सिद्धार्थ गौतम (बुद्ध) राजा शुद्धोधन र मायावतीको कोखबाट नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनको दर्शन गर्न आएका ऋषिका अनुसार यी बालकले बुद्धत्व प्राप्त गर्ने भविष्यवाणी राजा शुद्धोधनलाई सुनाउँछन् । उनको न्वारान गरियो । न्वारानमा सम्मिलित १ सय ८ जना पण्डितमध्ये सबैभन्दा कान्छा कौडण्य नामक पण्डितले भने, ‘महाराज यी बालक सर्वअर्थ सिद्ध गरेर बुद्ध नै हुनेछन् ।’ सर्वअर्थ सिद्ध गर्न सक्ने अर्थमा पण्डितले यी बालकको नाम ‘सर्वार्थसिद्ध’ राखे र अर्थसिद्ध गर्ने हुनाले पछि उनलाई ‘सिद्धार्थ’ भनियो । ज्योतिष र पण्डितले गरेका अर्को भविष्यवाणी थियो । ‘यदि राजकुमार गृहस्थाश्रममा नै रहे भने अद्वितीय चक्रवर्ती सम्राट हुनेछन् ।’
राजकुमार सिद्धार्थ जन्मिएको सातौं दिनमा उनको ममतामयी माता मायादेवीको मृत्यु भयो । अब यिनको सम्पूर्ण भरणपोषण र पालनपोषणको दायित्व अर्की रानी प्रजापति गौतमीको भयो । जन्मैदेखि राजकुमारले विचित्रका लक्षण देखाउन थालिसकेका थिए । समय बित्दै गयो । स्कुल जान थाले । वेदवेदान्तबाट दीक्षित भए । धार्मिक र दार्शनिक अध्ययनमा धेरैभन्दा धेरै गहनता ल्याउँदै गए । उनी सर्वसाधारणसँग ज्यादाभन्दा ज्यादा घुलमिल हुन थाले । राजकुमारको सम्बन्ध सन्न्यासीको जीवनीतर्फ आकर्षित हुँदै थियो किनकि यी सन्न्यासीलाई भौतिक पदार्थहरू वा उच्च सामाजिक प्रतिष्ठाको कुनै चिन्ता नै नभएको उनले पाइरहेका थिए । उनले ‘दरबारिया अधिकारीमा पदलोलुपता अत्यधिक भएको देखिरहेका थिए । राज्यमा असमानता र गरिबीविरुद्धको असन्तुष्टि पनि बढ्दो थियो ।
राजा शुद्धोधन सिद्धार्थका यी क्रियाकलापदेखि पूर्ण जानकार थिए र चिन्तित पनि । छोराले राजमहल त्यागेर सन्न्यासी बन्ला भन्ने पीर र भयले उनलाई पिरोलिरहेको थियो । ब्राह्मणले राजाको पीर दूर गर्ने मनसायले राजकुमारको बिहे गरिदिने सल्लाह राजामा बिन्ती गरे । एकपटक गृहस्थी जीवनमा फसेपछि उनले सन्न्यासी हुने विचार त्याग्नेछन् भन्ने विश्वास ब्राह्मणमा थियो । राजाले आफ्नो भाइ दृढधनराजसँग पनि राय लिए । भाइले पनि बिहे गरिदिने सल्लाह दिए ।
राजा शुद्धोधनकी बहिनी पामिता कोलियाका राजा दण्डपाणिको रानी थिइन् । उनीहरूको छोरी थिइन् यशोधरा । यिनै यशोधरासँग सिद्धार्थको बिहे भयो । यशोधरा पनि वेदवेदान्तका ज्ञाता थिइन् । समाजसेवाको माध्यमबाट दीनदुःखीको हित गर्ने उनको पनि इच्छा थियो । जनताले यी दुईको बिहे उत्सव धुमधामसँग मनाए । सिद्धार्थजस्तै दरबारिया अधिकारीका बीचमा हुने सत्तासंघर्षदेखि यशोधरा पनि वाक्क दिक्क थिइन् । उनीहरू भोगविलासभन्दा अध्यात्मवादमा डुबेका थिए । समाजमा नयाँ व्यवस्था स्थापनाको सपनामा डुबेका थिए ।
जबसम्म स्वार्थी चित्त र हदृय भएका व्यक्ति शासन प्रणालीमा रहन्छन्, तबसम्म आफू नै राजा भए पनि समस्याको समाधान हुँदैन
राजकुमारको सारथि छन्नका साथ उनीहरू गाउँवासीका घरमा गए । बास पनि बसे । त्यहाँ उनीहरूले भोका नांगा गरिबहरू देखे । रोगी देखे । मृत्यु देखे । जति काम गरे पनि किसान परिवारको भरणपोषण गर्न नसक्ने अवस्थामा रहेको पनि देखे । दुःखी जीवन उनीहरूको पर्याय नै थियो । यी सबै दृश्य देखेपछि उनीहरूको सारा खुसी हराएर गयो । निर्धनता र रोगहरूको कारण थियो, दरबारिया अधिकारीको शोषण । यो तीतो सत्य राजासम्म पु-याउन कठिन थियो किनकि आफ्नो स्थायित्वका लागि स्वयं राजा पनि यिनै अधिकारीमाथि निर्भर रहन बाध्य थिए । प्रत्येक अधिकारी सत्तास्वार्थमा एकअर्काको विरुद्धमा भीषण षड्यन्त्र रचिरहन्थे ।
सिद्धार्थ यो दरबारिया राजनीति र आफ्नो पिताको विवशता’bout जानकार थिए । यदि मानिसको हृदयबाट लोभ र ईष्र्याको दुष्ट भावना निकाल्न नसक्ने हो भने यो व्यवस्थामा आफू नै राजा भए पनि केही गर्न नसकिने निचोड राजकुमारको थियो । यस्तै यस्तै कारणले गर्दा आध्यात्मिक मुक्तिमार्गमा चल्ने उनको इच्छाशक्ति अझ बलवान् हँुदै गयो । यशोधराले पनि राजकुमारको मनोभाव प्रष्टसँग बुझिसकेकी थिइन् । यदि सिद्धार्थ आत्ममुक्तिको पथमा हिँडे भने उनी त्यसमा सफल हुनेछन् भन्ने कुरामा यशोधरा विश्वस्त थिइन् ।
सिद्धार्थ र यशोधराको उच्च विचार र सादा जीवन थियो । राजकुमार समाजसेवाबाट मात्र साँचो शान्ति ल्याउन सकिन्न भन्ने पक्षमा थिए । कुनै पनि राज्यको राजनीतिक, आर्थिक र सैनिक समस्याको जड राजनीतिसँग सम्बन्धित मानिसको स्वार्थपूर्ण आकांक्षामा निहित हुन्छ भन्ने कुरो राजकुमारले थाहा पाइसकेका थिए । यसैकारण उनी भारदारी सभामा मौन रहन्थे । राजकुमारको यो मौनता देखेर राजाले जिज्ञासा राखे, ‘किन तिमी भारदारी सभामा चुपचाप बसिरहेका हुन्छौ ? मभन्दा तिमी योग्य पनि छौ । तिमीले समस्या समाधान गर्न सक्छौ । तिमी अब राजकाज चलाऊ ।’ राजालाई राजकुमारको जवाफ थियो, ‘म राजा भए पनि, मेरो समस्या समाधानका उपाय व्यर्थ हुनेछन् किनकि यी शक्ति सम्पन्न अधिकारीबिना अराजकता फैलन्छ भन्ने हजुरलाई राम्ररी थाहा छ । जबसम्म स्वार्थी चित्त र हृदयलाई हरेक व्यक्तिले मुक्त पार्दैनन्, तबसम्म कुनै पनि समस्याको समाधान हुँदैन ।’ राजा शुद्धोधन राजकुमारको जवाफमा निरुत्तरित भए ।
धर्म आचरण केवल पवित्र ग्रन्थको अध्ययनसम्म मात्र सीमित छैन । बरु, हृदय र चित्तको मुक्तिका लागि ध्यान साधनाको आवश्यकता छ भन्ने कुरो राजकुमारलाई महसुस भइसकेको थियो । जीवनका चार आश्रम (ब्रह्मचर्य, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्याश्रम)’bout राजकुमारको आफ्नै विचार थियो । सन्न्यास ग्रहण गर्दासम्म धेरै ढिला भइसकेको हुने र सद्धर्म राम्रोसँग अध्ययन हुनै नपाउने भन्ने तर्क उनको थियो । व्यक्ति चारै आश्रममा एकसाथ किन बाँच्न सक्दैन ? पारिवारिक जीवन व्यतित गर्दै पनि धार्मिक जीवन किन अपनाउन सक्दैन ? यी प्रश्न उनको मनमा उब्जिरहेको थियो ।
राजकुमारी यशोधरा गर्भवती थिइन् । उनीहरूबाट पुत्र पैदा भयो, जसको नाम राहुल राखियो । राजकुमारीको स्वास्थ्य लाभ भइसकेको थियो । एक रात राजकुमारीले तीन वटा सपना देखिन् । त्यसमध्ये तेस्रो सपना थियो, ‘त्यो समय आइसकेको छ ।’ अब राजकुमारीलाई पूर्ण विश्वास भयो कि राजकुमार ‘सदधर्मको मार्ग’ खोज्न गृहत्याग गर्नेछन् । यशोधराले राजकुमारका लागि वस्त्र तयार पारिदिइन् । बुबाको अनुमति नहुँदा नहुँदै पनि राजकुमार मध्यरातमा आफ्नो सारथि छन्नका साथ कन्थक नामक उनको प्रिय घोडामा चढेर गृहत्याग गर्दैगर्दा दरबारको मूल ढोका अगाडि प्रतिज्ञा गर्दछन्, ‘यदि सद्धर्मको मार्ग खोज्नमा विफल रहें भने कहिल्यै पनि म घर फर्कनेछैन ।’ अन्ततः उनले कठोर तपस्या र खोजपश्चात् सद्धर्मको मार्ग पत्ता लगाए । तीमध्ये एउटा हो, चार आर्यसत्य, दुःखको विद्यमानता, दुःखको मूल, दुःखको निवारण र दुःखको निवारणसम्म पु-याउने मार्ग । दुःखको मूल कारण अज्ञानता (लोभ र ईष्र्या) हो । अहंकारको त्याग नै दुःखको निवारण हो । दुःख निवारणका लागि उनले दिएका अष्टांग मार्ग हुन्ः सम्यक दृष्टि, संकल्प, वाक, कर्म, जीविका, व्यायाम, स्मृति र समाधि ।
बुद्धको राजनीतिक सन्देशको पालना गर्न सके अस्थिर राजनीतिको दुःख पनि निवारण हुनेछ
बुद्धको देशमा सबैभन्दा दुःखी हाम्रो राजनीति भएको छ । यसका खेलाडीको कारण यो दुःखी भएको छ । उनीहरूसँग सबै चिज भएर पनि दिन प्रतिदिन वैचारिक रूपमा कंगाल भइरहेका छन् । अज्ञानताले उनीहरूलाई अन्धो बनाइरहको छ । दुःखी बनाइरहेको छ । हामीसँगैका दुई छिमेकीको २००७ साल तिरको अवस्था कस्तो थियो ? हाम्रो कस्तो थियो । आज उनीहरू विकासमा कहाँ पुगे ? हामी कहाँ छौं । हामी पछाडि पर्नुको कारण हाम्रो राजनीतिक अस्थिरता हो । स्वधर्म (आफ्नो निर्धारित कर्म) त्यागी परधर्म (अर्काको कर्म) अपनाउँदाको कुफल हो
जनताले नेताको के कुरो मानेनन् ? २००७ सालमा राणा शासन फाल्न साथ दिएनन् कि ? २०४६ सालमा संवैधानिक राजतन्त्र ल्याउन साथ दिएनन् कि ? लादिएको धर्म निरपेक्षता, संघीयता र गणतन्त्रमा साथ दिएनन् कि ? राजनीतिक स्थिरता होस् भनी पूर्ण बहुमत दिएनन् कि ? मिलीजुली सरकार बनाउने मत दिएनन् कि ? दुई तिहाइ मत दिएनन् कि ? दलको नाममा जनताले छाक, बास, कपास र सास दिएनन् कि ? यतिले पनि नपुगेर मध्यावधि चुनाव रे । केका लागि मध्यावधि चुनाव ? २०५१ साल र त्यसपछिका मध्यावधि चुनावले देश र जनतालाई के फाइदा भयो फेरि पनि मध्यावधि चुनाव केका लागि ? जनताले राजनीतिक स्थिरता चाहेका हुन् । मध्यावधि चुनाव होइन । जनमतको अपमान गर्न पाइँदैन । हाम्रो आन्तरिक मामलामा सदैव विदेशी तत्व निर्णायक हुने हो भने जनताको बलिदानको के मूल्य ? सुशासन दुःख निवारणको प्रमुख माध्यम हो । गल्ती कमीकमजोरी सबैका हुन सक्छन् । हामीले केका लागि र कसका लागि राजनीति गरिरहेका छौं ? सोच्ने बेला भइसक्यो । आत्मसमीक्षा र आत्मालोचना गर्ने समय आइसक्यो ।
धर्म भनेको धारण गर्नु हो । के धारण गर्ने त ? जवाफ प्रस्ट छ, निर्मल चित्त आचरण धारण गर्ने । यसले सकारात्मक ऊर्जा दिन्छ । परधर्मले नकारात्मक ऊर्जा मात्र दिन्छ, जसको कार्य नै नष्ट पार्नु हुन्छ । हामीलाई हाम्रा शास्त्र मित्थ्या लाग्छन् । काल्पनिक लाग्छन् । आफ्नो स्वधर्म पालना नगर्दा आज हाम्रो समाजमा एकअर्काप्रतिको विश्वास ओरालो लाग्दो छ । हाम्रो संस्कार दिन प्रतिदिन खस्कदो छ, जो हामीले दैनिक जीवनमा देखिरहेका छांैै । भोगिरहेका छौं ।
बुद्धले आफ्नो पितालाई भनेजस्तै, ‘जबसम्म स्वार्थी चित्त र हृदय भएका व्यक्ति शासन प्रणालीमा रहन्छन्, तबसम्म म नै राजा भए पनि कुनै पनि समस्याको समाधान हुँदैन’ भनेजस्तै हाम्रो चित्त र हृदय निर्मल नहुने हो भने जुनसुकै व्यवस्था आए पनि हामी दुःखी नै रहनेछौं । बुद्धका अनुसार माया स्वार्थी हुन्छ । प्रेम निःस्वार्थ । राजनीतिलाई प्रेम गर्न सिकौं । यही नै राजनीतिककर्मीको धर्म हो । यही धर्मले मात्र हाम्रो राजनीति स्थिर हुन्छ । बुद्ध दर्शनको आध्यात्मिक ज्ञानको गहिराइमा जान नसके पनि बुद्धको राजनीतिक सन्देशको पालना गर्न सके अस्थिर राजनीतिको दुःख पनि निवारण हुनेछ । देश र जनताको दुःख पनि निवारण हुनेछ । राजनीतिक स्थिरता र विकास आफंै पछि लागेर आउनेछ । सबै खुसी र सुखी हुनेछन् ।