काठमाडौं । ललितपुरको रुस्लान थ्री स्टार क्लब चौथो बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पहिलो हाफमा २ गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै थ्री स्टारले अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई ३–२ ले हराउँदै च्याम्पियन बनेको हो ।
मकवानपुरको फापरबारीमा सोमबार भएको फाइनलको इन्ज्युरी समयमा एनआरएका खेलाडीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई कप्तान रुपेश केसीले गोलमा परिणत गर्दै टोलीलाई च्याम्पियन बनाए । प्रशिक्षक उज्जन श्रेष्ठले थ्री स्टारको प्रशिक्षकका रूपमा पहिलो प्रतियोगितामा नै उपाधि जितेका छन् । बाग्मती गोल्डकप खेल्नुअघि थ्री स्टारले उनलाई प्रशिक्षक नियुक्त गरेको थियो । खेलको १२औं मिनेटमा एमफोमले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा मौसाले गोल गर्दै क्यामरुनी टोलीलाई २–० ले अघि बढाए ।
पहिलो हाफमा केही कमजोर प्रदर्शन गरेको थ्री स्टारले दोस्रो हाफमा भने सानदार पुनरागमन ग¥यो । मनिष डाँगीले ५८औं मिनेटमा गोल गर्दै ललितपुरे टोलीलाई खेलमा फर्काए । त्यसको तीन मिनेटपछि नै निशान खड्काले फ्रिकिकमा गोल गर्दै २–२ को बराबरीमा ल्याए । इन्ज्युरी समयमा अफ्रिकनका डिफेन्डरले मनिष डाँगीको प्रहारलाई हातले रोकेपछि रेफ्री नविन्द्र महर्जनले पेनाल्टी दिए ।
उक्त पेनाल्टीलाई कप्तान रुपेश केसीले गोलमा परिणत गर्दै उपाधि दिलाए । मकवानपुरको बाग्मती गाउँपालिका खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले थ्री स्टारले उपाधिसहित ८ लाख रुपैयाँ प्राप्त गरेको छ ।