अल्मुताइरी फुटबल टोलीको मुख्य प्रशिक्षक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेती अब्दुल्लाह अल्मुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै अल्मुताइरीले १ वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेका हुन् ।

विश्वकप छनोटका ३ खेल र सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपलाई मध्य नजर गर्दै एन्फाले नयाँ प्रशिक्षक नियुक्त गरेको हो । विश्वकप छनोटका ५ खेल नेपालले योहान कालिनको प्रशिक्षणमा खेलेको थियो । कोभिडका कारण स्वदेश फर्केका कालिनको सम्झौता सकिएपछि एन्फाले बालगोपाल महर्जनलाई कार्यभार जिम्मेवारी प्रदान गरेको थियो । महर्जनको प्रशिक्षणमा नेपालले गत साता दशरथ रंगशालामा थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय सिरिज जितेको थियो । फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपालले दशरथ रंगशालामा ३७ वर्षपछि उपाधि जितेको थियो । यसअघि सन् १९८४ मा नेपालले तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) हालको सागमा स्वर्ण पदक जितेको थियो । १९९९ मा आठौं सागमा फाइनल पुगे पनि नेपाल उपाधि जित्न असफल भएको थियो ।

राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न प्रो लाइसेन्स प्राप्त हुनुपर्ने नयाँ नियम ल्याएपछि एन्फाले अल्मुताइरीलाई प्रशिक्षक नियुक्त गरेको हो । एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेको अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् । उनी थ्री नेसन्स कप अघि नै नेपाल आएका थिए । उनको स्थानीय खर्च एन्फाले बेहोर्ने छ । बाँकी सबै आर्थिक जिम्मेवारी कतार फुटबल संघले लिएको छ । प्रशिक्षक अल्मुताइरीले आफ्नो लक्ष्य राम्रो नतिजा दिएर आमनेपालीलाई खुसी बनाउनुरहेको बताए । ‘नेपाली खेलाडीको प्रदर्शन हेर्ने अवसर पाएँ । खेलाडी क्षमतावान् छन् । उनीहरूले नेपाली समर्थकलाई खुसी दिन सक्छन् । जसको उनीहरू हकदार छन् । मलाई आफूले सोचेअनुसार प्रदर्शन निकाल्न केही समय लाग्ला नै, तर यसमा प्रस्ट छु यो टोलीमा भरपुर क्षमता छ ।’ उनले भने, ‘मैले विगत तीन वर्ष नेपालले उमेर समूह र अन्तर्राष्ट्रिय फुटबलमा खेलेको सबै खेल हेरें । मैले निकै सम्भावना देखेको छु ।

दक्षिण एसियाली राष्ट्रमा सबै उस्तै स्तरका छन् । त्यसैको आधारमा पनि मैले योजना बनाएको छु । हामीले एसियन कप खेल्ने लक्ष्य राखेर अघि बढ्नुपर्छ ।’ ३९ वर्षीय अल्मुताइरीले आफ्नो प्रशिक्षण करियरमा पहिलोपटक सिनियर टोलीको प्रशिक्षक सम्हाल्ने मौका पाएका हुन् । खेलाडीका रूपमा गोलरक्षक रहेका अल्मुताइरीले लामो समय खेल्न सकेनन् । उनले सन् २०११ मा प्रशिक्षण करियर सुरु गरेका थिए । खेलाडी करियर सकिएपछि प्रशिक्षणमा लागेका उनले विभिन्न क्लब र उमेर समूहको टोली हेरेका छन् । आफ्नो प्रशिक्षण लाइसेन्ससँगै टोलीमा जिम्मेवारी सम्हाल्दै आएका उनले १४ महिनाको अन्तरमा आफ्नो ए लाइसेन्स, प्रो लाइसेन्स र इन्स्ट्रक्टर कोर्स पूरा गरेका हुन् । उनका अनुसार यो अवधिमा यी सबै कोर्स गर्नु निकै दुर्लभ उपलब्धि हो ।

एएफसीका कोचिङ इन्स्ट्रक्टर रहेका अल्मुताइरीले यसअघि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका छैनन् । सन् २०११ मा प्रशिक्षण सुरु गरेपछि उनले कुवेतकै क्लबतर्फ युवा टोली हेरे । त्यसपछि साउदी अरेबियाका क्लब पुगेका उनले केही वर्षपछि किर्गिस्तानको यू–१६ टोली सम्हाल्दै देशको इतिहासकै दोस्रो सर्वोत्कृष्ट नतिजा निकालेका थिए । अल्मुताइरीले पछिल्लोपटक अल सहानिया फुटबल क्लबको जिम्मेवारी सम्हालेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

epaper

ताजा समाचार

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता