बर्दिया । डढेलोको धुँवाले एक साता यता यहाँका बस्ती ढपक्कै ढाकिएका छन् । धुँवाले बस्ती ढाकिदा यहाँका बासीन्दालाई निकै सकस भएको छ । धुँवा कारण आँखा पोल्ने, आँखा पाक्ने, सास फेर्न गाह्रो हुनेलगायतका समस्या देखा परेका छन् । धुँवाबाट वृद्धवृद्धा र केटाकेटी बढी प्रभावित भएका छन् । बृद्धबृद्धालाई सास फेर्न गाह्रो भएको छ । अधिकाशं बालबालिकाहरुलाई रुघाखोकीको समस्या देखिएको स्थानिय स्वास्थ्यकर्मीहरु बताउँछन् । केही दिनयता बर्दिया निकुञ्ज र यसका आसपासका वनमा लागेको डढेलोले गर्दा बस्ती धुँवाले ढपक्कै ढाकिएको हो ।
धुँवाका कारण ठाकुरबाबा, मधुवन, बाँसगढी र बारबर्दिया नगरपालिकाबा बासीन्दा बढी प्रभावित भएका छन् । निकुञ्ज मध्यवर्ती क्षेत्रका बासीन्दा झनै बढी प्रभावित भएका छन् । धुँवाका कारण निकुञ्ज मध्यवर्ती क्षेत्र आसपासका विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ । धुँवाले गर्दा विद्यार्थी कक्षा कोठामा शान्त भएर बस्न नसक्ने भएको विद्यालयका शिक्षकहरु बताउँछन् । धुँवाले गर्दा कक्षा कोठामा विद्यार्थीहरु छटपटाउने, बारम्बार मुख धुन जाने गरेका छन् । शिक्षकलाई पढाउन समेत गाह्रो हुने गरेको त्रिभुवन मावि भुरिगाउँका शिक्षक प्रदिप भण्डारी बताउँछन् ।
धुँवाका कारण स्थानियबासीको नियमित काम प्रभावित हुन थालेको छ । किसानहरु नियमित काममा खेतमा जान सकेको छैनन् । गहु काट्नका लागि विहानको समय उपयुक्त भए पनि धुँवाका कारण किसानहरु खेतमा गएका छैनन् । डढेलोको धुवाले निकुञ्जको सुरक्षार्थ खटिएका सेना र निकुञ्जका कर्मचारी पनि प्रभावित भएका छन् । निकुञ्ज भित्र सेनाका दर्जन बढी सुरक्षा पोष्टहरु छन् ।
साझ र विहानको समयमा निकुञ्ज क्षेत्र भित्र पर्ने राजमार्गमा सवारीसाधन चलाउन गाह्रो हुने गरेको चालकहरु बताउँछन् । विहानको समयमा सामान्य हिडडुल गर्न समेत निकै कष्ट भएको स्थानिय बताउँछन् । धुँवाका कारण मानिसहरु मर्निङ्ग वाकमा जान छाडेका छन् । निकुञ्जको उत्तरी भेग चुरे पहाडबाट सल्किएको डढेलो निकुञ्जको पश्चिम दक्षिण क्षेत्रमा फैलदै आएको छ । डढेलोका कारण निकुञ्ज नजीकको बस्ती धुवाले ढपक्कै ढाकिदा हिडडुल गर्न निकै समस्या परेको निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानिय सन्तराम चौधरीले बताए ।
निकुञ्ज छेउँछाउँका गाउँका बासिन्दा डढेलोको धुवाको समस्याबाट वर्षौदेखि पिडीत छन् । करिव महिनादिन सम्म यो समस्या रहिरहने स्थानियबासी बताउँछन् । बस्तीमा धँुवाको दिउँसोको तुलनामा राती र विहान पख बढी हुने गर्छ । दिउँसो हावा चल्ने हुनाले धुवाको प्रभाव अली कम मानिए पनि साझ पर्ना साथ धुवाले गाउँ ढाक्ने गरेको ठाकुरबाबा नगरपालिका ४ लसुरिया फाँटाकी सीता बताउँछिन् । धुँवाको कारण यहाका मानिसलाई विहान र साझ हिडडुल गर्न र बाहिर निस्कन गाह्रो हुने गरेको छ ।
धुवाले गर्दा निकुञ्ज र वन आसपासका मानिसमा आखा पोल्ने, सास फेर्न अप्ठ्यारो हुने, खोकी लाग्ने जस्ता समस्या देखा परेको छ । ठाकुरबाबा ४ बर्गदाका मोहन थारु भन्छन्, ‘ धुवाका कारण निकै समस्या भएको छ । विहान त हिडडुल गर्नै मुस्किल पर्छ । धुवाले रातदिन आँखा पोल्छ ।’
धुँवाले गर्दा निकुञ्ज क्षेत्रमा पर्ने रम्मापुरदेखि कर्णाली चिसापानी सम्मको क्षेत्रमा साझ परेपछि राजमार्गमा गाडी चलाउन नसक्ने अवस्था छ । जती साझ पर्दै गयो उती नै धुवाले समस्या पार्छ । साझ ७ बजेदेखि विहान ९ बजेसम्म राजमार्गमा सवारी साधन चलाउन समेत गाह्रो हुने गरेको सवारी चालकहरु बताउँछन् ।
गर्मी याममा पश्चिमी वायुसँगै चल्ने हावाका कारण निकुञ्जमा सल्केको डढेलो फैलिदै गएको निकुञ्जले जनाएको छ । एकै पटक धेरै स्थानमा डढेलो लाग्नाले डढेलो निभाउन सम्भव नहुने निकुञ्जको भनाई छ । निकुञ्जमा लागेको डढेलोका कारण प्रत्येक वर्षको चराचुरुङ्गीका अण्डा, गुड बच्चा र नया वोटविरुवा तथा जडीबुटीहरु जलेर नष्ट हुने गरेको संरक्षणकर्मीको भनाइ छ । निकुञ्जमा डढेलो लागेका कारण वन्यजन्तु बाहिर निस्कन खोज्ने भएकाले वन्यजन्तुबाट दुर्घटना हुन सक्ने जोखिम रहेको भन्दै सजग रहन निकुञ्जले आग्रह गरेको छ ।