटाएको देखाइए पनि मोटाएका नेता मात्रै हुन्, जनता दुब्लाएका छन् । उही रोग, भोक, क्रन्दन, चित्कार, नाना, खाना, छानाकै समस्या छ ! सन् २०२३ देखि अल्पबाट विकासशीलको पगरी पाउने आशा पनि गयो । आफैंले अनुरोध गर्दा तीन वर्षपछि धकेलिँदै सन् २०२६ लाई सार्ने प्रयास भइरहेको छ । यसका लागि पर्याप्त बहाना कोरोना बन्यो, सन् २०१८ मै विकासशीलमा परिणत हुनुपर्नेमा भूकम्प २०७२ बहाना बनेको थियो । भोलि बहाना अरू थपिन सक्छ । अति गरिब भएकै कारण अन्तर्राष्ट्रियस्तरमा निकासी सामानमा कर, भंसार छुट, अनुदान, सहुलियत ऋण लिन त सजिलो पर्ला तर हाम्रो निकासी नै के छ र ? १४ खर्बको आयात हुँदा १ खर्ब बराबरको सामान निकासी हुन धौधौ परेको छ ।
स्तरोन्नति हुँदा प्रतिष्ठा बढ्थ्यो होला तर भोकका अगाडि इज्जत फिका हुन्छ । संसारका अगाडि गरिबै भनेर चिनिइरहँदा, नेताहरूको अरबी अमीरको जीवनशैली, भद्दा राजनीतिक संयन्त्र, विलासी जीवनलाई के भन्ने ? जति जोगी आए पनि सबै कान चिरिएका भन्दै आम जनसमुदाय निराशाको कालो बादलमा मडारिरहेको छ । प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्र आखिर नाम फेरिए, बानी व्यवहार फेरिएन कसैको ! सत्ताको स्वादमा रमाउनेहरू हिजोको बोनसमा रुमल्लिँदै छन्, विदेश सयर गर्दै उपचार गराउँदै छन् । आम नागरिकले ढिँडो, पिठो पेटभरि खान पाएका छैनन् । स्वास्थ्य, शिक्षा महँगो छ । एउटा एपेन्सिाइडको उपचार गर्दा एउटा गरिब भर्खरै १ लाख ऋणको मारमा परेको प्रत्यक्ष उदाहरण देखेको छ, पंक्तिकारले ।
प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्र आखिर नाम फेरिए, बानी व्यवहार फेरिएन कसैको
हामी कहिल्यै अर्काको स्वाधीनता स्वीकार नगरेको भन्छौं । सानो आकारको मुलुक सिंगापुरले छिमेकी मुलुक मलेसियाबाट सन् १९६५ मा मुक्ति पायो । लामो समयसम्म अर्काको स्वाधीनतामा रहेको उसले अहिले देखाएको प्रगति विश्व बजारमा लोभलाग्दो छ । सन् १९६० को दशकसम्म विश्वको सबैभन्दा गरिबमा गनिने मुलुक सिंगापुरको कायापलट भएको छ अहिले । समृद्ध राष्ट्रको रूपमा चिनिन त्यस देशको नेता गतिलो हुनुपर्ने रहेछ । समृद्ध मुलुक सिंगापुरमा सन् १९५९ देखि १९९० सम्म प्रधानमन्त्री ली कुआनले सत्ता सञ्चालन गरे । उनले त्यहाँ कडाइका साथ कानुनलाई स्थापना गराए । हामीकहाँ जस्तो अध्यादेश ल्याउँदै फर्काउँदै आफैं संसद् बन्द गर्दै, फेरि खोल्दै गरिँदैन । हामी कहाँ जस्तो धुलाम्मे सडक छैन त्यहाँ, हिलो, मैलो कतै भटिन्न । गाडीको आफ्नै गति छ, सडकमा ट्राफिक प्रहरी देखिँदैन ।
त्यहाँ भएका गगनचुम्बी महलले विश्वकै मन खिचेको छ, छिमेकी हङकङ सहर र न्युयोर्कको म्यानहाटभन्दा कम छैन यो । विश्वकै लगानी आकर्षित मुलुक बनेको छ । यहाँ आफ्नो प्राकृतिक स्रोत छैन, समुद्रपारि रहेको मलेसियाबाट पानीको आपूर्ति हुन्छ । बाटाघाटाका धाराबाट सजिलै पानी पिउन सकिन्छ । पानीको अपार भण्डार भएका हामी मेलम्चीको राजनीति गर्न खप्पिस छौं । पानीमा मात्रै होइन, यहाँ सडक, मल, दल चिह्न, हरेक मान्छे र उसको सबै परिवेशमा राजनीति हुन्छ । पानीको धनी देशमा बिजुलीको भाउ यहीँ सही नसक्नु छ । सातामा दुईपटकसम्म इन्धनको भाउ बढ्छ । जनता दलका दास बनेका छन् । मासुभातकै लागि सडकमा पोखिन्छन् । नेतामा न भिजन छ, न मिसन वा एक्सन नै । यदि यी तीन तत्व छन् भने सत्ता स्वादमा मात्रै । उद्घाटन नै उद्घाटनले पूर्वदेखि पश्चिमसम्मै दिनदिनैको दौडाहा प्रतियोगिता भइरहन्छ । त्यसैक्रममा आकाशमा जहाज र सडकमा रमिता हेर्दै जनता अघाउँछन् ।
औद्योगिक क्षेत्रमा भारत र चीनबाट हामीले लाभ लिन सकेनौं । दलहरूले राजनीतिक लाभ भने लिए । चीनमा माओत्सेतुङले कम्युनिस्ट क्रान्ति गरे । यता सन् १९५० मा चीनको अर्थतन्त्र जापानको भन्दा ४९ प्रतिशतले ठूलो थियो । सन् १९७७ तिर देङ सियायो पिङले चीनमा खुला बजार नीति ल्याए । त्यतिबेलासम्म जापानको अर्थतन्त्र अकासिएर चीनको भन्दा ३३ प्रतिशतले ठूलो भयो । अहिले उत्पादन र निर्यातमा चीन विश्वमा एकछत्र रजाइँ गर्दै छ । सन् १९४९ देखि १९७८ सम्म चीन जनवादी गणराज्य तत्कालीन सोभियत संघको शैलीमा केन्द्र नियन्त्रित अर्थव्यवस्थामा थियो ।
त्यतिबेलासम्म निजी व्यापार र पुँजी बजारलाई स्थान थिएन । औद्योगिक साम्यवादका लागि माओले दीर्घकालीन अर्थव्यवस्था स्थापना गरे । पछि देङ सियाओ र अझ पछिका नेतृत्वले थप सुधार गरे । १९७८ पछि निजीकरण सुरु भयो । पश्चिमी मुलुकका शैलीमा उद्योग स्थापना हुन थाले । १९७८ पछिको आर्थिक उदारीकरणले हालको आर्थिक आकार ९० प्रतिशतले बढेको छ । चीनको अर्थतन्त्रले सन् २०१० मै जापानलाई उछिन्यो । उसले बेलायत र जर्मनीलाई त सन् २००५ मै उछिनिसकेको थियो । हामीले उत्तरतिरको यस्तो समृद्धिलाई वासनासम्म पनि लिन सकेनौं । भारतको रहर लाग्दो अर्थिक विकास हेर्दा संसार चकित छ ।
संसद् ब्युँतिए पनि जनताका जनजीविकाका विषयमा बहस हुन नसकी नाराबाजी र शक्तिसंघर्षमै अल्मलियो
भूगोलको हिसाबले ठूलो भएरै उसले संघीयता रोजेको हो । स्वाधीनतापछि उसको अर्थतन्त्रको सुरुवात कृषिबाटै भएको हो । हाल केही दशक यतादेखि निर्माण र सेवा क्षेत्रमा ऊ अगाडि छ । भारतीय अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ६० प्रतिशत पुगेको छ । सेवा क्षेत्रबाटै २८ प्रतिशत रोजगारी अवसर प्राप्त छ । कृषि क्षेत्रको योगदान १७ प्रतिशतमा झरेको छ र पनि पश्चिमी मुलुकका दाँजोमा राम्रो पछ हो यो । धेरै भएर पनि जनसंख्या अनुकूल छ, मध्यमवर्गको उत्थान छ र सीमित आयात । त्यहाँ धनी पनि छन् र गरिब पनि । गरिबलाई बाँच्न असजिलो छैन ।
अमेरिका विश्वकै आर्थिक महाशक्ति राष्ट्र हो । सन् १८७१ देखि एकछत्र विश्वकै एकलौटी अग्रणी अर्थतन्त्रलाई अँगालो हालेको छ अमेरिकाले । औद्योगिक उत्पादनलगायत सेवा क्षेत्रबाट पनि उसले कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशत स्थान ओगटेको छ । औद्योगिक उत्पादन मात्र १५ प्रतिशतमा सीमित छ । यहाँ पुँजीवादी मिश्रित अर्थव्यवस्था छ । प्रचुर प्राकृतिक सम्पदाहरू छन् । उच्च उत्पादकत्वको दर छ । संसारकै आर्थिक राजधानी बनेको छ । यो देश र चीनसँग व्यापार प्रतिश्पर्धा गर्दै छ । झन्डै साँढे पाँच लाखलाई कोरोनाले निल्दा पनि अमेरिकाले आप्mनो अर्थतन्त्रलाई, विकासको चुम्बनलाई चम्काइरह्योे, कोही कसैसँग गलेन ।
भिक्षार्र्थी पनि बनेन, पहिचानलाई गुमाएन । राजनीतिक संयन्त्रहरूमा देशको पक्षमा बहस हुन्छ, निचोड निस्कन्छ, भिजन, मिसन र एक्सनका साथ काम हुन्छ । हाम्रो संसद् खुल्छ, भत्ता र सत्ताका लागि । सरकार बनाउने, सरकार पल्टाउने अंक गणितीय खेलका लागि र संसद् नखुल्दा पनि तलब, सुविधामा कटौती हुन्न । यही छ फरक हुने खाने र हुँदा खानेको अनि विकासशील, विकसित र दरिद्रताले छाएको अल्पविकसितको । त्यसैले कोही मोटाए धेरै, कोही दुब्लाएर सिकुटे भए भन्नुपरेको हो । संसद् ब्युँतिएको छ तर जनताका जनजीविकाका विषयमा बहस भएन । कहिले नाराबाजीमै बन्द भयो त, कहिले केवल शोक प्रस्तावमै सीमित बन्यो । शक्तिसंघर्षमा मात्रै संसद् अलमलिएको छ । जनताको दैनिकी कष्टकर बनेको छ ।