विश्वव्यापी रूपमा नै कर्मचारी कामदारको काम र पारिवारिक सम्बन्धबीच द्वन्द्वको विषय आधुनिक संगठनमा चुनौतीका रूपमा रहेको छ । सार्वजनिक होस् वा निजी होस् वा स्वरोजगारी संगठनमा काम गर्ने कर्मचारी होस् उसमा घर र अफिसको भूमिकाबीच अनपेक्षित द्वन्द्व पाइने गरेको पाइन्छ । यस प्रकारको द्वन्द्व आधुनिक संगठनमा प्रस्ट देख्न सकिन्छ । कर्मचारीमा पाइने काम र परिवारको भूमिकाबीच पाइने (वर्क–फेमिली कन्फ्ल्क्टि) द्वन्द्वले एकातर्फ संगठनका कर्मचारीको उत्पादकत्व, उत्प्रेरणा र मनोबल घटाउँछ, कर्मचारी अफिसमा गयल हुने प्रवृत्ति देखिन्छ र संगठनको समग्र प्रभावकारितामा ह्रास ल्याउँछ भने अर्कोतर्फ कर्मचारीको परिवारमा द्वन्द्व बढाउँछ र कर्मचारी मानसिक तनावमा पर्दछ, जसले समग्रमा पारिवारिक अशान्ति निम्त्याउँछ । यसकारण कर्मचारीमा पाइने काम र परिवारको भूमिकाबीचको द्वन्द्व र त्यसको संगठनमा पर्ने नकारात्मक प्रभाव आधुनिक संगठनको धारिलो चुनौती बन्न पुगेको छ ।
कर्मचारीमा पाइने काम र परिवारको भूमिकाबीच द्वन्द्वको सुरुआत मानव सभ्यताको उषाकालदेखि नै भएको हो । प्राचीन समयमा मानिस समूहमा बस्दथ्यो र समूहमा नै जनावरको सिकार गर्दथ्यो र खान्थ्यो । जब मानिसले खेतीपाती गर्र्न जान्न थाल्यो, तब मानिस घर परिवारमा बस्न थाल्यो र परिवारको विकास भयो । परिवार भनेको एकाघरका सदस्य भएको समूह हो भने काम भनेको शारीरिक र मानसिक प्रयत्नद्वारा केही बनाउनु वा उत्पादन गर्नु हो । परिवार कामका लागि मानव श्रमको स्रोत हो भने काम मानव जीवन बाँच्न गर्नुपर्ने अनिवार्य प्रयत्न हो । औद्योगिक क्रान्तिपछि विश्वभर काम गर्ने वातावरणमा आमूल परिवर्तन आयो । लोग्ने मानिस परिवारलाई गाउँमा छोडेर कामको खोजीमा सहर पस्न थाले । कामको लागि परिवार विभाजन प्रारम्भ भयो । यस प्रवृत्तिलाई नै कर्मचारीमा पाइने काम र परिवारको भूमिकाबीच द्वन्द्वको बीजारोपण मान्न सकिन्छ । वर्तमान स्यान्डविच जेनेरेसन (पुस्ता) काम गर्ने स्थानबाट सहरमा रहेका बालबच्चा र गाउँमा रहेका बाबुआमाको हेरचाह गर्न बाध्य भइरहेका छन् ।
कर्मचारीमा पाइने काम र परिवारको भूमिकाबीच सम्बन्ध अन्तर्निर्भर, अन्तरसहयोगी र अन्तर्सम्बन्धित हुन्छ भने दुईबीच निरन्तर अन्तक्र्रिया पनि भइरहेको हुन्छ । काम र परिवारबीचको सम्बन्ध आपसमा अन्तक्र्रिया गर्ने भएकाले कुनै बेला पारिवारिक घटना र अवस्थाले कार्यालयको काममा र कुनै बेला अफिसको बोझले घरको जिम्मेवारी निभाउन कठिन बनाएको हुन्छ । कर्मचारीमा पाइने काम र परिवारबीचको सम्बन्धले कुनै समय एकअर्कोलाई मजबुत, सफल बनाउँछ भने कुनैबेला कमजोर र असफल पनि बनाउँछ ।
समयको परिवर्तनसँगै काम र परिवारबीचको सम्बन्ध पनि परिवर्तन हुँदै गएको छ । पहिले पहिले काम लगाउनेको घर वा व्यवसायमा बिहानदेखि बेलुकासम्म काम गर्नुपर्दथ्यो । घडीको आविष्कार र काम गर्ने घण्टा तोकिएपछि काम गर्न सजिलो भयो । अहिले कम्प्युटरको आविष्कार, मोबाइलमा आधारित नेटवर्क प्रणालीले काम गर्ने वातावरण र प्रक्रिया झन् बदलिएको छ । अबेरसम्म अफिसमा बसेर काम गर्ने (ओभर टाइम) कर्मचारीलाई मोबाइल नेटवर्कले हाकिमको छायाले घरसम्म नै पछ्यारहने परिस्थितिको विकास भएको छ । कर्मचारीले कामबाट कुनै पनि बेला फुर्सद नपाउने अवस्था सिर्जना भएकोले द्वन्द्व र तनाव झन बढेको छ ।
संगठनको काम र घरको काम सम्पन्न गर्ने भूमिकाबीच पाइने द्वन्द्व र सन्तुलन कायम गर्न संघीय निजामती सेवा ऐनको तर्जुमा गर्दा यस प्रावधानलाई समेट्नु उचित हुनेछ
ग्रिनहस र ब्युटेलले काम र परिवारको भूमिकाबीच द्वन्द्व भूमिका सन्तुलन गर्न नसक्नुले गर्दा आउँछ भनेका छन् । कुनै त्यस्तो भूमिका निभाउनुपर्ने हुन्छ, जुन भूमिका अर्को भूमिकासँग सन्तुलन गर्न नै सकिँदैन, जसले द्वन्द्व निम्त्याउँछ । विद्वान्हरूले काम र परिवारको भूमिकाबीच पाइने द्वन्द्व तीन किसिमका हुने बताएका छन् । पहिलो, समयमा आधारित द्वन्द्व हो । एउटा भूमिका सम्पादन गर्न दिएको समयमा अर्को भूमिका निर्वाह गर्न नै सकिँदैन, जसले गर्र्दा द्वन्द्व आउने गर्दछ । दोस्रो, तनावमा आधारित द्वन्द्व हो । एउटा भूमिका निभाउँदा उत्पन्न हुने तनावले अर्को काम सम्पादन गर्न बाधा पु¥याउँछ भने त्यसलाई तनावमा आधारित द्वन्द्व भनिन्छ । तेस्रो, व्यवहारगत (बानी)का कारण आउने द्वन्द्व हो । कर्मचारीले समय व्यवस्थापन गर्न नसक्ने बानी, कामको प्राथमिकीकरण गर्न नसक्ने क्षमता र जिम्मेवारी निभाउन सक्ने गरी क्षमता विकास नगर्नाले व्यवहारगत द्वन्द्व ल्याउँछ ।
संगठनात्मक काम र कर्मचारीको परिवारको द्वन्द्वका क्षेत्रमा भएका अध्ययनले काम र परिवारको भूमिकाबीच हुने द्वन्द्वका महŒवपूर्ण कारण पहिचान गरेका छन् । द्वन्द्वका कारण समय र परिवार सम्बद्ध छन् । संगठन सम्बद्ध कारणमा घरदेखि पर हुने पदस्थापन र सरुवा, वृत्ति विकासका अवसरको अभाव, संगठनात्मक अवसरको वितरण र कार्यालयले उपलब्ध गराउने सुविधा वितरणमा भेदभावलाई लिन सकिन्छ । त्यस्तै, परिवार सम्बद्ध कारणमा परिवारको आवश्यकता र माग तथा कर्मचारीको आयबीच रहने असमानता, छोराछोरी र बाबुआमाको हेरचाह गर्नुपर्ने जिम्म्ेवारी, छोराछोरीको महँगो पढाइ खर्च, कमजोर समय व्यवस्थापन, ढिलो गरी घर पुग्ने र घरमा पनि अफिसको काम गर्ने बानी तथा थकाइका कारण श्रीमान्–श्रीमतीबीच द्वन्द्वपूर्ण सम्बन्ध विकास हुने स्थिति पर्दछन् । दुवै कारणले कर्मचारीमा तनाव सिर्जना गर्ने, कार्यालयमा बस्न मन नलाग्ने तथा कर्मचारीको उत्पादकत्वमा ह्रास आउने र अन्ततः पारिवारिक सम्बन्ध बिग्रने तथा संगठनको प्रभावकारितामा नकारात्मक प्रभाव पर्ने देखिन्छ ।
हरेक कर्मचारी आफ्नो संगठनमा धेरै योगदान गर्न र आफ्नो परिवारलाई खुसी राख्न चाहन्छ । काम र परिवारका जिम्मेवारी पूरा गर्न उपलब्ध समयलाई सन्तुलित रूपमा विभाजन गर्न नसक्दा भने कर्मचारी तनावमा पर्ने गर्दछ । तनावको तीव्रता बढ्दै गयो भने कर्मचारी डिप्रेसनमा जाने वा कार्यालय छोड्ने वा आत्महत्या गर्नेजस्ता गम्भीर परिणाम पैदा हुने गर्दछ, जसको नकारात्मक परिणाम परिवार र संगठन दुवैले भोग्नुपर्ने हुन्छ । काम र पारिवारिक सम्बन्ध सन्तुलित, मर्यादित र हार्दिक राख्नका लागि विद्वान्ले सिद्धान्तः प्रतिपादन गरेका छन् । बाउन्ड्री, सीमा (बोर्डर) र इनरिच तीन सिद्धान्तले काम र परिवारबीच सम्बन्ध सुधार गर्ने सम्बन्धमा धारणा प्रस्तुत गरेका छन् ।
बाउन्ड्री सिद्धान्तले कर्मचारीले एकैसाथ कार्यालय र परिवारको जिम्मेवारी निभाउनुपर्ने हुन्छ । यस्तो बेलामा कर्मचारीले समय व्यवस्थापन गर्र्दै एक कामबाट अर्को काममा आफूलाई लैजानुपर्छ भन्ने पक्षमा जोड दिन्छ । बोर्डर सिद्धान्तले कर्मचारीले काम र पारिवारिक जिम्मेवारीबीच प्राथमिकीकरण गर्दै काम र परिवारको भूमिकाबीच सीमारेखा खिच्न जोड दिन्छ । इनरिचमेन्ट सिद्धान्तले काम र परिवारबीच जहिले पनि अमिल्दो सम्बन्ध हुँदैन । खास व्यवहारमा एकले अर्कोलाई सहयोग गरिरहेका र सशक्त बनाइरहेका हुन्छन् । एउटा भूमिकाबाट प्राप्त स्रोतसाधन, ज्ञान क्षमता र सीपलाई अर्को भूमिका प्रवद्र्धन गर्न खर्चिने हो भने कर्मचारीमा द्वन्द्व पैदा हुँदैन भन्ने तर्क इनरिचमेन्ट सिद्धान्तले दिएको छ ।
काम र परिवारसम्बन्धी भूमिकामा सन्तुलन कायम गर्नु आधुनिक संगठनमा काम गर्ने प्रत्येक कर्मचारीको जिम्मेवारी बनेको छ भने संगठनले कर्मचारीको काम र परिवारसम्बन्धी भूमिका सन्तुलित रूपमा निभाउनका लागि राम्रो वातावरण बनाउन आवश्यक हुन्छ । ‘काम र परिवारसम्बन्धी सन्तुलित भूमिकाको मतलब ५० प्रतिशत समय परिवार र ५० प्रतिशत समय कामलाई छुट्याउनु भन्ने होइन । काम र परिवार सम्बन्ध सन्तुलित राख्नु भनेको एउटा भूमिका निर्वाह गर्दा अर्को भूमिकालाई बाधा नपर्नेगरी कार्य सम्पन्न गर्नु हो । अर्थात् कार्यालयको प्रभावकारिता बढाउन योगदान गर्न खोज्दा पारिवारिक सुखलाई बाधा नपर्नेगरी समय मिलाउने र पारिवारिक सुखका लागि काम गर्छु भन्दा कार्यालको प्रभावकारितामा आघात नपुग्नेगरी काम गर्नु हो ।’
काम र परिवारबीचको सम्बन्ध आपसमा अन्तक्र्रिया गर्ने भएकाले कुनै बेला पारिवारिक घटना र अवस्थाले कार्यालयको काममा र कुनै बेला अफिसको बोझले घरको जिम्मेवारीमा कठिनाइ ल्याउँछ
काम र परिवारसम्बन्धी भूमिकाबीच सन्तुलन कायम गर्न नसक्दा उत्पन्न हुने द्वन्द्वको परिणामले आधुनिक संगठन नराम्ररी प्रभावित हुने गरेका छन् भने पारिवारिक शान्ति र सुख पनि नराम्ररी बिग्रेको पाइन्छ । केही युरोपेली देशले कर्मचारीलाई ‘राइट टु डिस्कनेक्ट’को अधिकार उपलब्ध हुने कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । ‘राइट टु डिस्कनेक्ट’सम्बन्धी अधिकारले कर्मचारी कार्यालय समयभन्दा बाहिर हाकिमको फोन कल उठाउन वा इमेलको जवाफ पठाउन बाध्य हँुदैन । जसले गर्दा कर्मचारी आफ्नो समय परिवारसँग बिताउन स्वतन्त्र हुन्छ । तर, यसले संगठनको कार्यसम्पादनमा भने नकारात्मक प्रभाव पर्न सक्छ भन्ने विज्ञहरूको मत रहेको छ ।
काम र परिवार सम्बन्धलाई सन्तुलित राख्नु आजको संगठनात्मक युगमा संगठन, कर्मचारी स्वयं, कर्मचारीको सुपरिवेक्षक, कर्मचारीका साथी, कर्मचारीको परिवार र कर्मचारी समाजको अहं र गहन जिम्मेवारी बनेको छ । संगठनले कर्मचारीको पदस्थापन र सरुवा गर्दा कर्मचारीको पारिवारिक समस्यालाई बुझ्ने, वृत्ति विकास अवसर र संगठनात्मक सुविधा वितरणमा भेदभाव नगर्ने, कर्मचारीको तनाव कम गर्न संगठनमा आध्यात्मिकताको अभ्यास गर्ने र काउन्सेलिङ तालिम दिने तथा लेट नाइट अफिस बसेर काम गर्ने अवस्थाको न्यूनीकरण गर्ने व्यवस्था गर्न सक्दछ ।
कर्मचारी स्वयंले आफ्नो समय र कामको प्राथमिकीकरण गर्ने तथा आफ्नो बानी व्यहोरा अनुशासित बनाई बिदा वा फुर्सदको समयमा परिवारसँग बिताई परिवारलाई खुसी राख्नुपर्दछ भने कार्यालयमा रहँदा कार्यालयको काम इमानदारीसँग पूरा गर्नुपर्दछ । कर्मचारीको परिवारले पनि आफ्नो श्रीमान् वा श्रीमतीको कामको स्वभावअनुसार सहयोग गर्नुपर्दछ भने क्षमताअनुसारको मात्र माग गर्नुपर्दछ । संगठनमा रहेका कर्मचारीको सुपरिवेक्षकले आफ्नो मातहत कर्मचारीको पीरव्यथा बुझ्ने भएकाले कर्मचारीको काम र परिवारबीचको सम्बन्ध सन्तुलित राख्न मद्दत गर्न सक्दछ भने साथीले पनि सहयोग गर्न सक्दछन् । कर्मचारीसँग सम्बद्ध संघसंगठन तथा पेसागत संगठनले कर्मचारीको काम र पारिवारिक जीवनलाई रमाइलो बनाउन सहयोग गर्न सक्दछन् ।
यर्सथ, सबै सरोकारवालाले आफ्नो जिम्मेवारी र भूमिका इमानदारी साथ निभाउने हो भने कर्मचारी कामदार वा व्यवसायीलार्ई काम र परिवारसम्बन्धी भूमिका सन्तुलित रूपमा निभाउन सहज हुन्छ । साथै, वर्तमान विश्वमा आइरहेको संगठनको काम र परिवारको काम सम्पन्न गर्न पूरा गर्नुपर्ने भूमिकाबीच पाइने द्वन्द्व र सन्तुलन कायम गर्नुपर्ने आवश्यकतालाई महसुस गरी संघीय निजामती सेवा ऐनको तर्जुमा गर्दा यस प्रावधानलाई समेट्नु उचित हुने देखिन्छ ।