तुलसीपुर । पश्चिम दाङमा एक शिक्षकले २ कक्षामा पढ्ने बालकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
बबई गाउँपालिका ३ स्थित एभरेष्ट एकेडेमी स्कुलका शिक्षक केशर केसीले कक्षा २ मा अध्यनरत ९ बर्षका बालक नवराज डाँगीलाई कुुटपिट गरेको पिडित परिवारले बताएका छन् ।
कालोपाटीमा लेखेको गणित विषयलाई कापीमा सार्न (लेख्न) ढिलो गरेको भन्दै शिक्षकले पछाडी ढाड्मा मुड्कीले हानेको बालकका बुबा कृष्ण डाँगीले बताए ।
गएको सोमबार (बैशाख ६गते) शिक्षकको कुटपिटबाट घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिएको छ । कुटपिटबाट घाइते बालकलाई सास फेर्न गाह्रो हुने र ठाडो गरेर हिड्न अपठेरो हुने गरेको बुबा कृष्णले बताए ।
‘कसैले ढिलो लेख्छ कसैले छिटो लेख्छ । बालकलाई सम्झाईबुझाई गरेर पढाउनु पर्ने हो,’ बालकका बुबा कृष्णले भने ‘बच्चालाई ढाडमा हान्नुभए छ । साँझ छोरो घर रुँदै आएपछि थाहा भयो ।’
शिक्षकले यस अघि पनि अन्य बालबालिकालाई कुटपिट गरेकाले विद्यालयबाट तत्काल हटाउनुपर्ने, बालकको सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने माग पिडित परिवारले राखेको छ ।
यता विद्यालयका प्रिन्सीपल मोतिलाल केसीले बालकको पछाडीको मेरुदण्ड सुन्निएको बताउँदै आगामी शैक्षिक सत्रदेखि हटाउने बताए । अहिले परिक्षा नजिकै आएकाले परिक्षा सकेर आगामी शैक्षिक सत्रदेखि हटाउनेगरी अभिभावकसंग सरसल्लाह भइरहेको प्रिन्सीपल केसीले बताउनुभयो । ढीलोगरी लेखेका कारण एक पटक सरले कुट्नु भएछ ,’ प्रिन्सीपल केसीले भने ‘उपचार पनि गरेका छौ । बच्चको स्वास्थ्यमा सुधार पनि आएको छ ।’ एभरेट एकेडेमी १० कक्षासम्म संचालन हुँदै आएको छ ।