काठमाडौं । स्पिनर लक्ष्मी साउँदको ह्याट्रिक विकेट लिएपछि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता च्याम्पियन प्रदेश–१ सुदूरपश्चिम प्रदेशसँग ४० रनले स्तब्ध बनेको छ । १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–१ १८ ओभर ५ बलमा ८९ रनमा अल आउट भयो ।
सुदूरपश्चिमकी स्पिनर लक्ष्मी साउँदले ह्याट्रिक लिँदै सहज जित दिलाइन् । प्रदेश–१ का लागि कप्तान रुविना क्षत्री बेलबासेले सर्वाधिक २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले ४ रन जोडिन् । आठौं ओभरको चौथो बलमा कविता कुँवरले कप्तान रुविनालाई बोल्ड आउट गरेपछि प्रदेश १ को जितको सम्भावना कठिन बनेको थियो । १४औं ओभरको पाँचौं बलमा कविता जोशीले अप्सरी बेगमलाई २२ रनमा बोल्ड आउट गरिन् ।
लगत्तै अर्को बलमा लाकिता राजवंशीलाई शून्यमा एलबीडब्लू आउट गरिन् । लक्ष्मी साउँदले रोमा थापालाई ५ रनमा बोल्ड आउट गरेपछि जितको सम्भावना टाढिएको थियो । लक्ष्मीले १९औं ओभरमा ह्याट्रिक विकेट लिइन् । तेस्रो बलमा सबनम राईलाई ऋतु कनोजियाबाट शून्यमा क्याच आउट गराइन् । अर्को बलमा स्मृति कुटवाललाई २ रनमा एलबीडब्लू आउट गरिन् ।
पाँचौं बलमा ज्योति दनुवारलाई कविता कुवँरबाट क्याच गराउँदै ह्याट्रिक हात पारेकी थिइन् । लक्ष्मीले ३.५ ओभरमा १९ रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । कविता जोशीले २ र सुनिता लोहारको नाममा १ विकेट रह्यो ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । सुदूरपश्चिमकी बिन्दु रावलले सर्वाधिक ५२ रनको योगदान दिइन् । दोस्रो विकेटका लागि रेवती धामी र बिन्दु रावलले ७४ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलको आधार तय गरेका थिए । रेवती ३० रनमा रन आउट भइन् । कविता जोशी २१ रनमा आउट भइन् । डली भट्ट ८ रनमा अविजित रहिन् । प्रदेश १ की सबनम राईले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । ज्योति दनुवारले १ विकेट लिइन् ।