पर्यटनका लागि दुर्भाग्यपूर्ण वर्ष

काठमाडौं । मंगलबारदेखि बिदा भएको विक्रम संवत् २०७७ साल मुलुकको पर्यटनका लागि एकदमै दुर्भाग्यपूर्ण वर्ष बन्यो । कोरोना भाइरस महामारीको प्रभावका कारण गत वर्ष नेपालको पर्यटन क्षेत्र धराशायी भयो । कोरोना महामारीको प्रभावकै कारण मुलुकको ठूला लगानीमा सञ्चालित होटल र अन्य पर्यटकीय गतिविधिमा ब्रेक लाग्यो ।

जसका कारण काठमाडांैको दरबारमार्गस्थित पुरानो पाँचतारे होटल अन्नपूर्ण डेला होटल बन्द भयो । होटल बन्द भएसँगै अहिले सो होटलमा कार्यरत धेरै कामदार श्रमिक बेरोजगार हुन बाध्य भएका छन् । अन्नपूर्ण होटल त एउटा प्रतिनिधि होटल मात्र हो । यस अवधिमा मुलुकभरका धेरै पर्यटकीय क्षेत्रका रूपमा सञ्चालित उद्योग बन्न हुन पुगेका छन् । अधिकांश पर्यटन उद्योग बन्द भएसँगै धेरैले आफ्नो पेसा व्यवसायबाट पलायन नै हुनुपरेको अवस्था छ ।

समीक्षा अवधिमा यहाँका विभिन्न पर्यटन क्षेत्रमा कार्यरत कामदार÷कर्मचारी मात्र बेरोजगार भएका होइनन् । यस अवधिमा धेरै नेपाली विदेशबाट बेरोजगार भएर फर्किए भने धेरैले ज्यान पनि गुमाए । कोरोना महामारी नियन्त्रणको प्रयासमा सरकारले २०७६ सालको ११ चैतबाट मुलुक लकडाउन गरेको थियो । सो लकडाउन गत वर्षको असार महिनासम्म कायमै रहेको थियो भने असारपछि बिस्तारै लकडाउन खुकुलो भएको थियो ।

मुलुकमा लकडाउन सुरु भएको गत वर्षको ११ चैतपछि करिब ६ महिनासम्म आम नागरिक घरभित्रै थुनिएका थिए । सो समय धेरैको पेसा व्यवसायमा समेत ताल्चा लागेको थियो । गत वर्षको मुलुक लकडाउनको बेला विशेष गरी पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, ट्राभल ट्रेकिङ क्षेत्र, हवाई र यातायात क्षेत्र सबैभन्दा बढी प्रभावित भएका थिए ।

गत वर्षको सरकारी योजनाअनुसार सन् २०२० लाई भ्रमणको रूपमा मनाउने र २० लाख पर्यटक भिœयाउने महŒवाकांक्षी योजना भएकोले पर्यटन व्यवसायी धेरै हौसिएका थिए । उनीहरूले पर्यटन वर्षका लागि थप लगानी विस्तार पनि गरेका थिए । तर, पर्यटन वर्ष २०२० को औपचारिक उद्घाटन भएको तीन महिना नबित्तै कोरोना भाइरस (कोभिड) महामारीको असर विश्वभर देखिँदै गएको र नेपालमा पनि त्यसको प्रभाव परेपछि पूर्ण रूपमा मुलुक लकडाउन भएको थियो । जसको कारण नेपालको पर्यटन क्षेत्रका लागि २०७७ साल एकदमै दुर्भाग्यपूर्ण साबित भयो । ठूलो आशा र अपेक्षा साथ पर्यटन व्यवसायीले गत वर्ष लगानी विस्तार गरेका थिए ।

ती आशालाई कोभिडले निराशामा बदलेको होटल एसोसिएसन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष एवं एयरपोर्ट होटलका सञ्चालक विनायक शाहको भनाइ छ । उनले कोभिडका कारण पाँचतारे होटल अन्नपूर्ण बन्द हुनु पर्यटनका लागि ठूलो क्षति भएको बताए । कोभिडका कारण सबैभन्दा बढी होटल व्यवसायी र होटल तथा रेस्टुरेन्टमा कार्यरत मजदुर कर्मचारी मारमा परेको जानकारी गराए ।

उनले अन्नपूर्णसँगै अन्य होटल पनि समस्यामा परेको बताउँदै सरकारको सहयोगले अन्य होटल भने बन्द हुने अवस्थाबाट जोगिएको जानकारी दिए । अहिले कोभिडबाट कसरी जोगिने र अरूलाई कसरी जोगाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय उपाय अवलम्बन गरेर केही नयाँ सिकाइसमेत उपलब्धिका रूपमा आएको उनको भनाइ छ ।

अहिले फेरि आएको दोस्रो चरणको कोभिडले भने कतिसम्म असर पुग्छ भन्ने आँकलन गरी नसकेको उनले बताए । तर, स्वास्थ्यसम्बन्धीका मापदण्ड पूर्ण रूपमा कार्यान्वयनमा ल्याएर भए पनि व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको धारणा छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं पनि बितेको २०७७ साल नेपाली पर्यटन क्षेत्रका लागि सबैभन्दा दुःखद वर्षको रूपमा साबित भएको बताए । उनले २०७२ को भूकम्पको बेलाभन्दा गत वर्ष पर्यटनमा बढी असर गरेको बताए । कोभिडकै बीचमा सरकारले गर्नुपर्ने काम नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नाट्टाले आन्तरिक पर्यटन चलायमान बनाउन विभिन्न काम गरेको जानकारी गराउँदै उनले पछिल्लो समय आन्तरिक पर्यटनमा केही राहत पुगेको बताए ।

एकातिर कोभिडले थला पारेको र अर्कोतर्फ सरकारले असहयोग गर्दा पनि निजी क्षेत्रको हर प्रयासमा आफ्ना सदस्यहरूलाई बचाउनका लागि आफूहरूले धेरै प्रयास गरेको बताउँदै गुरागाईंले भने, ‘मुलुकको पर्यटनलाई बचाउन नाटाले धेरै भूमिका खेलेको छ ।’

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव सरिता लामाले ट्रेकिङ क्षेत्र अस्तव्यस्त भएको बताइन् । उनले पछिल्लो समय केही आशा पलाएको र फेरि दोस्रो चरणको कोभिडले भने त्रास बढाएको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा उम्मेद्वार टुङ्ग्याउनै सकस