काठमाडौं । जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेपछि सेयर मूल्यसमेत बढ्न थालेको छ । लगानीकर्ताको आकर्षण बढेसँगै १० महिना अघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेका अधिकांश जलविद्युत् कम्पनीका सेयर मूल्य पछिल्लो समय सयदेखि डेढ सय प्रतिशतसम्म बढेका हुन् ।
चालू आर्थिक वर्ष अर्थात् साउन महिनाको पहिलो कारोबारका दिन दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १७ वटा जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर अंकित मूल्यभन्दा निकै माथि रहेका छन् ।
बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् । एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो । चालू आर्थिक वर्षको पहिलो कारोबार अर्थात् गत १३ जुलाईमा ९५८ दशमलव ३५ अंकमा रहेको उपसूचक हाल आएर १ हजार ६ सय ७ अंकले बढेर १९ अप्रिलमा २ हजार ५ सय ६६ दशमलव १७ मा पुगेको छ ।
हाल नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा ३८ वटा जलविद्युत् कम्पनीको सेयर सूचीकृत छन् । यीमध्ये अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ८ सय ७५ मा कारोबार भइरहेको छ । त्यस्तै, सोमबारको नेप्सेको तथ्यांकअनुसार माउन्टेन इनर्जीको ७ सय ८२, चिलिमे हाइड्रोपावरको ६ सय ४४, राधी विद्युत् कम्पनीको ४ सय ८७, रसुवागडी हाइड्रोपावरको ४ सय ७४, सान्जेन जलविद्युत् कम्पनीको ४ सय ५७, बुटवल पावर कम्पनीको ४ सय १९ रुपैयाँमा सेयर कारोबार भएको छ । भने, ३ सयभन्दा माथि कारोबार गर्ने नौ कम्पनी छन् । चालू आर्थिक वर्षको सुरुवातमा १७ वटा कम्पनीको सेयर मूल्य अंकित मूल्य भन्दा निकै कम रहेका थिए ।
पछिल्लो १० महिनाको तथ्यांक हेर्ने हो भने समग्र बजारकै विकास भएको छ । बजार बढिरहँदा प्रति सेयर आम्दानी ३० प्रतिशत बढी रहेका कम्पनीको सेयर मूल्य समेत अंकित मूल्यभन्दा कम रहेको थियो । यसरी अस्वाभाविक रूपमा घटेका कम्पनीको सेयरमा बजार बढ्न थालेपछि लगानीकर्ताको आकर्षण सस्तोमा परपछि जलविद्युत् कम्पनीका सेयर मूल्य पनि बढ्न सुरु गरेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।
कोरोना भाइरसको प्रभावबीच पनि जलविद्युत् क्षेत्रमा अन्य क्षेत्र जस्तो बृहत् प्रभाव परेन त्यसले पनि जलविद्युत् कम्पनीका सेयर बढाउन मद्दत गरेको हो । अर्कोतर्फ सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि सस्तो ब्याजमा लगानी गर्नुका साथै सेयर लगानीकर्ताले समेत सस्तो ब्याजमा लगानी गर्न पाएका छन् । जलविद्युत् आयोजनालाई दिने भनेको सहुलियत सरकारले, रुग्ण जलविद्युत् आयोजनाको विकासका लागि सरकारको सकारात्मक सहयोगले पनि यस क्षेत्रको सेयर बढ्नुमा मद्दत पुगेको अध्यक्ष अर्यालले बताए ।
सरकारले नेपालको पानी जनताको लगानीअन्तर्गत जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिएको छ । केही महिनाअघिसम्म दयनीय बन्दै गएको जनताले लगानी गरेको जलविद्युत् क्षेत्रमा अहिले आएर यस क्षेत्रमा लगानीकर्ता लगानी गर्न इच्छुक देखिएका छन् । जलविद्युत् आयोजनाको नियमन गर्न विद्युत् नियमन आयोग गठन भएको एक वर्षभन्दा बढी भए पनि जलविद्युत् आयोजनामा लगानी गर्ने लगानीकर्ताले महसुस गर्न पाएका थिएनन् । लगानीकर्ताहरू अब भने नियमन आएको महसुससमेत गर्न थालेका छन् ।