काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खारेज भएको छ । प्रतिनिधिसभा सदस्यहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद खारेज भएको हो ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले उनीहरुको सांसद पद खारेज भएको जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर पार्टी परित्याग गरेका चार सांसदलाई कारबाही गरेको जानकारी गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने प्रावधान छ ।