बर्दिया । बर्दियामा दुई दिनको अवधीमा २ वटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्ग क्षेत्रमा केही महिना अघिदेखि आतंक मच्चाइरहेको एउटा पाटेबाघलाई बिहीबार नियन्त्रणमा लिइएको छ । भने बुधबार गेरुवा गाउँपालिका– ४ गोला सामुदायिक मध्यवर्ती वनबाट अर्को बाघलाई नियन्त्रणमा लिइएको थियो । बिहीबार खाता जैविक मार्गमा पर्ने मधुवन नगरपालिका ३ मा रहेको गौरी महिला सामुदायिक वन क्षेत्रबाट एउटा बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका सुचना अधिकारी दोर्णराज शर्माका अनुसार वयस्क भाले पाटेबाघलाई डार्ट गरि (लठ्याउने प्रविधी) नियन्त्रणमा लिइएको हो । डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले बाघलाई डार्ट गरेको हो । यो बाघले केही महिनादेखि खाता जैविक मार्ग आसपासमा आतंक मच्चाउदै आएको थियो । बाघले गाउँका पशुचौपायासँगै मानिसलाई पनि आक्रमण गर्न थालेपछि वन कार्यालय र निकुञ्जको टोलीले सामुदायिक वनमा क्यामरा जडान गरि बाघको खोजी गरिरहेका थिए ।
यसैगरि बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ मा रहेको गोला सामुदायिक मध्यवर्ती वनबाट बर्दिया राष्टिय निकुञ्ज र प्रकृति संरक्षण कोषको संयुक्त टोलीले बुधबार एउटा पाटेबाघलाई नियन्त्रणमा लिएको थियो । निकुञ्जले नियन्त्रणमा लिएको बाघ समस्या ग्रस्त अवस्थामा रहेको निकुञ्ज भनाई छ । प्रारम्भिक अध्ययन्बाट यो बाघको दात भाँच्चिएको र खुट्टाको नंग्रामा समेट चोट देखिएको निकुञ्ज स्रोतले जनाएको छ । यो बाघले मध्यवर्ती क्षेत्रको गेरुवा गाउँपालिकाका विभिन्न गाउँका गाईबस्तु भने मारेको पाइएको निकुञ्जले जनाएको छ । बाघ बुढो र अशक्त रहेकाले यसलाई मान्छे मार्ने नरभक्षी बाघ भन्न नमिल्ने निकुञ्जको तर्क छ ।
दुई दिनको अवधीमा नियन्त्रणमा लिइएका दुबै बाघ यतिखेर निकुञ्जको खोरमा छन् । खाता जैविक मार्गबाट नियन्त्रणमा लिइएको बाघलाई बाँके निकुञ्जको खोरमा राखिएको छ । भने बुधबार गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिइएको बाघलाई बर्दिया निकुञ्जको रम्मापुर पोष्टमा रहेको खोरमा राखिएको छ । बर्दिया राष्टिय निकुञ्जको मुख्यालय ठाकुरद्धारामा बाघ थुन्नका लागि एउटा मात्र खोर रहेको र त्यँहा यस अघिदेखि नै एउटा बाघ थुनिएकोले अन्यत्र लगिएको निकुञ्जले जनाएको छ ।
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज मध्यवर्ती क्षेत्रसँग जोडिएका सामुदायिक वनमा बाघको त्रास बढेको छ । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग, निकुञ्ज भित्र र निकुञ्जसँग जोडिएका सामुदायिक वन क्षेत्रमा बाघले धमाधम मान्छेलाई मार्न थालेपछि स्थानिय त्रसीत भएका छन् । पछिल्लो करिव ९ महिनाको अवधीमा निकुञ्ज तथा सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणमा परि ९ जनाको ज्यान गइसकेको छ । निकुञ्ज भित्र, निकुञ्ज मध्यवर्ती क्षेत्र र मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा बाघको आक्रमण बढन थाले पछि स्थानियबासीमा त्रास पनि बढेको छ । अप्रत्यशित ढंगबाट बाघको आक्रमण बढ्दै गएपछि निकुञ्ज प्रशासनले बाघको निगरानी पनि बढाएको जनाएको छ ।