भनिन्छ, शिक्षा मानिसको तेस्रो आँखा हो । शिक्षाबिना मानिसले जीवनको पूर्ण उज्यालो देख्न सक्दैन । शिक्षाबिना जीवनको क्षितिज अधुरो हुन्छ, अपुरो हुन्छ । अहिलेको युगमा मानिसलाई जीवन चलाउन पढाइ–लेखाइको महत्व अझ बढ्दै गएको छ । विज्ञान र प्रविधिको विकास गर्न तथा बदलिएको जीवन शैलीसँग घुलमेल हुन वा जीवनलाई सहज बनाउन पढाइ–लेखाइको ठूलो भूमिका छ । हरेक दिन उपयोग गर्नुपर्ने समानको प्रयोग गर्न पनि अक्षर चिन्ने र नचिन्नेबीच निकै अन्तर भइकेको छ । आवश्यक सामग्री खरिद बिक्री गर्नदेखि लिएर एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न अक्षरको पहिचान आवश्यक हुन्छ । दैनिक जीवनमा गरिने पैसाको लेनदेन, सामान्य जोड, घटाउ, गुणन, भागलगायतका पक्षमा पढाइ–लेखाइको खाँचो हुन्छ ।
नेपालको संविधानले शिक्षालाई नागरिकको मौलिक हकअन्तर्गत दस्तावेजीकरण गरेको छ । राजनीतिक परिवर्तनसँगै शिक्षा पाउनु सबैको अधिकार हो भन्ने कुरालाई राज्यले मन्जुर गरेको छ । विद्यालयको संख्यामा उल्लेख्य वृद्घि भएको छ । शिक्षामा ठूलो धनराशी खर्च पनि भएको छ । तथापि, गरिबी, अभाव, पछौटेपन, लंैगिक असमानता, चेतनाकोे कमीलगायतका समस्याबाट प्रभावित घर परिवारका लाखांैको संख्यामा बालबालिका पढाइ–लेखाइबाट वञ्चित छन् । समग्रमा अझै पनि एकतिहाइ जनसंख्यामा पढाइ लेखाइ छैन ।
विद्वान चाल्र्स रंगेलका अनुसार शिक्षाले मानिसलाई अज्ञानता र गरिबीसँग लड्न योग्य बनाउँछ भन्ने छ भने प्रसिद्घ दार्शनिक एरिस्टोटलले शिक्षा व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्घिको आधार हो भनेका छन् । उनीहरूको भनाइलाई आधार मान्ने हो भने समृद्घिको आधार शिक्षा हो । तर, समाजको यो गरिबीलाई हटाउनका लागि शिक्षालाई आधार बनाउनुपर्नेमा राज्यले राजनीतिक दर्शन, सिद्घान्त वा राज्य व्यवस्थालाई विकासको आधार बनाएकाले समाजमा गरिबी हट्न सकेको छैन ।
कानुनी रूपमा नेपालको संविधानले पिछडावर्ग, सिमान्तकृत, दलित, महिला तथा फरक क्षमता भएका नागरिकका अधिकारलाई सुनिश्चित गरेको छ । राज्यले जुन वर्ग र समुदायका लागि आरक्षणको व्यवस्था गरेको हो, यही वर्गको ठूलो हिस्साले आपूmलाई राज्यद्वारा सुनिश्चित गरिएका हक, अधिकारका अक्षर पढ्न सक्दैनन् । यससम्बन्धी लेखिएका कानुनी दस्तावेज बुभ्mन सक्दैन । यसर्थ संविधानले प्रदान गरेका सुविधा उपयोग गर्न पनि पढाइ–लेखाइको आवश्यकता हुन्छ भन्ने कुरालाई राज्यले बुभ्mनु पर्दछ । लक्षितवर्गमा शिक्षाको सहज पहुँचको व्यवस्था गरिदिनु पर्दछ ।
२१औं शताब्दीमा उपलब्ध भएका प्रविधिजन्य ज्ञान एवं प्रविधिजन्य सीप आर्जन गरी पढाइ–लेखाइको सुन्दर पक्षलाई उपयोग गर्नु आजको आवश्यकता हो
संविधानमा राष्ट्रिय महिला आयोग, मुस्लिम आयोग, दलित आयोग, समावेसी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतको व्यवस्था गरिएको छ । यी आयोग गठन गर्नुको पछाडि उल्लेखित लक्षित वर्गको हक र हितका लागि काम गरी उनीहरूको उत्थान गर्नका लागि हो । यी आयोगले पनि हक र अधिकारका कुराहरू उठाउने गरेको पाइन्छ । जसका लागि आयोगहरू बनाइयो छ , उनीहरू पछाडि पर्नुको कारण शिक्षाको अभाव हुनु हो भन्ने सत्यतथ्यलाई नबुभ्mने हो भने लक्षित वर्गको उत्थान हुन सक्दैन । उनीहरूमा शिक्षाको सहज पहुँच नपु¥याउनजेल सामाजिक उत्थान सम्भव हुँदैन । त्यसैले संवैधानिक आयोगले राजधानीमा गर्ने बैठकमा उठाउने अधिकारका विषयले जनताको भोको पेट भरिँदैन । पेसागत सीप आर्जन हुँदैन । त्यसैले उनीहरूको पढाइ–लेखाइको प्रबन्धमा जोड दिनुपर्छ ।
लोकतन्त्रको आधार शिक्षित एवं अनुशासित समाज हो । व्यक्ति एवं समाजको खुला विचारको अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भए तापनि अनुशासन बिनाको लोकतन्त्र छाडातन्त्र हुन्छ । स्वतन्त्रताभित्र गुण र दोषलाई ठम्याउन सक्ने क्षमता आवश्यक ठानिन्छ । यसका लागि पढाइ–लेखाइको ठूलो महत्व हुन्छ । अहिले समाजमा अराजक गतिविधि व्याप्त छन् । राजनीतिक वृत्तमा उत्पन्न विकृति र विसंगतिले समाज बिथोलिएको छ । अरूको आलोचना गर्दा तालीको गडगडाहट मच्चाउने नेताका समर्थक नै राजनीतिक भाँडभैलोका उत्तेजक झुन्ड भएका छन् । यसरी हेर्दा व्यक्ति, समाज र सिंगो सामाजिक संरचनालाई स्वच्छ विचार विमर्स गर्न सक्ने तार्किक क्षमताको विकासका लागि पढाइ–लेखाइ आवश्यक ठानिन्छ ।
हाम्रो शिक्षा प्रणालीमा पूर्वीय दर्शनको आध्यत्मिक शास्त्रको अध्ययन भए तापनि शास्त्रार्थ भएको पाईँदैन । पूर्वीय आध्यात्मवादअन्तर्गतका धर्मशास्त्रीय उपनिषद्ले देखाएको बाटोमा समाजलाई प्रशिक्षित गर्न शास्त्रहरूको तार्किक शास्त्रार्थ आवश्यकता हुन्छ । शास्त्रका नीति र उपदेशलाई वैज्ञानिक तर्कका आधारमा व्यवहारमा लागू गर्नु नै पढाइ–लेखाइको सुन्दर पक्ष हो । आजको समाजमा एकातिर पूर्वीय अध्यात्मिक दिग्दर्शनलाई व्यावहारिक जीवनमा अभ्यास गर्न आवश्यक छ भने अर्कोतर्फ पाश्चात्य मुलुकले आविष्कार गरेका विज्ञानका उपलब्धि र प्राविधिक उपकरणको उपयोग गर्नसक्ने सीपलाई शिक्षाले संवोधन गर्न सक्नु पर्दछ । राज्यले तय गरेको शिक्षाको मापदण्डभित्र ऐतिहासिकता झल्कने (पूर्वीय सभ्याताको शास्त्रार्थमा आधारित समाज) र आधुनिकता टल्कने (पाश्चात्यले हासिल गरेका वैज्ञानिक उपलब्धिको उपयोगको सीप भएको समाज) मा आधारित शिक्षाको मोडेलअन्तर्गतको पढाइ–लेखाइको व्यवस्था गर्नुपर्छ ।
विद्वान चाल्र्स रंगेलका अनुसार शिक्षाले मानिसलाई अज्ञानता र गरिबीसँग लड्न योग्य बनाउँछ
एउटै पृथ्वीलोकमा बसेर पनि आज विकसित देशका मानिसले आर्जन गरेको पढाइ–लेखाइले उनीहरू चन्द्र, मंगल र बृहस्पतिलोकको भ्रमण गर्दा हाम्रो समाज आपसी विभेदको अभ्यासमा तल्लीन छ । पाश्चात्य समाजले अवलम्बन गरेको शिक्षा पद्धतिलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्दा त्यहाँको शिक्षा सिर्जनशील, अनुसन्धानमूलक र ब्रहमान्डमा रहेका पदार्थको उपयोग गर्न काविल देखिन्छ । हाम्रो जस्तो पूर्वीय दर्शनको शास्त्रीय पढाइ–लेखाइ भएको समाजमा पूर्वीय सभ्यता र दर्शनमा लुकेका वैज्ञानिक पक्षको उत्खनन हुन सकेन । त्यसैले हामीहरू ज्ञानी भयौं । सिपालु हुन सकेनौं । यसर्थ शिक्षामा शास्त्रार्थको खाँचो छ ।
अबको पढाइ–लेखाइको चिन्तन र अभ्यासमा पूर्वीय सभ्यता र दर्शनभित्रको ज्ञानको सागरभित्र व्यवहारोपयोगी वैज्ञानिक पक्ष खोजी गरिनुपर्छ । दर्शनको शास्त्रीय ढाँचालाई शास्त्रार्थ गर्न सकेको भए आज समाजमा अन्धविश्वास, दाइजो प्रथा, छाउपडी, घुम्टो, जातीय विभेद, वर्गीय असमानता, गरिबीलगायतका तमाम समस्या रहने थिएनन् । हाम्रो शिक्षाले पूर्वीय सभ्यता र ज्ञानको बगैंचामा फलेका फलहरू र फुलेका फूलको बयानमा मात्र ध्यान दियो कि ? त्यसो हो भने पढाइ–लेखाइको तौरतरिकालाई समयसापेक्ष बनाउनुको विकल्प छैन ।
समयसापेक्ष शिक्षाको कुरा गर्दा समाजमा पढाइ–लेखाइभित्रको एउटा शाखा वित्तीय साक्षरता हो । वित्तीय शिक्षाले कुनै पनि व्यक्तिसँग भएको आर्थिक वा वित्तीय स्रोत–साधनको प्रभावकारी एवं मितव्ययी उपयोग गर्ने ज्ञान र सीप आर्जन गर्न मद्दत गर्दछ । पढाइ लेखाइ भएका शिक्षित जनशक्तिमा वित्तीय शिक्षाअन्तर्गत डिजिटल शिक्षाको माध्यमबाट आयमुलक क्षेत्रमा लगानी गर्न, सेयर किनबेच गर्न, ऋण लिन, बचत गर्न, वित्तीय जोखिमबाट बँच्न, इन्सुरेन्सलगायतको सैद्घान्तिक एवं प्राविधिक ज्ञानका लागि वित्तीय साक्षरताको खाँचो हुन्छ ।
शिक्षालाई समयसापेक्ष बनाउन पर्नेमा बहस जारी छ । युगसापेक्ष पढाइ–लेखाइ नै शिक्षाको सुन्दर पक्ष हो । अहिले समय काफी बद्लिएको छ । विज्ञान र प्रविधिको विकासले मानिसको जीवन शैलीमा परिवर्तन ल्याएको छ । इन्टरनेट, कम्युटर, मोबाइल, ल्याबटपलगायतका प्रविधिको प्रयोगले पेसागत कार्यशैली फेरिएको छ, बद्लिएको छ । अहिले घरमै बसेर इन्टरनेटमा उपलब्ध विभिन्न एप्सको प्रयोग गरी सुविधाहरू लिन सक्ने अवस्था छ । कम्प्युटर एवं मोबाइल सेवाको उपलब्धता, ज्ञान एवं सीप भएमा ई–सेवाअन्तर्गतका पर्याप्त सुविधा छन् ।
प्रविधिको विकासले मानिसको जीवनशैलीमा परिवर्तन ल्याई दिएको छ । अहिले उपलब्ध सेवा सुविधाको उपयोगको लागि इन्टरनेट शिक्षा आवश्यक भएको छ । सहरी क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न पठाओ, टुटल जस्ता सुविधा उपलब्ध छन् । मोबाइल बैंकिङ, एटीयम, अनलाइन सपिङ्, बिल भुक्तानी, बैकिङ रकम ट्रान्सफरलगायत बस टिकट, एयर लाइन टिकट, मुवी टिकट जस्ता सुविधाहरू घर मै बसीबसी उपलब्ध गर्न सकिने भएको छ । मेरो जब वेभसाइट अन्तरत जागिर खोज्ने अवसर उपलब्ध छ । यसरी हेर्दा इन्टरनेट मार्फत स्मार्ट मोबाइलको सहायताले माथि उल्लेखित सुविधा उपयोग गर्न प्राविधिक ज्ञान तथा सीपसहितको पढाइ–लेखाइ आवश्यक ठानिन्छ ।
अन्त्यमा पूर्वीय सभ्यताभित्रको सांस्कृतिक एवं व्यावहारिक पक्षमा वैज्ञानिक तर्कमा आधारित समाज निर्माण गर्दै २१आंै शताब्दीमा उपलब्ध भएका प्रविधिजन्य ज्ञान एवं प्रविधिजन्य सीप आर्जन गरी पढाइ–लेखाइको सुन्दर पक्षलाई उपयोग गर्नु आजको आवश्यकता हो ।