लस एन्जलस/एजेन्सी । संयुक्त राज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालकसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति गम्भीर रूपमा घाइते भएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको देशकै तेस्रो घटना हो ।
घटनास्थलमा अपराह्न ५ः३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउनेक्रम जारी रहेको अरेन्ज नगरका प्रहरी जेनिफर अमाटले बताए । त्यसलगत्तै प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको र उनलाई घाइते अवस्थामा अस्पताल लगिएको पनि अमाटले जानकारी दिए । घाइतेका बारे प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा एक बालक र एक महिला निकै गम्भीर रहेका जनाएको छ ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले ट्वीट गर्दै सो घटना निकै भयावह र हृदयविदारक रहेको बताएका छन् । अरेन्ज नगर लस एन्जलसबाट करिब ४८ किलोमिटर दक्षिणमा रहेको छ र यहाँ करिब १ लाख ४० हजारको बसोबास छ ।
प्रहरी अधिकृत अमाटले यस सहरमा सन् १९९७ पछि सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको जानकारी दिए । त्यसबखत ४१ वर्षीय आर्टुरो रियेज टोरेजले एक प्रहरीसहित चार जनालाई गोली हानी हत्या गरेका थिए । प्रहरी कारबाहीमा उनको पनि मृत्यु भएको थियो ।
गत साता अमेरिकाकै कोलोराडो राज्यको बाउल्डरस्थित सुपरमार्केटमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको थियो भने त्यसको एक साताअघि मात्र एटलान्टाका तीनवटा मसाज पार्लरमा गोली हानेर ६ जना एसियाली मुलुकका महिलाको ज्यान गएको थियो ।