काठमाडौं । कोरोना संक्रमणका कारण साउदी अरबसहित मध्यपूर्वका देशले भारतसँगको हवाइ सेवा बन्द गरेपछि भारतीय नागरिक ती मुलुक जान नेपालको बाटो प्रयोग गर्न थालेका छन् ।
हाल भारतमा दैनिक १ लाख ५० हजार बढी संख्यामा कोरोना संक्रमित थपिँदै गएका छन् । दैनिक संक्रमित संख्या बढ्दै गर्दा भारतसँगको हवाई सेवा केही मुलुकले प्रतिबन्ध गरेका छन् ।
सोही कारण भारतबाट साउदी अरब, यूएईलगायत मुलुकमा रोजगारीका लागि गएर बिदामा फर्किएका भारतीय नागरिक नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गन्तव्यमा फर्कन थालेका हुन् ।
अहिले नेपालबाटै दैनिक १ सय ५० भन्दा बढी संख्यामा भारतीय नागरिक काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट विदेश गइरहेका छन् ।
अध्यागमन विभागको तथ्यांकअनुसार गत १९ चैत अर्थात् (अप्रिल १) देखि ३० चैत अर्थात् (अप्रिल १२) सम्ममात्रै ३ हजार ५४ भारतीय नागरिकले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर उडान भरेका छन् । तीमध्ये १ हजार ११ भारत नै गए पनि बाँकी तेस्रो मुलुक गएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै सोमबारसम्म १ हजार ६ सय ९४ साउदी अरब उडेका छन् ।
त्यस्तै, ५५ यूएई र बाँकी २ सय ९४ जना अन्य मुलुक गएको अध्यागमन विभागका महानिर्देशक केसीले जानकारी दिए । उनले अन्य समयको तुलनामा अहिले भारतबाट नेपाल आएर तेस्रो मुलुक जानेको संख्याको ग्राफ धेरै माथि उक्लिएको बताए । भारत हुँदै नेपाल आएर तेस्रो मुलुक जाने भारतीय नागरिकका कारण मुलुकमा संक्रमणको जोखिमसमेत उनी बढेको बताउँछन् ।
‘अध्यागमनले हेर्ने भनेको सुरक्षाको पाटो हो, अन्य अवस्था सुरक्षा अवस्था नियन्त्रणमा राख्न सक्षम छौं तर अहिले कोरोना संक्रमण दृष्टि पनि ख्याल गर्नुपर्ने जिम्मेवारी छ,’ अध्यागमन विभागका महानिर्देशक केसीले राजधानीसँग भने, ‘यतिबेला कोरोना संक्रमण जोखिम ठूलोे छ, यस विषयमा सोच्नैपर्छ ।’
अध्यागमन विभागको तथ्यांकअनुसार गत मार्चमा मात्रै भारतबाट ७ हजार ६ सय ५८ भारतीय नागरिक नेपाल आएका छन् । त्यसअघि फेब्रुअरीमा ४ हजार ७ सय ६३ आएको तथ्यांकले देखाएको छ । यी तथ्यांक हेर्दा पछिल्लो महिना नेपाल आउने भारतीय नागरिक संख्या बढेको देखिन्छ ।
केसीले भारतीय नागरिकले विदेश जान नेपालको बाटो रोज्नेक्रम बढेपछि अध्यागमनको दृष्टिबाट अवस्था विश्लेषण गरेर गृह मन्त्रालयलाई आवश्यक जानकारीसमेत गराइसकिएको जानकारी दिए ।
भारतमा संक्रमण उच्च गतिमा बढेकै कारण नेपालबाट ज्यालादारी गर्न गएका मजदुरसमेत धमाधम फर्कन थालेका छन् भने त्यही कारण मुलुकको भारततर्फ जोडिएका सीमा नाकामा दैनिकजसो भारतबाट फर्कंनेको भीड बढ्न थालेको छ । फर्किएकामा परीक्षण गर्दा कोरोना संक्रमणसमेत धमाधम पुष्टि हुन थालेको छ ।
भारतीय नागरिले तेस्रो मुलुक जान नेपाल आउँदा भने पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने र नेपाल आएर केही दिन क्वारेनटाइन बसेर पुनः पीसीआर गरेर तेस्रो मुलुक जाने गरेका छन् ।
भारतीय नागरिकले तेस्रो मुलुक जान नेपालको बाटो रोज्न थालेपछि नेपाली विमानसमेत विभिन्न मुलुकले उडानमा प्रतिबन्ध लगाउने खतरा बढ्दै गएको सम्बन्धित निकाय अधिकारी बताउँछन् ।
भारतबाट हुने उडानमा गरिएको प्रतिबन्धका कारण तेस्रो मुलुक जानका लागि हाल दैनिकजसो लैनचौरस्थित भारतीय दूतावासमा ‘नोअब्जेक्सन लेटर’ लिनेको भीड बढ्न थालेको छ । भीड बढेपछि दुतावासले दैनिक ५० जनालाई मात्र ‘नो अब्जेक्सन लेटर’ दिने भन्दै सूचना जारी गरेको छ ।
भारतबाट आएकाले भने आउँदा पीसीआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आएको र क्वारेन्टाइन बसेर विदेश फर्कने बताउने गरेका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले विदेशबाट हवाई तथा स्थल मार्ग हुँदै आएका स्वदेशी तथा विदेशी नागरिकलाई सरकारले पीसीआर परीक्षण, आइसोलेसन तथा क्वारेनटाइन बसाइमा कडाइ गर्नुपर्ने बताउँछन् ।
‘स्थल वा हवाई वा कुनै पनि मार्गबाट स्वदेश आएका विदेशी तथा नेपाली नागरिकलाई स्वास्थ्य अवस्था चेकजाँचमा कडाइ गरिनुपर्छ, परीक्षण, क्वारेनटाइन र आइसोलेसन व्यवस्थापन दरिलो नबनाए अवस्था जटिल बन्न सक्छ,’ डा. बाँस्तोलाले भने । उनले भारतीय नागरिकमात्रै नभएर नेपाली नागरिकसमेत भारतबाट निर्वाध आइरहेको हुनसक्ने भन्दै स्वास्थ्य अवस्था चेकजाँच र मापदण्ड पालना कडाइ गर्ने दायित्व सरकारको भएको बताए ।