काठमाडौं । काठमाडौ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) आयोजना काठमाडौंतर्फको ‘जीरो प्वाइन्ट’ मानिएको खोकनामा जग्गा विवाद नसुल्झिएपछि नेपाली सेनाले दोस्रो चरणको काम बाराको ‘जीरो प्वाइन्ट’ निजगढबाट सुरु गर्ने तयारी गरेको छ । खोकनातर्फको जग्गा मुआब्जा विवाद नटुंगिएपछि सेनाले निर्माण कार्य दोस्रो चरणमा लैजान र काम नरोक्न भन्दै निजगढतर्फको प्रवेश विन्दुबाट २२ किलोमिटर काठमाडौंतर्फ पुल निर्माण र सडक कालोपेत्र तयारी गरेको हो ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण जारी द्रुतमार्गमा हाल पहिलो चरणअन्तर्गत ‘रोड वे’भित्र कटिङ, फिलिङसहित सब ग्रेड फरमेसन तयार गर्ने, बक्स कल्भर्ट, पाइप कल्भर्ट बनाउने तथा चट्टानसहित माटोको प्रकृति र भौगर्भिक बनोट परीक्षण कार्य सकिएको छ ।
त्यस्तै, निर्माण सामग्री लैजान आवश्यक पहुँचमार्गका लागि बेलीब्रिज हाल्ने कामसमेत अन्तिम चरणमा छ । नेपाली सेनाका आयोजना कार्यान्वयन तथा अप्रेसन प्रमुख प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडीले द्रुतमार्ग निर्माणमा आवश्यक पहिलो चरणका सबै काम सकिएको जानकारी दिए ।
उनका अनुसार खोकना विवाद नटुंगिएपछि निजगढतर्फको प्रवेश विन्दुबाटै दोस्रो चरणको कामअघि बढाउने तयारी भइरहेको छ । ‘द्रुतमार्ग निर्माणमा आवश्यक पहिलो चरणका सबै काम सकिएको छ, खोकनामा जग्ग्गा मुआब्जा विवाद नटुंगिएपछि विवादित स्थान छाडेर निजगढतर्फको प्रवेश विन्दुबाटै २२ किलोमिटरसम्म दोस्रो चरणको काम अघि बढाउने तयारी भइरहेको छ, निर्माण कार्य रोकिँदैन,’ आयोजना प्रमुख पहाडीले राजधानीसँग भने । खोकना क्षेत्रमा करीब ४ सय ४३ रोपनी जग्गा मुआब्जा वितरण अझै टुंगिएको छैन ।
सो क्षेत्रको समस्या सुल्झाउन योजना आयोग उपाध्यक्षको संयोजकत्वमा समिति बनाएर काम अघि बढे पनि विवाद जारी छ । सो द्रुत मार्ग काठमाडौंसँग तराइ जोड्ने सबैभन्दा छोटो ७२ दशमलब ५ किलोमिटर हुनेछ । द्रुत मार्गअन्तर्गत सुरुङ खण्डमा पर्ने चट्टान तथा माटोको प्रकृति र भौगर्भिक बनोट परीक्षण सकिएपछि सेनाले ठेक्का प्रक्रियामा आएका निर्माण कम्पनीको बोलपत्रसम्बन्धी आवश्यक प्रक्रिया वैशाखभित्रै सम्पन्न गरेर जेठबाटै सुरुङ निर्माण थाल्ने जनाएको छ ।
आयोजनामा सबैभन्दा जटिल काम सुरुङ निर्माणलाई नै मानिँदै आएको छ । सुरुङ निर्माणसँगै एकसाथ पुल र निजगढतर्फको कालो पत्रेसमेत अघि बढाइने तयारी सेनाको छ । हाल, पुल निर्माणका लागि फिल्ड सर्भे सकिएको छ भने आगामी आर्थिक वर्षबाट सबै काम तीन प्याकेजमा विभाजन गरेर अघि बढाउने गरी तयारी गरिएको हो । सेनाले सडक आयोजनाअन्तर्गत हालसम्म भौतिक प्रगती करीब १२ प्रतिशत भएको बताएको छ भने तीनवटै सुरुङको काम सक्दा सो प्रगति उल्लेख्य बढ्ने बताउँदै आएको छ ।
हाल, सुरुङ निर्माणका लागि पूर्वयोग्यता मूल्यांकन गरी कम्पनी छनोट भएसँगै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रिया अघि बढेकाले यसबीच कुनै व्यवधान नभए चार वर्षभित्र सुरुङ निर्माण सम्पन्न गर्न सकिने सेनाले जनाएको छ । स्वीकृत डीपीआरअनुसार द्रूतमार्ग निर्माण अनुमानित लागत १ खर्ब ७५ अर्ब रुपैयाँ छ ।
हालसम्म १८ अर्ब रुपैयाँ आयोजनामा खर्च भइसकेको छ । यो द्रुतमार्ग आयोजना निर्माण आर्थिक वर्ष २०८१ मा सम्पन्न गर्ने लक्ष्य छ । सो आयोजना एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने छ भने ललितपुर, काठमाडौं, मकवानपुर र बारा जिल्लालाई छुनेछ ।
आयोजनामा सुरुङ मार्ग कुल लम्बाई ६ दशमलब ४१ किमी, विभिन्न पुलको लम्बाई १० दशमलब ५९ किमी र ढुंगा– माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५ दशमलब ५ किमी रहेको छ । सुरुङ मार्गको निर्माण थालनीपश्चात क्रमिक रूपमा सडक खण्ड र पुल खण्डको ठेक्का बन्दोबस्त गरी आगामी आर्थिक वर्षमा द्रुतमार्ग आयोजनाका सबै निर्माण कार्य एकसाथ सुरु हुने सेनाले जनाएको छ ।