लन्डन । इग्लिस क्लब चेल्सी र जर्मनी क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । बिहीबार बिहान सम्पन्न खेलमा चेल्सीले स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई पराजित गरेको हो भने बायर्न म्युनिखले इटलीको क्लब लाजियोलाई पराजित गरेको क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
इंग्लिस क्लब चेल्सीले घरेलु मैदान स्टामफर्ड ब्रिजमा स्पेनी टोलीलाई २–० ले पराजित गर्दै चेल्सीले समग्रमा ३–० को जित दर्ता फरेको हो । चेल्सीले पहिलो लेगमा १–० को जित हात पारेपछि दोस्रो लेगमा जित हासिल गर्दा हाकिम जिएच र एमर्सन पाल्मेरीले १–१ गोल गरे । खेलको ३४ औं मिनेटमा टिमो वेर्नरको पासमा जिएचले गोल गरेका थिए । चेल्सीमा प्रशिक्षक थोमस टुचेलको आगमनसँगै टोली लयमा फर्किएको छ ।
टुचेलले खेलाएको १३ खेलमध्य अपराजित रहेको टोलीले ११ खेलमा कुनै गोल खाएको छैन । यता ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको भने च्याम्पियन्स लिगबाट बाहिरिएपछि अब रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै लिग उपाधि जित्ने ध्यानमा रहनेछ ।
पछिल्लो दशक दुई पटक फाइनल पुगेको टोली यसपटक क्वाटरफाइनलमा पनि पुग्न सकेन । यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब लाजियोलाई २–१ गोलले पराजित गरेको छ ।
पहिलो लेग ४–१ ले जितेको बार्यन जितसँगै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । यसअघि रियल मड्रिड र म्यानचेस्टर सिटी पनि क्वार्टरफाइनलमा पुगिसकेको छन् ।