दिल्लीमा एकसाता कर्फ्यु घोषणा, भारतमा कोरोना सङ्क्रमितकाे संख्या एक करोड ५० लाख नाघ्यो

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा गरेका हुन् । सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । सो मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म १ करोड ५० लाख ६१ हजार ९१९ जना कोरोना सङ्क्रमित भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सोमबार जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७६९ पुगेको देखिएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा आइतबार मात्रै १३ लाख ५६ हजार १३३ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । अप्रिल १९ सम्म कूल २६ करोड ७८ लाख भन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषदले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सवभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका १६१ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३