ओलीले पार्टीको नेतृत्व गरेनन्, गुटको नेतृत्व गरे : प्रचण्ड

सिन्धुली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका नेता माधव नेपालको समूहसँग संसद विघटन विरुद्धको आन्दोलनमा सहकार्य भएको र एउटै भाषा, एउटै एजेन्डा बोलेका कारण उक्त सहकार्य कायम रहेको बताए । उनले अदालतले पूर्व अवस्थामा पुराईदिएपछि माधव नेपालहरु एमाले भएको र आफुहरु माओवादी भएको भए पनि विचारको राजनीति एकै रहेको बताए ।

उनले नेकपा एमालेभित्र वहस हुनुलाई स्वभाविक भनेका छन । प्रचण्ड निकट प्रेस संगठन नेपाल सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । ‘एमालेभित्र बहस हुनुलाई अस्वभाविक ठान्दिन । केपी जीले स्वेच्छाचारी ढंगले जे गर्दै आउनु भएको छ, माधवजीहरुको संघर्ष त्यहिं हो ।’ प्रचण्डले भने । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले केपी ओलीले एमाले पार्टीको नेतृत्व नगरेको र गुटको नेतृत्व गरेको आरोप लगाए ।

‘केपी गुटको नेतृत्व गर्नु भएको छ । केपी जीले गरेको निर्णयले सबैलाई आश्चर्य बनाएको छ ।’ केपी ओलीले गरेको पछिल्लो जिम्मेवारीको हेरफेरलाई इंगित गर्दै उनले भने, ‘सत्य न्याय, सहि विचार विधिको जीत होस भन्ने चाहान्छौं तर त्यहाँ भित्र हस्तक्षेप गर्ने कुरा गरेको छैन ।’

वृहतर कम्युनिष्ट एकता अहिले पनि आफ्नो चाहना रहेको बताउँदै प्रचण्डले माधव नेपाल पक्षका एमालेका नेताहरुलाई पार्टी एकता गर्न अघि बढ्न आग्रह गरे । प्रचण्डले भने, ‘एमालेका साथिहरुलाई कम्युनिष्ट पार्टी एकता गर्न अघि वढ्न आग्रह गर्दछु । मलाई विश्वास छ माधव जी लगाएतका सबै इमान्दार एमालेका नेताहरु एकताको प्रक्रियामा आउनेछन ।’

‘पार्टी एकीकरण भंग हुनुमा केपी ओली दोषी रहेको बताए । पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाईएका व्यक्तिबाट नै दुर्घटना गराउने काम भयो । पार्टीभित्र बहस, विवाद, मतमतान्तर, अन्तर संघर्षहरु भइनै रहन्छन तर संविधानमाथि नै घात भयो । सार्वभौमसत्ता जनताले बनाएको संविधानमाथि घात भयो, यो निकै पीडादायक कुरा थियो ।’ उनले भने ।

जनयुद्धको तयारीका बेला २७ वर्ष अघि सिन्धुलीमा रहेको हरिवोल गजुरेलको घरमा बसेका प्रचण्डले त्यतिबेलाको समयको स्मरण गर्न सिन्धुली आएको र त्यहि घरमा बसेको बताएका छन । अनौपचारिक रुपमा सिन्धुली आउनुको कारण र २७ वर्ष अघिकै घरमा बास बस्नुको कारण भने उनले खुलाएका छैनन । तर उनले लोकतन्त्र, समावेशी र समानुपातिकताका विरुद्ध र संविधानका विरुद्ध षड्यन्त्र नरोकिएको बताए । प्रचण्डले केपी ओलीको मनसाय लोकतन्त्र सिद्धाएरै छोड्ने, महिलाहरु, दलित जनजातीहरु, मधेशीहरुलाई, थारुहरुलाई, मजदुर किसानहरुलाई केहि मौलिक अधिकार दिईएको संविधान मिचेरै छाड्ने रहेको दावी समेत प्रस्तुत गरे । उनले भने, ‘केपी जीको दुस्साहस पुरा हुदैन । हामी त्यसका विरुद्ध जुनसुकै संघर्ष गर्न पनि तयार छौं ।’

पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस, जसपा लगाएतका दलहरुसँग वार्ता भईरहेको र छिट्टै प्रधानमन्त्रीको टुंगो लाग्ने समेत बताए । उनले भने, ‘अबको प्रधानमन्त्री जसकोमा सहमति हुन्छ उहि हुन्छ । हाम्रो पार्टीबाटै वा मै हुनुपर्छ भन्ने छैन । तर सहमति त्यति टाढा छैन । वार्ता चलिरहेको छ । छिट्टै निश्कर्षमा पुग्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी